बलुचिस्तान कोइला खानीमा बिष्फोट हुदाँ मर्नेको संख्या ३४ पुग्यो

इस्लामाबाद, १५ साउन । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित एउटा कोइला खानीमा मिथेन ग्यासको विस्फोट हुँदा  मृत्यु हुने मजदुरकाे संख्या ३४ पुगेकाे छ।

यो घटना बिहीबार दिउँसाे क्वेटाको बाहिरी इलाकामा रहेको खानीमा भएको हो। रातभर चलेको उद्धार कार्यपछि सबै शवहरू अहिले बाहिर निकालि सकिएको छ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार प्रारम्भिक विवरणहरूमा खानीभित्र ४२ जना रहेको जनाइएको थियो। उद्धार टोलीहरूले मृतक सबैको शव बाहिर निकालेका छन्।

बलुचिस्तानका खानी तथा खनिज मन्त्री शोएब नोशेरवानीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही ५ लाख पाकिस्तानी रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन ।

बलुचिस्तानमा कोइला खानीसम्बन्धी दुर्घटनाहरू सामान्यजस्तै हुन थालेका छन्। धेरैजसो खानीमा हावा आवतजावतको पर्याप्त व्यवस्था, मिथेन ग्याँस अनुगमन प्रणाली र अन्य आधारभूत सुरक्षा उपायहरूको अभाव छ।