आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मागअनुसार नियमित रूपमा ग्यास आपूर्ति भइरहेको स्पष्ट पारेको छ । निगमले २०८३ असार ३१ गतेको निर्णयअनुसार १४.२ किलोग्राम क्षमताको ग्यास सिलिन्डर बिक्री वितरणको व्यवस्था मिलाइसकेको जनाएको छ । निगमले ग्यास उद्योगीहरूलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गर्दै विक्रेताहरूलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखी व्यवस्थित रूपमा बिक्री–वितरण गर्न निर्देशन दिएको छ। साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीलाई प्राथमिकता दिन पनि आग्रह गरिएको छ । काठमाडौँ उपत्यकामा केही ग्यास उद्योगको उच्च मागलाई ध्यानमा राख्दै साउन १६ गते शनिबारदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ । ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरिएको छ । निगमका अनुसार खाना पकाउने ग्यासको आयात र बिक्री–वितरण नियमित रूपमा भइरहेको छ र आगामी दिनमा पनि निरन्तर रहनेछ। त्यसैले आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरिएको छ । निगमले हाल मासिक औसत ४७ हजार मेट्रिक टन ग्यास खपत हुने जनाएको छ। वर्तमानमा मागअनुसार नै आपूर्ति भइरहेको र आकस्मिक रूपमा बढेको मागलाई ध्यानमा राख्दै यस महिनाको आयात परिमाणसमेत बढाइसकिएको जानकारी दिएको छ । साउन १ गतेदेखि १८ गतेसम्म कुल ३१ हजार ८१६ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ । आयातको अवस्थाले आपूर्तिमा कुनै समस्या नरहेको देखिएकाले हल्लाको पछि नलागी आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न निगमले पुनः आग्रह गरेको छ ।  यस्तै, काठमाडौँ उपत्यकामा उपभोक्ताको सहजताका लागि ग्यास उद्योगहरूले आफ्नै उद्योग परिसरबाट समेत बिक्री–वितरणको व्यवस्था मिलाएको निगमले जनाएको छ। उपत्यकाबाहिर ग्याससम्बन्धी कुनै गुनासो भएमा निगमका प्रदेश कार्यालय, शाखा कार्यालय तथा डिपोमा सम्पर्क गर्न अनुरोध गरिएको छ । निगमले ग्यास पर्याप्त रहेको दाबि गरेपनि काठमाडौँका अधिकांश ग्यास डिपोमा ग्यासको अभाव रहेको निगमले दिने भनिएको टेकुमा पनि ठुलो लाइन रहेको छ ।

२- परराष्ट्र मन्त्रालयले चालु आर्थिक वर्षको वार्षिक मन्त्रीस्तरीय विकास कार्यसमिति बैठक सम्पन्न गरेको छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए । बैठकमा गत आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेको प्रगति, कार्यसम्पादन तथा विकास कार्यक्रमहरूको समीक्षा गरिएको मन्त्रालयले जनाएको छ । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टासहित विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मन्त्रालयको कार्यसम्पादनबारे रचनात्मक सुझाव तथा टिप्पणी प्रस्तुत गरेका थिए । मन्त्रालयका अनुसार बैठकमा प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेट्दै सेवा प्रवाह र कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

३- राष्ट्रिय बाल अधिकार परिषद्ले काठमाडौं महानगरपालिका–२६ स्थित मानव सेवा आश्रमलाई बालगृहमा संरक्षणमा रहेका बालबालिकाको पहिचान खुल्ने गरी तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन नगर्न तथा यसअघि सार्वजनिक गरिएका त्यस्ता सबै सामग्री तत्काल हटाउन निर्देशन दिएको छ। परिषद्ले आश्रमलाई पठाएको पत्रमा बालगृहमा संरक्षणमा रहेका बालबालिकाको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै बालबालिकाको गोपनीयता, सुरक्षा र सर्वोत्तम हितको संरक्षण सुनिश्चित गर्न उक्त निर्देशन जारी गरिएको जनाएको छ । परिषद्ले बाल गृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ को मापदण्ड ९(१३) बमोजिम बालबालिकाको गोपनीयता र आत्मसम्मानको संरक्षणका लागि उनीहरूको पहिचान खुल्ने गरी तस्वीर वा भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराएको छ । बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक हुँदा उनीहरूको गोपनीयता, सुरक्षा, आत्मसम्मान तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन प्रतिकूल असर पर्न सक्ने उल्लेख गर्दै परिषद्ले प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गर्न, आगामी दिनमा यस्ता सामग्री सामाजिक सञ्जालमा प्रकाशन नगर्न तथा हालसम्म सार्वजनिक गरिएका सम्पूर्ण तस्वीर तथा भिडियो तत्काल हटाउन मानव सेवा आश्रमलाई निर्देशन दिएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले बाल संरक्षणसम्बन्धी सबै निकाय, बालगृह तथा सरोकारवालालाई बालबालिकाको गोपनीयता, मर्यादा, सुरक्षा र सर्वोत्तम हितलाई केन्द्रमा राखी प्रचलित कानुन तथा बाल अधिकारसम्बन्धी मापदण्डको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेको छ।

४- रुसको राजधानी मस्को नजिकै युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार सोमबार राति चेखोभको नोभोसेल्की क्षेत्रमा रहेको एक औद्योगिक क्षेत्रमा ड्रोन आक्रमण भएको थियो। आक्रमणबाट एउटा गोदाममा आगलागी भएको र विद्युत् केन्द्र तथा प्रशासनिक भवनमा समेत क्षति पुगेको उनले बताएका छन् । घाइतेमध्ये सात जनाको अवस्था मध्यम रहेको र एक जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । युक्रेनी सञ्चारमाध्यमहरूले आक्रमण भएको गोदाम रुसी अनलाइन व्यापार कम्पनी वाइल्डबेरीजसँग सम्बन्धित रहेको जनाएका छन्। युक्रेनले पछिल्ला दिनहरूमा उक्त कम्पनीका केन्द्रहरूलाई लक्षित गर्दै आएको छ। युक्रेनको दाबीअनुसार ती गोदामहरू रुसी सेनालाई आवश्यक सामग्री पुर्‍याउन प्रयोग भइरहेका छन्। तर रुसले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ । स्थानीय अधिकारीहरूका अनुसार सेन्ट पिटर्सबर्ग र तेभर क्षेत्रमा रहेका वाइल्डबेरीजका केन्द्रहरूमा पनि राति आक्रमण भएको थियो। कम्पनीले घटनाबारे विस्तृत प्रतिक्रिया नदिए पनि सेन्ट पिटर्सबर्गस्थित आफ्नो केन्द्रमा क्षति पुगेको पुष्टि गरेको छ ।

५- पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ ।  सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको थियो । छलफलका क्रममा व्यवसायीहरुले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको बताएका थिए । पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४‍.२ किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरुको धारणा थियो । व्यवसायीहरुले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरुले आवश्यकभन्दा बढी भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको बताए ।  बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिनेबारे निर्णय भएको छ। साथै, आगामी दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई मध्यनजर गर्दै आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने समेत बैठकमार्फत निर्णय भएको छ । मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरोकारवालासँग आगामी दिनमा पनि छुट्टै ढंगले छलफल जारी राख्ने बताए । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, सहसचिव नेत्रप्रसाद सुवेदी, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, नेपाल आयल निगमका कार्यकारी निर्देशक दीपक बराल, ग्यास उद्योगीहरुको छाता संगठनका पदाधिकारी तथा उद्योगी कृष्णभक्त श्रेष्ठ, सुरेन्द्रराज पौड्याल, अमित अग्रवाल, रुद्रप्रसाद कोइरालालगायतको उपस्थिति थियो ।

६- नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । भुक्तानी रकमको कमिसनका विषयमा बारम्बार मोलमोलाइ गर्दै सेवाग्राहीलाई दुःख हैरानी दिएको र घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ बालाजुबाट नियन्त्रणमा लिएको जनाएको छ । तामाङविरुद्ध घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशअनुसार म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।

७- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एकजना महिलासहित सात सदस्यीय बनाउन सहमति भएको छ । मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा पूर्ववत रूपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो । यसअघि राष्ट्र बैंकको सञ्चालक समिति नौ सदस्य राख्ने प्रस्ताव गरिएको थियो । बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संस्थामा विविधीकरण हुनु राम्रो भए पनि धेरै मानिस थप्दा व्यक्तित्वहरूको टकराव हुने जोखिम रहने बताए । उनले राष्ट्र बैंक विशिष्टिकृत संस्था भएकाले नातावाद वा राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताएका थिए ।

८- नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका एक करोड ७ लाख ६१ हजार ३९६ कित्ता शेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोको शेयर १०.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सप्तकोशी विकास बैंकको शेयर १३.४३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी खानी खोला हाइड्रोको ४० करोड ६६ लाख बराबरको कारोबार भएको छ भने सिद्धार्थ बैंकको १६ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

images

९- मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको छ । विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी  प्रकाश मुदन्डाको घरमा खानतलासी गरिएको घटना बारे एसपी कटवालसंग स्पष्टीकरण सोधिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनासम्बन्धी प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरीको निर्णय प्रक्रिया, कानुनी आधार र कार्यसम्पादनबारे गम्भीर प्रश्न उठेकाले लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो । प्रदेश प्रहरी कार्यालयले एसपी कटवालसँग मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाका आधारमा गरिएको थियो, उक्त सूचनाको प्रमाणीकरण कसरी गरिएको थियो र कसको विश्लेषणका आधारमा निर्णय लिइएको थियो भन्नेबारे स्पष्ट पार्न भनेको छ । उक्त घटनाले विराटनगरका उद्योगी-व्यापारी र सर्वसाधारणमा त्रास सिर्जना गरेको तथा प्रहरी संगठनको व्यावसायिक छविमा असर परेको भन्ने विषयमा आफ्नो धारणा पनि पेश गर्न एसपी कटवाललाई निर्देशन दिइएको छ । प्रहरीले मुन्दडाको घरमा प्रहरीले सोमबार बिहान छापा मारेको थियो । नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्यसमेत रहेका मुन्दडाको निवासमा बिहान करिब पौने ५ बजे एक दर्जनभन्दा बढी सवारीसाधनमा पुगेको प्रहरी टोलीले खानतलासी गरेको थियो । पाँच घण्टाको खानतलासीपछि प्रहरीले घरबाट कुनै सामग्री फेला नपारे पछि प्रहरीको चौतर्फी आलोचना भएको छ ।

images

१०- काठमाडौँमा खाना पकाउने ग्यासको चरम अभाव भएपछि वितरणलाई व्यवस्थित र सहज बनाउन काठमाडौं महानगर प्रहरी बल सक्रिय भएको छ । ग्यास नपाउने, पहुँचका आधारमा वितरण हुने तथा विद्यार्थीसहित सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो बढेपछि महानगर प्रहरीले ग्यास डिपोमा अनुगमन र सहजीकरण थालेको बताएको छ । महानगर प्रहरीका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार डिपोमा उपलब्ध ग्यास सबै उपभोक्ताले सहज रूपमा पाउने वातावरण बनाउन सहजीकरण गरिनेछ। साथै सिलिन्डरको तौल, म्याद, अग्नि सुरक्षा उपकरण, भण्डारण तथा ढुवानीको अवस्थासमेत नियमित रूपमा अनुगमन गरिने उनले बताए । सहजीकरण अभियानअन्तर्गत मंगलबार अनामनगर क्षेत्रका ग्यास डिपोको अनुगमन गरिएको थियो । साना डिपोमा ग्यास उपलब्ध भए पनि ठूला डिपोमा उपभोक्ताको अत्यधिक भीड देखिएको महानगरले जनाएको छ। उता नेपाल आयल निगमले भने ग्यास आपूर्ति नियमित रहेको र उपभोक्ताको माग एक्कासि बढेकाले वितरणमा चाप परेको जनाएको छ ।

११- श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हिन्दु सम्राट सेनासँग सरकारले गरेको सहमतिप्रति प्रश्न उठाउदै देशमा सेनाका नाममा समुह गठन गर्ने छुट दिन नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले सेना गठन गर्न गर्ने अनुमति कसले दिएको हो भन्दै यसका मापदण्ड र क-कसले सेना गठन पाउने हो भन्दै प्रश्न गरेका छन् ।  सांसद साम्पाङले देशमा एउटै मात्र सेना रहनु पर्छ भन्ने हो भने सरकारले विभिन्न नाममा रहेका सेनालाई निषेध गर्नुपर्ने बताउदै त्यस्ता सेना नामका समूहहरुसँग सरकारले वार्ता पनि गर्न नहुने धारणा राखेका थिए ।  उनले गत साउन ५ गते आफुलाई जनकपुरमा अवरोध गरिएको भन्दै लोकतन्त्रमा आफ्नै देशमा जादा पनि अवरोध गरिएको र आफ्ना कार्यकर्तालाई जनकपुरमा अज्ञात समूहले हातपात समेत गरेको बताए । उनले सो घटनाबारे गृहमन्त्रीलाई फोन गरेरै जानकारी गराएपनि अहिलेसम्म कारवाहीको प्रक्रिया शुरु नभएको बताएका थिए ।

images

१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मधेशमा केहि घटना हुनासाथ लाठी नचलेर गोली प्रहार किन हुन्छ भन्दै सरकारसँग प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले मधेशप्रति राज्यले हेर्ने दृष्टिकोण परिवर्तन नभएको भन्दै घटना हुनासाथ गोली चलाउने प्रवृति बन्द हुनुपर्ने बताए । उनले मधेशमा शिक्षक र डाक्टरको नियुक्तिका लागि पैसा नहुने तर मधेशमा ठुलो संख्यामा सेना र प्रहरी परिचालन गर्न भने पैसा हुने भन्दै सरकारको आलोचना गरेका थिए । सांसद सिंहले प्रहरीलाई प्रशिक्षण नपुगेको भन्दै पहिला लाठी र अश्रुग्यास चलाउनु पर्ने भन्दै यसमा सरकारको ध्यानाकर्षण गराए । उनले सुरक्षा निकायमा मधेशको उपस्थिति नभएकोले मधेशमा सेना र प्रहरी जानासाथ कुनै विदेशी पुगेजस्तो अनुभव हुने बताए ।

१३- नेपाली काँग्रेसले सुनसरी घटनामा आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा प्रश्न उठाएको छ । काँग्रेसका सचेतक निस्कल राईले केहि अन्दोलनरत पक्षसँग धर्मका विषयमा गरिएको सहमतिले समाजआमा आशंका उत्पन्न गरेको भन्दै स्पष्ट गर्न सरकारसँग माग गरेका हुन् । उनले सबैको पहलबाट सुनसरी घटना साम्य बन्दै गएको भएपनि सरकारले समयमै पहलकदमी नलिएको बताए । उनले सुनसरी घटनाको स्वतन्त्र छानबिन गरेर घटना हुनुको कारण र घटनाका दोषीलाई कारवाही गर्न समेत माग गरेका छन् । उनले शान्ति भनेको कफ्र्यु हटाउनु वा सडक खुलाउनु मात्र नभई नागरिकको मनबाट डर हट्नु, न्यायप्रति विश्वास जाग्नु र समुदायहरूबीच पुनः विश्वासको वातावरण बन्नु रहेको बताए । सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकका रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्न नहुने बताए ।  साथै सांसद राईले प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट व्यक्त गरेको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र सम्पूर्ण नेपाली नागरिकको आत्मसम्मानमा गम्भीर चोट पुर्याएको बताए । उनले भने- ‘हामीले यसअघि पनि उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति दर्ज गराएका थियौँ र आज पनि त्यसलाई दोहोर्याउन चाहन्छौँ । सार्वभौम राष्ट्रको प्रधानमन्त्रीबाट नेपालले नै भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति आउनु सामान्य राजनीतिक टिप्पणी होइन । त्यसैले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिनुपर्छ, नेपाली जनतासँग क्षमा माग्नुपर्छ र त्यसलाई संसद्को अभिलेखबाट हटाइनुपर्छ ।’

१४- एलपिजी ग्यास उद्योग सङ्घ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अस्थायी भएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संकलन नगर्न आग्रह गरेको छ । सङ्घले पछिल्लो समय ग्यासका लागि विभिन्न स्थानमा लामो लाइन लाग्ने र लाइनमा बसेर पनि ग्यास नपाउने अवस्था देखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घका अनुसार विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर (७.१ किलोग्राम) ग्यास वितरण गरिएको थियो। अहिले अन्तर्राष्ट्रिय अवस्था सामान्य बन्दै गएको, ग्यास आयात नियमित भएको र उपभोक्ताको माग पनि पूरा सिलिन्डर (१४.२ किलोग्राम) तर्फ रहेकाले पुनः पूरा सिलिन्डर वितरण नियमित गरिएको जनाएको छ। सङ्घले आयात नियमित हुँदाहुँदै पनि बजारमा ग्यास अभाव देखिनुको कारण विगत चार महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास नियमित आवश्यकताभन्दा कम आयात हुनु, लामो समयसम्म आधा सिलिन्डरको प्रयोग हुनु तथा ग्यास नपाइने हो कि भन्ने चिन्ताले धेरै उपभोक्ताले एकैपटक खाली सिलिन्डर भर्न खोज्नु रहेको स्पष्ट पारेको छ । सङ्घले कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न, विक्रेतालाई पारदर्शी र व्यवस्थित रूपमा उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न तथा उद्योग र नेपाल आयल निगमलाई बजार सहज नभएसम्म आवश्यकताभन्दा बढी ग्यास आयात र वितरणको व्यवस्था गर्न आग्रह गरेको छ। सबै पक्षले इमान्दारीपूर्वक सहकार्य गरे बजारको अवस्था छिट्टै सामान्य हुने विश्वास पनि सङ्घले व्यक्त गरेको छ ।

१५- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने बहानामा पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो ? भन्ने प्रश्न गरेका छन् । उनले भनेका छन्- ‘कसैलाई बनाउनु परे पनि उचित कारण र तर्क सहित पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेशको पार्टी कमिटी र संसदीय दलमा छलफल गरेर टुंग्याउने सुल्टो बाटो किन नहिडेको होला? नेतृत्वका उचित बाध्यता थिए भने हामीले पनि समझदारी राखथ्यौ होला नि? यही काम समझदारीकासाथ पारदर्शी ढंगले गर्न पनि त सकिंन्छ नि? साट सुट, ठोक ठाक अनि शक्तिको भाषा किन? कसैका बारेमा एउटा मापदण्ड अनि अरूका बारेमा थरी थरीका मापदण्ड ?’ भट्टराईले नेकपा कालदेखि नै कर्णालीमा एमाले निर्णायक शक्तिका रूपमा रहे पनि मुख्यमन्त्री पद माओवादी र नेपाली कांग्रेसले पटक–पटक पाएको उल्लेख गरेका छन् । पछिल्लो पटक एमाले–कांग्रेस गठबन्धन बनेपछि भने एमालेले जसरी पनि कर्णालीको नेतृत्व लिनुपर्ने र वरिष्ठ नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन आफूहरूले सचिवालय बैठकमै जोड दिएको स्मरण गरेका छन् । उनले यामलाल कँडेलको नेतृत्वमा कर्णाली प्रदेश सरकारको छवि सकारात्मक बनेको, बजेट निर्माण, कार्यान्वयन तथा सुशासनका क्षेत्रमा राम्रो काम भएको भन्ने आम धारणा रहेको दाबी गर्दै यस्तो अवस्थामा कँडेल र कर्णाली प्रदेश कमिटीलाई नै किन ‘सजाय’ दिइयो भन्ने प्रश्न समेत गरेका छन् । एमाले र नेकपाबीचको सहमति पछि कर्णालीआमा नेकपाका मुख्यमन्त्री बनेका छन् ।

Nepal life insurance

१६- सुनसरीको देवानगन्जमा भएको घटनामा गोली लागेर घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा देवानगन्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको ज्यान गएको हो । बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । मेहताको निधनसँगै सुनसरीमा मात्र प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । घाइतेमध्ये देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो । सुनसरी घटनापछि फैलिएको तनावमा सिरहामा समेत एक जनाको गोली लागेर ज्यान गएको थियो ।

१७- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर तोलाको ४३८० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४३५० मा कारोबार भएको थियो ।

१८-  बाजुराको बडिमालिका नगरपालिका –०७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना बिरामी भएका छन् ।  विषालु जंगली च्याउ खाएका स्थानीय ५१ वर्षीय रामे थापा र उनको करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा बिरामी परेका थिए । उनीहरूलाई राति १०:२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका हुन् । गम्भीर बिरामी रहेकी नाम्सरी थापाको सोही अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

१९- अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।  समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य छन् । समितिलाई बीमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय दिइएको छ ।

२०- दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गत जुनमा आएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६ हजार १२५ पुगेको छ। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले अद्यावधिक विवरण सार्वजनिक गर्दै हालसम्म ६१ हजार घाइतेले अस्पतालमा उपचार पाएको जानकारी दिएका हुन् । यसैबीच कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज नेतृत्वको सरकार भूकम्पपछिको उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको भन्दै चर्को आलोचनाको सामना गरिरहेको छ । भूकम्पपछि हराएका आफन्त र साथीभाइको खोजीमा जुटेका स्थानीय बासिन्दाले सरकार तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन् । गत जुन २४ मा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएको थियो। तटीय राज्य ला ग्वाइरा र राजधानी काराकास सबैभन्दा बढी प्रभावित भएका थिए । जोर्ज रोड्रिगेजका अनुसार भूकम्पबाट थुप्रिएको भग्नावशेषमध्ये हालसम्म करिब १६.५ प्रतिशत मात्र हटाइएको छ। पुनर्निर्माण र सामान्य अवस्थामा फर्कने प्रक्रिया अझै चुनौतीपूर्ण रहेको बताइएको छ। विश्व बैंकले सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार भूकम्पबाट भएको भौतिक क्षति करिब २० अर्ब अमेरिकी डलर बराबर पुगेको छ। भूकम्पपछि विभिन्न देशले सहयोगको प्रतिबद्धता जनाए पनि आवश्यक रकम कहाँबाट जुट्ने भन्ने अझै स्पष्ट हुन सकेको छैन । यसैबीच पूर्वराष्ट्रपति निकोलास मादुरोलाई जनवरीमा सैनिक कारबाहीमार्फत नियन्त्रणमा लिएपछि संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि व्यापक प्रभाव कायम राखेको छ । मादुरोको कार्यकालमा लगाइएका केही आर्थिक प्रतिबन्ध अझै कायम रहेकाले पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोग सहज बनाउन ती प्रतिबन्ध खुकुलो बनाउन वा हटाउनुपर्ने मागसमेत उठिरहेको छ ।