भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गत जुनमा आएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६ हजार १२५ पुगेको छ।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले अद्यावधिक विवरण सार्वजनिक गर्दै हालसम्म ६१ हजार घाइतेले अस्पतालमा उपचार पाएको जानकारी दिएका हुन् ।

यसैबीच कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज नेतृत्वको सरकार भूकम्पपछिको उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको भन्दै चर्को आलोचनाको सामना गरिरहेको छ । भूकम्पपछि हराएका आफन्त र साथीभाइको खोजीमा जुटेका स्थानीय बासिन्दाले सरकार तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन् ।

गत जुन २४ मा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएको थियो। तटीय राज्य ला ग्वाइरा र राजधानी काराकास सबैभन्दा बढी प्रभावित भएका थिए । जोर्ज रोड्रिगेजका अनुसार भूकम्पबाट थुप्रिएको भग्नावशेषमध्ये हालसम्म करिब १६.५ प्रतिशत मात्र हटाइएको छ। पुनर्निर्माण र सामान्य अवस्थामा फर्कने प्रक्रिया अझै चुनौतीपूर्ण रहेको बताइएको छ।

विश्व बैंकले सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार भूकम्पबाट भएको भौतिक क्षति करिब २० अर्ब अमेरिकी डलर बराबर पुगेको छ। भूकम्पपछि विभिन्न देशले सहयोगको प्रतिबद्धता जनाए पनि आवश्यक रकम कहाँबाट जुट्ने भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

यसैबीच पूर्वराष्ट्रपति निकोलास मादुरोलाई जनवरीमा सैनिक कारबाहीमार्फत नियन्त्रणमा लिएपछि संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि व्यापक प्रभाव कायम राखेको छ । मादुरोको कार्यकालमा लगाइएका केही आर्थिक प्रतिबन्ध अझै कायम रहेकाले पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोग सहज बनाउन ती प्रतिबन्ध खुकुलो बनाउन वा हटाउनुपर्ने मागसमेत उठिरहेको छ ।