`स्टन्डबाजी´ एसपी खडकाको कार्यशैलीमा प्रश्न

तेजन खड्का 
झापा, २० साउन । झापा प्रहरी प्रमुख (एसपी) बसुन्धरा खड्काको निकम्बापनका कारण जाहेरी दर्ता भएको ३७ दिन बित्दा पनि आरोपि पक्राउ पर्न सकेका छैनन् ।

गत फागुनबाट जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हालेकी एसपी खड्का स्टण्डबाजका कारण चर्चामा छन् ।

तर, समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थाले उनको निकम्बापनको उजागर गरेको छ ।

कामभन्दा प्रचारबाजीमा सक्रिय एसपी खड्काको कार्यशैली प्रति यतिबेला प्रश्न खडा भएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाले गत असार १५ गते झापा हल्दिबारीका नितेश ओली विरुद्ध एसपी खड्काकै सल्लाहमा जाहेरी दर्ता गरेको थियो ।

झापाका केही सञ्चार माध्यको नाम बेचेर एसियन हाईवे निर्माणको जिम्मेवारी पाएको कालिका कन्ट्रक्सन सम्बद्ध निर्माण ब्यवसायीसँग रकम माग गरेको सम्बन्धित मिडियाले महासंघमा उजुरी गरेपछि महासंघले विज्ञप्ती जारी गर्दै ओलीलाई सचेत गराएको थियो ।

त्यसपछि पनि ओलीका अराजक हर्कत नरोकिए पछि पिडित पत्रकारलाई प्रहरीमा उजुरी दिन महासंघले सुझाव दिएको थियो ।

उजुरी परेको एक सातासम्म प्रहरीले बेवास्ता गरेपछि एसपी खड्काकै सल्लाह अनुसार महासंघ झापाले संस्थागत रुपमा जाहेरी दर्ता गरेको हो ।

जाहेरी दर्ता गरेको ३७ दिनसम्म ओली पक्राउ नपर्नुले उनी प्रहरीकै संरक्षणमा रहेको हुन सक्ने आशंका पैदा भएको छ ।

images

सामाजिक सञ्जालको दुरुपयोग गरेर निरन्तर पत्रकार महासंघको नेतृत्व तथा सक्रिय सञ्चारकर्मी विरुद्ध तथ्यहिन, कपोकल्पित, भ्रामक र झुटा अफवाह फैल्याइरहेका ओलीलाई कानुनी दायरामा ल्याउन महासंघको जिल्ला, प्रदेश र केन्द्रले विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउँदा समेत एसपी खड्काले चासो नदिएकाले उनको नियतमाथि शंका उब्जिएको छ ।

आरोपित ओलीविरुद्ध एक दर्जनभन्दा बढी जाहेरी दर्ता र अदालतबाट पक्राउ पुर्जी जारी भए पनि एसपी खड्काले पक्राउ गर्न कुनै चासो दिएकी छैनन् । उनी अनेक बाहना बनाएर पन्छिँदै आएकी छन् ।

images

यसैबीच, साइबर अपराध मुद्दामा झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ३७ दिन बितिसक्दा पनि ओली पक्राउ नपरेपछि नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत साउन १९ गते सरकारलाई एक साताको अल्टिमेटम दिएर ज्ञापन पत्र बुझाएको छ ।

images

यति हुँदाहुँदै पनि प्रहरीले पक्राउ गर्न नसक्नुले दण्डहीनतालाई प्रश्रय दिएको महासंघको आरोप छ । पत्रकारको सुरक्षामा चुनौती बढेको उल्लेख गर्दै महासंघले विभिन्न निकायको ध्यानाकर्षण गराइसकेको र अब एक साताभित्र पक्राउ नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

यसअघि ओली सामाजिक सञ्जालमा जथाभावी तथा अश्लील लेखेको आरोपका २०८१ चैत ३ गते काठमाडौँबाट पक्राउ परेका थिए । लुकेर बसेको अवस्थामा उनलाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरेर थुनेको थियो । विदेशमा बसेर उनले झापाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतादेखि लिएर प्रहरी प्रशासन र पत्रकारहरुलाई समेत सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौज गर्ने, चरित्र हत्या गर्ने, विभिन्न आरोप लगाउने गरेका थिए । सशस्त्र प्रहरी उपरीक्षक सुधिरजंग थापालाई फोनमा अश्लिल गालीगलौज गरेपछि ओलीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएका थिए ।

सोही आधारमा २०८२ साल मंसीर २१ गते अभद्रब्यवहार सम्बन्धि कसुर मुद्धाका प्रतिवादी ओलीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाउन सुनसरी प्रहरीले जिल्ला प्रहरी कार्यालय झापालाई पत्रचार गरेको थियो ।

यद्धपी झापा प्रहरीको असहयोगका कारण सुनसरी प्रहरीले उनलाई पक्राउ गर्न नसकेको प्रहरी स्रोतले सुचना दिएको छ । पक्राउ पुर्जी जारी भएका ओलीसंग एसपी खड्काको निरन्तर सम्पर्क हुने गरेको स्रोतको दाबी छ ।

Nepal life insurance

पछिल्लो समय ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यक्रममा गएर सामाजिक सञ्जालमा सरकारका मन्त्री तथा दलका नेताहरुसंगको तस्बीर सार्वजनिक गर्दै आएका थिए । यसरी शक्तिशाली ब्यक्तिसंगको तस्बीर देखेपछि एसपी खड्का र ओलीको सम्बन्ध सुमधुर भएको स्रोतको दाबी छ ।

स्रोतभन्छ– कार्य क्षमताभन्दा रास्वपा निकट भएकै कारण उनलाई संघीय निर्वाचनको समयमा झापा पठाइएको हो । एसपी खड्काको सम्बन्ध अहिलेका प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्कीसंग पनि सुमधुर रहेको स्रोतको दाबी छ । आईजीपी कार्की पूर्व आएका समयमा एसपी खड्का उनलाई भेट्न विभिन्न जिल्लामा पुग्ने गरेकी छन् ।