सिरहाको अवस्था तनावग्रस्त, एबी मलमा आगजनी

सिरहा । सिरहाको अवस्था तनावग्रस्त बनेको छ ।

गोलबजार क्षेत्रमा जारी तनावका बीच प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।  बिहीबार प्रदर्शन उग्र बनेपछि गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा लुटपाट र आगजनी भएको छ ।

प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइतेको उपचारको लागि काठमाडौँ ल्याइएको छ ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा र  लहान नगरपालिकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न र शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।