पोखराका सडक र घर नम्बर अब डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिने

काठमाडौँ । पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका सडक, गल्ली तथा घर नम्बरलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्ने विषयमा छलफल भएको छ । महानगर क्षेत्रमा जिआइएस आधारित सडक तथा भवन ठेगाना प्रणाली लागू गर्ने सम्बन्धमा सरोकारवालाबीच छलफल गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडक, गल्ली तथा घरहरूको पहिचानलाई सहज र व्यवस्थित बनाउन डिजिटल ठेगाना प्रणाली आवश्यक रहेको बताए । उनले महानगर क्षेत्रभित्रका भौतिक संरचना र स्थानहरूको पहिचानलाई एकीकृत प्रणालीमा जोड्न सके सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सकिने धारणा राखे ।

उनका अनुसार डिजिटल नम्बरिङ प्रणाली लागू भएपछि नागरिक, सेवा प्रदायक तथा आपत्कालीन सेवामा खटिने निकायलाई आवश्यक स्थान पहिचान गर्न सहज हुनेछ ।

महानगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गरी पोखराको भौगोलिक अवस्था तथा भौतिक संरचनासम्बन्धी विवरणलाई व्यवस्थित गर्ने तयारी गरेको छ। सडक तथा घर नम्बरिङ प्रणाली कार्यान्वयन भएपछि घरको पहिचान, ठेगाना व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापन तथा महानगरका विभिन्न तथ्याङ्कलाई एकीकृत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

छलफलका क्रममा डिजिटल ठेगाना प्रणालीलाई महानगरपालिकाको विद्यमान सूचना प्रणालीसँग जोड्ने तथा पोखराका सबै क्षेत्रलाई समेट्ने गरी काम अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।