
काठमाडौं, १९ साउन । सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा आगामी भदौको २० गते काठमाडौंमा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ (सातौँ संस्करण) आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार कार्यक्रममा नेपालसहित विभिन्न एशियाली मुलुकका व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, संस्कृति, सामाजिक सेवा तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सफल व्यवसायी, पेशाकर्मी तथा व्यक्तित्वलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ।


सिजन मिडियाले सम्मानित व्यक्तित्वहरूको उपलब्धि, नेतृत्व क्षमता, व्यावसायिक उत्कृष्टता तथा समाजप्रतिको योगदानको मूल्याङ्कन गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। यसअघि पनि संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

सिजन मिडियाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार एक दशकभन्दा बढी समय आफ्नो क्षेत्रमा निरन्तर सक्रिय रही उल्लेखनीय सफलता हासिल गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले अवार्ड कार्यक्रम सञ्चालन हुँदै आएको हो।
“यस्ता सम्मानले अग्रजहरूको योगदानको कदर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो पेशा, व्यवसाय र सामाजिक उत्तरदायित्वप्रति थप समर्पित हुन प्रेरणा मिल्ने विश्वास गरेका छौँ,” तुलाधरले भनिन्।

उनका अनुसार ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड’ विगत सात वर्षदेखि नेपालमा आयोजना हुँदै आएको छ। कार्यक्रममा नेपालसहित विभिन्न एशियाली मुलुकका सफल व्यवसायी तथा पेशाकर्मीहरूको सहभागिता रहने गरेको छ।
सिजन मिडियाले यस वर्ष नेपालबाहेक अस्ट्रेलिया र क्यानडामा समेत एशियाली मुलुकका सफल व्यवसायी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाली व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमको तयारी गरिरहेको जनाएको छ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको योगदानलाई उजागर गर्नुका साथै व्यवसायिक नेतृत्व, सामाजिक उत्तरदायित्व र उत्कृष्ट कार्यसंस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
सिजन मिडिया नेपालको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ।




