बजारमा हल्ला भएजस्तो ग्यास अभाव छैन, वितरणमा केही समस्या छः निगमका निमित्त कार्यकारी निर्देशक बराल

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक ई. दीपक बरालले बजारमा हल्ला भएअनुसार एलपी ग्यास अभाव नभएको दाबी गर्नुभएको छ ।  प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले ग्यास वितरण प्रणालीमा देखिएको समस्याका कारण ग्यास अभाव सिर्जना भएको देखिएको दाबी गर्नुभएको हो । उहाँले नेपालमा ग्यासको माग प्रतिमहिना करिव ४७ हजार मेट्रिक टन भएको उल्लेख गर्दै हाल भारतबाट ५५ हजार मेट्रिक टन ग्यास आयात गर्ने गरिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार सामान्य खपतको तुलनामा करिव ५ प्रतिशत बढी ग्यास नेपाल भित्रिएको छ । उहाँले विगतमा आधा ग्यास सिलिण्डर वितरण गरिएको र हाल पूर्ण ग्यास वितरण गर्दा समस्या उत्पन्न भएको बताउनु भयो । ७.१ केजीका सिलिण्डरको आपूर्ति हुँदा उपभोक्ताले खाली सिलिण्डर घरमै थन्क्याउने गरेको र १४.२ केजीका सिलिण्डर आएपछि आवश्यकताभन्दा बढी भर्ने गरेका कारण बजारमा कृत्रिम चाप सिर्जना गरेको उहाँको दाबी छ ।

उहाँले निगमले ग्यास डिपोहरुलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न पनि निर्देशन दिएको जानकारी दिनुभयो । ग्यास नपाएको गुनासो बढेपछि निगमले टेकुस्थित कार्यालयबाट विभिन्न ग्यास कम्पनीका सिलिण्डर खुद्रा विक्री शुरु गरेको उहाँको भनाई छ । पछिल्ला तीन दिनमा त्यहाँबाट करिव २ हजार १०० सिलिण्डर मात्रै विक्री गरिएको उहाँले जानकारी दिनुभयो । यसले पनि बाहिर बजारमा हल्ला गरिएजस्तो ग्यास अभाव नभएको कुरालाई पुष्टी गर्ने उहाँको भनाई छ । यदपी निगमले ग्यास वितरण प्रक्रियालाई सहज बनाउन बजार अनुगमन लगायतका कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले उपभोक्तालाई पनि आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चिति नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ग्यास आयातमा समस्या छैन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा अलिकति समस्या हो कि भन्ने हामीले महसुस गरेका छौँ । हामीले भन्सार र इण्डियन आयललाई हामीले पठाएको डाटाहरु पनि हेर्ने हो भने इम्पोर्टमा समस्या छैन, आवश्यक भन्दा ५ प्रतिशत बरु बढिनै आएको छ तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्टको कारण केही समस्या देखियो । ७.१ केजीको सिलिण्डर विक्री गर्दा मानिहरुले डेली युजको लागि पनि त्यत्ति रुची नदेखाएर खाली सिलिण्डर होल्ड भइराखेको देखियो । अब १४.२ आएपछि फेरि सहजै ग्यास पाइन्छ भने घरमा खाली छन्, त्यो पनि भरिदिउँ न भन्ने भएको कारण अलिकति चाप बढेको देखिन्छ । हामीले बजार अनुगमनमा जादाँ व्यवसायीहरुले पनि आफ्नो डिलर मार्फत पनि विक्री वितरण गरिराख्नु भएको छ ।

ग्यास नै पाइएन, डिलर कहाँ गयो २ घण्टा मै ग्यास सकियो भन्छ, एउटा सिलिण्डर हुनेलाई त सारै कठिन भयो भन्ने गुनासो आएपछि हामीले डिपोहरुले पनि खुद्रा सेल्स पनि गरिराख्नु भएको छ । टेकुमा हाम्रो अफिस छ, त्यहाँबाट पनि ५–६ वटा ग्यास कम्पनीका ग्यास हामीले वितरण गरिरहेका छौँ, पछिल्लो ३ दिनमा हामीले मोटा–मोटी २१०० सिलिण्डर मात्रै विक्री भएको छ तर बजारमा जुन किसिमको सारै समस्या नै भयो भन्ने हल्ला छ, त्यसमा २१०० सिलिण्डर मात्रै बिक्री हुनु भनेको धेरै संख्या होइन । तर अब लाइन लागेर बसिदिने मिडिया कभरेजका लागी यसले चाँही साँच्चै नै ठूलै समस्या भो कि भन्ने पनि लाग्न सक्छ ।

यद्यपि त्यत्तिलाई पनि हामीले ठूलै समस्या मान्नैपर्छ किनकी हाम्रो दायित्व कन्जुमरलाई लाइनमा नबसिकन ग्यास आपूर्ति गरिदिने हो । यसमा हामी अलिकति इन्टरनल सप्लाई डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चुकेका हौं कि जस्तो पनि लाग्छ । व्यवसायी साथीहरुलाई पनि हामीले पहिलो प्राथमिकता हाउस होल्डलाई दिनुस् र व्यवसायीलाई सेकेन्ड प्राथमिकता राख्नुस् भनेका छौँ । आपूर्ति श्रृङ्खलामा हाम्रो समस्या छैन, डिस्ट्रिब्युसनमा अलिकति समस्या हो, त्यो हामीले स्वीकार गर्नुपर्छ । हामी क्रमशः त्यसलाई सुधार गर्ने पक्षमा छौं । हुन सक्छ अझै ८–१० दिन १५ दिन यो स्थिति रहला तर जति आवश्यक छ त्यत्ति मात्रै लिइदिउँ होल्डिङ नगरौं । यही टेकुमा पनि साइकलमा लिएर आउने ३–४ चोटी त्यही मान्छे आएको देखियो ।’

उहाँकाअनुसार हाल भारतबाट दैनिक ग्यास बुलेटको लोडिङ बढाइएको छ । तर हल्दिया र दुर्गापुर डिपोमा मर्मत कार्य चलिरहेका कारण टाढाका डिपोबाट ग्यास ल्याउनुपर्दा ढुवानी व्यवस्थापनमा चुनौती थपिएको उहाँले जानकारी दिनुभयो । निगमले भारतसँग दैनिक बुलेट लोडिङ बढाउन समन्वय गरिरहेको उहाँले बताउनु भयो । उहाँले अझै १५ दिनसम्म ग्यास वितरणमा केही समस्या देखिन सक्ने बताउनु भयो ।