टेलिग्रामका संस्थापक दुरोभविरुद्ध रूसमा आतंकवादलाई प्रवर्द्धन गरेको मुद्धा

काठमाडौँ । रूसको प्रमुख आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय संघीय सुरक्षा सेवाले सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक पावेल दुरोभविरुद्ध आतंकवादलाई प्रवर्द्धन गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । साथै, उनलाई अन्तर्राष्ट्रिय खोजी सूचीमा पनि समावेश गरिएको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

संघीय सुरक्षा सेवाका अनुसार टेलिग्राम प्रशासनले युक्रेनका गुप्तचर निकाय तथा अतिवादी समूहहरूले रूसभित्र विध्वंसात्मक गतिविधि, साइबर ठगी र आतंकवादी कार्यका लागि प्रयोग गरिरहेका च्यानल, समूहगत संवाद र स्वचालित सेवाहरू हटाउन आवश्यक कदम नचालेको आरोप लगाइएको छ । पटक-पटक चेतावनी दिइए पनि त्यस्ता सामग्री हटाउन बेवास्ता गरिएको आरोप लगाइएको छ ।

दुरोभविरुद्ध नयाँ मुद्दा दर्ता भएसँगै रूसमा टेलिग्राममाथि पूर्ण प्रतिबन्ध लगाइने सम्भावना बढेको बताइएको छ । हाल पनि सुरक्षा कारण देखाउँदै रूसी सरकारले टेलिग्राममाथि विभिन्न प्रतिबन्ध लागू गरेको छ भने यो रुसको सबैभन्दा लोकप्रिय सन्देश आदानप्रदान माध्यममध्ये एक रहँदै आएको छ । सर्वसाधारणदेखि सरकारी निकाय र सैनिक अधिकारीहरूले समेत यसको प्रयोग गर्दै आएका छन्।

रूसमै जन्मिएका दुरोभले सन् २०२१ मा फ्रान्सको नागरिकता प्राप्त गरेका थिए । उनले सन् २०१४ मा रूसी सरकारसँग तथ्याङ्क गोपनीयता र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विवादपछि रूस छोडेका थिए । हाल उनी दुबईबाट आफ्नो कम्पनी र टेलिग्रामको सञ्चालन गरिरहेका छन् । टेलिग्राम स्थापना गर्नुअघि उनले रूसको सबैभन्दा ठूलो सामाजिक सञ्जाल ‘भिके’को स्थापना गरेका थिए । सन् १९८४ मा जन्मिएका दुरोभलाई धेरैले ‘रूसका मार्क जुकरबर्ग’का रूपमा पनि चिन्ने गरेका छन् ।

संघीय सुरक्षा सेवा रूसको प्रमुख आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय हो । यसलाई तत्कालीन सोभियत संघको गुप्तचर संस्था ‘केजिबी’को उत्तराधिकारी मानिन्छ । यसको मुख्य जिम्मेवारी देशभित्र आतंकवादी गतिविधि नियन्त्रण, सीमाको सुरक्षा तथा साइबर सुरक्षाको निगरानी गर्नु हो ।