इण्डोनेसियाको जाभा सागरमा जहाजमा आगलागीः ५ को मृत्यु, ४१ बेपत्ता

इण्डोनेसियाको पूर्वी जाभा प्रान्तस्थित मदुरा टापुको उत्तरी जाभा सागरमा एउटा जहाजमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन् । राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार मुतियरा सन्तोसा–२ नामक उक्त जहाजमा कुल २ सय ७१ जना सवार थिए ।

जसमा २ सय ३२ जना यात्री र ३९ जना चालक दलका सदस्य रहेका थिए । सुराबायाबाट माकासारतर्फ जाँदै गरेको उक्त जहाज तटभन्दा करिव १९ नटिकल माइल (३५.२ किलोमिटर) टाढा रहेको अवस्थामा भीषण आगलागी भएको थियो । जहाजमा आगो फैलिएपछि यात्रीहरू उद्धारको पर्खाइमा जहाजको ब्रिज र अगाडिको भागमा जम्मा भएका थिए ।

दुर्घटनालगत्तै खटिएको संयुक्त खोज तथा उद्धार टोलीले हालसम्म २ सय २५ जनाको सकुशल उद्धार गरेको छ ।

उद्धार कार्यमा नजिकै रहेका अन्य जहाजहरू र थप सरकारी टोली परिचालन गरिएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य अहिले पनि जारी रहेको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।