
कञ्चनपुर, साउन १६ । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको भवनबाट हामफालेपछि उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका–४ बगुन निवासी २३ वर्षीय उत्तमसिंह कार्की शनिबार विश्वविद्यालयमा आयोजित स्नातक तह होटल व्यवस्थापन (बीएचएम) प्रथम सेमिस्टर को प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनको दोस्रो तलाबाट हामफाल्नुभएको थियो।


शनिबार बिहान ८:१५ बजेदेखि सुरु भएको प्रवेश परीक्षामा सहभागी भई करिब ९:१५ बजे परीक्षा कक्षबाट बाहिर निस्कनुभएका कार्कीले भवनको दोस्रो तलाको रेलिङमा चढेर हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि तत्काल एम्बुलेन्समार्फत गम्भीर अवस्थाका कार्कीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको थियो।
तर अस्पताल पुगेपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावत ले जानकारी दिनुभएको छ।

मृतक कार्की स्थानीय व्यवसायी पदमसिंह कार्की का कान्छा छोरा हुनुहुन्छ। उहाँले वैजनाथ माध्यमिक विद्यालय बाट माध्यमिक तह (प्लस टु) उत्तीर्ण गर्नुभएको थियो।
प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।





