
लेबनानका राष्ट्रपति जोसेफ औनले बिहीबार टर्कीको राजधानी अंकारामा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।
१७ वर्षको अन्तरालपछि लेबनानी राष्ट्र प्रमुखबाट भएको यो पहिलो औपचारिक टर्की भ्रमण हो । भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति औनले दक्षिणी लेबनानबाट इजरायली सेनाको पूर्ण फिर्ती सुनिश्चित गर्न र क्षेत्रीय स्थिरता पुनःस्थापनाका लागि टर्कीसँग सहयोगको आग्रह गर्नुभयो ।


‘टर्की टुडे’काअनुसार राष्ट्रपति औनले लेबनानमा क्रियाशील संयुक्त राष्ट्रसंघीय अन्तरिम बललाई नयाँ अन्तर्राष्ट्रिय बलद्वारा प्रतिस्थापन गर्ने विषयमा हाल परामर्श भइरहेको जानकारी दिनुभयो । लेबनानको मुख्य प्राथमिकता सुरक्षा शून्यता सिर्जना हुन नदिनु रहेको उल्लेख गर्दै राष्ट्रपति औनले नयाँ अन्तर्राष्ट्रिय सुरक्षा बलले लेबनानी सशस्त्र बललाई सुदृढ बनाउन सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राष्ट्रपति एर्डोगानले लेबनानको सार्वभौमसत्ताको रक्षाका लागि टर्कीले सक्रिय भूमिका निर्वाह गर्न चाहेको बताउनु भयो ।
उहाँले युद्धग्रस्त दक्षिणी लेबनानको पुनर्निर्माणका लागि टर्की हरदम तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभएको समाचारमा उल्लेख छ । यो महत्वपूर्ण भेटवार्ता लेबनान र इजरायलबीच सीमा क्षेत्रमा जारी सैन्य तनाव अन्त्य गर्ने उद्देश्यले हालै भएको एक ढाँचागत सम्झौतापछि भएको हो । उक्त सम्झौताअनुसार इजरायली सेना दक्षिणी लेबनानका दुई पाइलट जोनबाट क्रमिक रूपमा फिर्ता हुने र ती क्षेत्रमा लेबनानी सेना परिचालन गरिने सहमति भएको छ ।





