‘विश्वको छत’ मा वन्यजन्तुको सुरक्षाः तिब्बती मृगको संरक्षणमा रेन्जरहरूको सक्रियता

समुन्द्र सतहबाट औसत ४ हजार ५ सय मिटरभन्दा बढीको उचाईमा अवस्थित विश्वको छत मानिने चाङताङ राष्ट्रिय प्रकृति आरक्षमा तिब्बती मृग लगायतका दुर्लभ वन्यजन्तुको संरक्षणका लागि रेन्जरहरू अहोरात्र खटिएका छन् । हरेक वर्ष ग्रीष्म ऋतुमा पोथी तिब्बती मृगहरू प्रजननपश्चात आफ्ना बच्चाहरू सहित चाङताङस्थित आफ्नो बासस्थानतर्फ बसाइँ सर्ने गर्छन् । यस संवेदनशील समयमा वन्यजन्तुलाई कुनै अवरोध नपुगोस् भन्ने उद्देश्यले रेन्जरहरूले मुख्य करिडोर र नदी क्षेत्रहरूमा सूक्ष्म निगरानी गर्ने गरेका छन् ।

यस क्रममा घाइते भएका, थकित भएका वा बथानबाट पछि परेका साना मृगहरूलाई रेन्जरहरूले उद्धार गरी सुरक्षित स्थानमा पु¥याउने गर्दछन्। तथ्याङ्क अनुसार चुओलुओमु वन्यजन्तु संरक्षण केन्द्रका रेन्जरहरूले प्रत्येक बसाइँसराइको मौसममा संकटमा परेका ३०० देखि ४०० वटा तिब्बती मृगको उद्धार गर्दै आएका छन् ।

तीमध्ये करिब ३० देखि ४० वटा बच्चा मृगलाई अस्थायी मानवीय हेरचाह र विशेष संरक्षणको आवश्यकता पर्ने गरेको छ । न्यिमा काउन्टी अन्तर्गतका ११ वटा संरक्षण केन्द्रमा हाल १३५ जना रेन्जरहरू गस्ती र संरक्षण कार्यमा परिचालित छन् । दुर्गम भौगोलिक अवस्थाका कारण संरक्षणको कार्य निकै चुनौतीपूर्ण रहेको रेन्जरहरूको अनुभव छ । न्यिमा काउन्टी वन तथा घाँसे मैदान ब्युरोका ग्रासल्याण्ड स्टेसन प्रमुख केल्साङ तावाका अनुसार, गस्तीका क्रममा सवारी साधनहरू दुर्गम क्षेत्रमा फस्ने र सीमित स्रोतसाधनका बाबजुद निकै कष्टकर ढंगले कार्य सम्पादन गर्नुपर्ने अवस्था छ ।

यद्यपि, विगत केही दशकदेखि जारी निरन्तरको संरक्षण प्रयासले सकारात्मक नतिजा देखाउन थालेको छ । न्यिमा काउन्टीको नोर्बु युगेल वन्यजन्तु संरक्षण केन्द्रका प्रमुख केल्साङ लुन्डुपका अनुसार, कुनै समय ५० हजारदेखि ६० हजारको हाराहारीमा रहेका तिब्बती मृगको सङ्ख्या हाल वृद्धि भई करिब १ लाख ५० हजार पुगेको छ ।

वन्यजन्तु संरक्षणलाई थप प्रभावकारी बनाउन हालका दिनमा इन्फ्रारेड क्यामेरा जस्ता आधुनिक प्रविधिको समेत प्रयोग गर्न थालिएको छ । रेन्जरहरूले भविष्यमा पनि चाङताङको घाँसे मैदानमा वन्यजन्तुका बथानहरू स्वतन्त्र रूपमा विचरण गरिरहेको र यहाँको जैविक विविधता भावी पुस्ताका लागि सुरक्षित रहने विश्वास व्यक्त गरेका छन् ।