
काठमाडौँ । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पोस्ट हटाइएको घटनाप्रति भारत सरकारसँग माफी मागेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मेटाले आफ्ना प्लेटफर्ममा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री, कृत्रिम रूपमा तयार गरिएका भ्रामक दृश्य सामग्री र सामग्री व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरेको छ ।
मेटाको विश्वव्यापी टोलीले कम्पनीका विश्वव्यापी मामिला प्रमुख जोएल क्याप्लानको नेतृत्वमा भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णव र सूचना प्रविधि सचिव एस. कृष्णनसँग भेटवार्ता गरेको थियो । प्रधानमन्त्री मोदीको फेसबुक पोस्ट हटाइएपछि भारत सरकारले स्पष्टीकरणका लागि मेटालाई बोलाएको थियो ।


प्रधानमन्त्री मोदीले जुलाई २३ मा फेसबुकमा सार्वजनिक गरेको भिडियोमा प्रश्नपत्र चुहावटलाई गम्भीर समस्या भन्दै यस्ता मुद्दाको छिटो सुनुवाइका लागि विशेष अदालत गठन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उक्त भिडियो केही समय फेसबुकबाट हटाइए पनि पछि मेटाले पुनः सार्वजनिक गरेको थियो । भेटका क्रममा मेटाले केही प्रकारका सामग्रीलाई प्रवर्द्धन गर्न ठूलो रकम खर्च गरिएको र त्यसका कारण अवैध सामग्रीसमेत प्रवर्द्धन भएको स्वीकार गरेको बताइएको छ। यद्यपि, कुन प्रकारका सामग्रीको विषयमा यस्तो स्वीकारोक्ति गरिएको हो भन्ने खुलाइएको छैन ।

भारत सरकारले मेटालाई सूचना प्रविधि ऐनअन्तर्गत आफूलाई केवल मध्यस्थकर्ता कम्पनीका रूपमा प्रस्तुत गरेर जिम्मेवारीबाट पन्छिन नमिल्ने स्पष्ट पारेको छ । सरकारले मेटाले कुन सामग्री कुन प्रयोगकर्तासम्म पुग्ने भन्ने निर्णय गर्ने भएकाले कानुनले प्रदान गर्ने विशेष कानुनी संरक्षणको सुविधा नपाउने पनि जनाएको छ ।
बैठकमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री, कृत्रिम रूपमा सिर्जना गरिएका भ्रामक दृश्य सामग्री, प्रमाणीकरण गरिएका खाताको सुरक्षा, सामग्री छनोट गर्ने प्रणालीमा देखिएको पक्षपात तथा भारतीय कानुनको पालना सम्बन्धमा पनि सरकारले मेटासँग जवाफ मागेको छ । यी विषयमा थप छलफलका लागि मेटाका अधिकारीलाई पुनः बोलाइने जनाइएको छ ।





