
इजिप्टको सर्म अल–शेखको उत्तर–पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमवार बिहान ५.५ म्याग्निच्युडको भूकम्प गएको छ । इजिप्टको राष्ट्रिय खगोल तथा भूभौतिक अनुसन्धान संस्थानका अनुसार स्थानीय समयअनुसार सोमवार बिहान ३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो ।
संस्थानकाअनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिव १० किलोमिटर गहिराइमा ३०.१९ डिग्री उत्तरी अक्षांश र ३२.६१ डिग्री पूर्वी देशान्तरमा अवस्थित थियो ।

भूकम्पको धक्का राजधानी कायरोसहित देशका विभिन्न भागमा महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।


भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको संस्थानले स्पष्ट पारेको छ । इजिप्टियन रेड क्रिसेन्टले पनि धक्का महशुस गरिएका शहरहरूमा आपतकालीन योजना सक्रिय पारिएको जानकारी दिँदै अहिलेसम्म कुनैपनि प्रकारको क्षतिको खबर नआएको पुष्टि गरेको छ ।
भूकम्प लगत्तै इजिप्टका स्वास्थ्य तथा जनसंख्या मन्त्री खालिद अब्देल–गफारले मुलुकको स्वास्थ्य आपतकालीन योजना तत्काल कार्यान्वयन गर्न र मन्त्रालयको केन्द्रिय संकट तथा आपतकालीन कार्यकक्ष (अपरेसन रुम) सक्रिय बनाउन निर्देशन दिनुभएको छ ।
मन्त्रालयले देशभरका अस्पतालका आकस्मिक तथा सघन उपचार विभागहरूलाई उच्च शतर्कतामा राख्न र एम्बुलेन्स एवं द्रुत प्रतिक्रिया टोलीहरूलाई तयारी अवस्थामा रहन सूचित गरेको छ ।





