देवानगञ्ज घटनामा ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ्ने

देवानगञ्ज घटनामा ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ्ने , प्रति परिवार १० लाख राहत, निष्पक्ष छानबिन, रोजगारी र स्मृति पार्क निर्माण गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताजयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा सम्पन्न सम्झौतामा पीडित परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गर्नुभएको हो।

सम्झौताअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई रु १० लाखका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति पनि भएको छ।

सम्झौतामा प्रत्येक मृतक परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनमा आएका सुझाव कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय पनि समावेश गरिएको छ।

सम्झौतापछि पीडित परिवारले सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्। सरकारले पनि सम्झौतामा उल्लेख गरिएका सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाएको छ।

देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई सम्बोधन गर्दै भएको यो सहमतिले पीडित परिवारलाई न्याय दिलाउने प्रक्रिया अगाडि बढ्ने र स्थानीय क्षेत्रमा शान्ति तथा विश्वासको वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।