इण्डोनेसियामा जलवायु शिखर सम्मेलनः जलवायु प्रतिवद्धतालाई कार्यान्वयनमा लैजान जोड

इण्डोनेसियाको राजधानी जकार्तामा शनिवार आयोजित ‘इण्डोनेसिया नेट–जिरो समिट २०२६’ मा सहभागीहरूले जलवायु परिवर्तनका क्षेत्रमा गरिएका प्रतिवद्धताहरूलाई ठोस कार्यमा रूपान्तरण गर्न आह्वान गरेका छन् । सम्मेलनमा नीति निर्माता, कुटनीतिज्ञ, प्राज्ञिक व्यक्तित्व, व्यावसायिक नेतृत्व, युवा प्रतिनिधि र नागरिक समाजका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सहभागीहरूले जलवायु संकटको सामना गर्न द्रुत कार्ययोजना र घनीभूत हरित सहयोगको आवश्यकतामा जोड दिएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै इण्डोनेसियाका वातावरण मन्त्री मोहम्मद जुम्हुर हिदायतले आगलागीको जोखिम न्युनिकरणका लागि सरकारले स्थानीय अधिकारीहरूलाई फोहर विसर्जन स्थल (डम्पिङ साइट) हरू ओसिलो राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।

मन्त्री हिदायतले भन्नुभयो, ‘हामीले भू–उपग्रहमार्फत निरन्तर अनुगमन गरिरहेका छौँ र प्रभावित क्षेत्रमा सहयोग पु¥याउन कर्मचारीहरू परिचालन गरेका छौँ । कतै पनि ‘हटस्पट’ देखिएमा हामी तत्काल साना आगलागीहरू नियन्त्रण गर्छौँ । अल निनोको प्रभाव व्यवस्थापन गर्न हामी दैनिक रूपमा सचेत भएर काम गरिरहेका छौँ ।’

सन् २०२१ मा ‘फरेन पोलिसी कम्युनिटी अफ इण्डोनेसिया’ द्वारा प्रारम्भ गरिएको यो सम्मेलन हाल इण्डोनेसियाको एक प्रमुख स्वतन्त्र जलवायु मञ्चको रूपमा स्थापित भएको छ । यस मञ्चले जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न र दिगो भविष्यका लागि मार्गप्रशस्त गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।