
काठमाडौं, १५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताका बारेमा आफु प्रस्ट रहेको बताएका छन् । आफु संघीयता बिरोधी भएको भन्ने कुरा कल्पनासमेत नगर्नका लागि आग्रह गरेका प्रधानमन्त्री शाहले संघीयतामाथी सरकारवाट कुनै खतरा नभएको पनि बताएका छन् ।


‘प्रधानमन्त्रीले आज आफु संघीयता बिरोधी नभएको प्रस्ट पार्दै आफ्नो सरकारका कारण संघीयता खारेज नहुने पनि बताउनु भयो,’ प्रधानमन्त्री शाहसँग भेटघाट गर्न पुगेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।
उनका अनुसार सुनसरी, देवानगञ्जलगायतका स्थानमा भएका अप्रिय घटनाको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्दता पनि प्रधानमन्त्री शाहले गरेको अध्यक्ष महतोले जानकारी दिए।


शुक्रवार प्रधानमन्त्री बालेन्द्र शाह र तराइ मधेस केन्द्रित दलका शिर्ष नेता बिच छलफल भएकाे थियाे ।


सुनसरीको देवानगञ्ज र सिरहालगायत देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न मधेस केन्द्रित दलका नेताहरूसँग सिंहदरबारमा छलफल गरेका हुन ।


बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, एमालेका लालबाबु राउत, रामकुमार शर्मा र समिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह तथा जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी र जयकान्त राउत सहभागी रहेका थिए ।





