
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी गर्नुभएको छ ।
आईतवार आयोजित तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । मुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने प्रमुख चुनौती मुलुकसामु रहेको सहसंयोजक नेपालको भनाइ छ ।
उहाँले नेपाल कुनैपनि देशको अधीनमा रहन वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहेको भन्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले पछिल्लो समयम मुलुकमा आपसी असमझदारी बढ्ने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताउनु भयो । उहाँले शहीदको त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीको रक्षा गर्नु अहिलेको अर्को महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताउनु भयो । उहाँले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तुल्सीलाल अमात्यले खेलेको भुमिका स्मरण गर्दै वर्तमान पुस्ताले पनि त्यही प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो।


उहाँले भन्नुभयो, ‘देशको अस्तित्वको रक्षा कसरी गर्ने, देशको स्वाभिमान कसरी बचाउने ? देशलाई विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने भन्ने चुनौती हाम्रो सामु छ । हाम्रो देश कुनै देशको पछि लाग्न चाहँदैन । कसैको अधिनमा रहन चाहँदैन । कसैका विरोधमा पनि जान चाहँदैन । सबैसँग मैत्रीभाव राखेर मिलेर अगाडि बढ्न चाहन्छ । त्यसैले हामी सबै मित्र राष्ट्रहरुसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौँ । हाम्रा कोही बैरीहरु छैनन् र हामी बनाउन पनि चाहँदैनौँ । तर हामीलाई पनि कसैले बैरी बनाउने गरी, आपसि असमझदारी बढाउने गरी तान्ने कामहरु भइरहेका छन् । त्यसकारण पनि यो राष्ट्रियताको विषय हाम्रो लागि अत्यन्तै महत्वपूर्ण विषय बनेको छ । यत्रो त्याग र बलिदानबाट हामीले प्राप्त गरेको यो संविधान, लोकतन्त्र, गणतन्त्र संघीयतालाई जोगाउनुपर्ने अर्को ठुलो जिम्मेवारी हाम्रो काँधमा छ । त्यसकारण कमरेड तुल्सीलालले देशमा लोकतन्त्रको लागि जसरी झण्डा बुलन्द गर्नुभयो, निर्दलीय व्यवस्था अन्त्य गर्न जसरी अगुवाई गर्नुभयो वहाँजस्तो योद्धा आज हाम्रो बीचमा हुनुहुन्न । तर हामीले सँगसँगै जनताका पीरमर्काहरु, गरिबी, वेराजगारी, मिटरब्याजपीडित, सहकारी पीडित र सुकुम्बासी नागरिकका समस्या राज्यले हल गर्नुपर्नेमा आज मानिसले आत्महतया गरेको खबर सुन्दा मन चस्स पोलेर आउँछ । यी सबै विषयमा पनि मुलुकका वामपन्थी शक्तिहरु गम्भीर हुन जरुरी छ । सबै देशभक्तजरु गम्भीर हुन जरुरी छ ।’

उहाँले जनताका दैनिक समस्याप्रति राज्य संवेदनशील हुन नसकेको आरोप पनि लगाउनु भयो । उहाँले गरिबी, बेरोजगारी, मिटरब्याज, सहकारी ठगी र सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर नहुँदा नागरिकले आत्महत्या गर्न बाध्य भएको अवस्था दुःखद् रहेको भन्दै यी सबै कुराहरुमा वामपन्थी र लोकतन्त्रवादी शक्तिहरु गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।




