
काठमाडौं, २० साउन । पुस्तकालयसँग सम्बन्धित एउटा आश्चर्यजनक घटना सार्वजनिक भएको छ।
अस्ट्रेलियाको एउटा पुस्तकालयबाट लगिएको किताब पूरै १५० वर्षपछि फिर्ता गरिए पछि अहिले सो बिषय चर्चाको बिषय बनेको छ ।सन् १८५८ मा प्रकाशित ‘एन्टिक्विटिज अफ एथेन्स’ नामक उक्त किताब कियामा सहरको पुस्तकालयबाट लगिएको थियो। तर, हालै एक व्यक्तिले आफ्नो घरको मर्मतसम्भार गर्ने क्रममा बन्द गरिएको चिम्नी नजिकैको एउटा बाकसमा सो किताब फेला पारेका थिए ।

उनले तुरुन्तै त्यो पुस्तक पुस्तकालयलाई बुझाउन गए । पुस्तकालय प्रशासनका अनुसार आफ्नो इतिहासमा यति पुरानो पुस्तक फिर्ता आएको उनीहरूले कहिल्यै देखेका पनि थिएनन्। यति लामो समयसम्म हराएको उक्त पुस्तक अब पुस्तकालयका लागि एक विशेष ऐतिहासिक निधि बनेको छ।


यदि पुस्तकमा छापिएका पुराना नियमहरूका आधारमा र हालको मुद्रास्फीतिलाई समेत समायोजन गर्दा, ढिलो बुझाए बापतको शुल्क अर्थात लेट फीगणना गर्ने हो भने उक्त जरिवानाको रकम करिब २८ हजार अस्ट्रेलियन डलर हुन आउँछ। तर, यो जरिवाना कसलाई तिराउने भन्ने यकिन गर्ने कुनै उपाय भने अहिले छैन ।
सन् १८७० को दशकको पुस्तकालयको अभिलेख रजिस्टर हराइसकेको हुनाले सुरुमा कसले उक्त पुस्तक लगेको थियो भन्ने पहिचान गर्न असम्भव भए पछि उनी राजिनामावाट मुक्त हुने सम्भावना रहेको छ। पुस्तकालयको पुरानो नियम अनुसार कुनै परिवारले ३ वटा किताब तब मात्र लिन पाउँथ्यो, जब घरका कम्तीमा ६ जना सदस्यलाई पढ्न आउँथ्यो। साथै, मादक पदार्थको नशामा आएका व्यक्तिहरूलाई किताब दिइने गरिन्न्थ्यो ।

चिम्नीको नजिक राखिएका कारण यो किताबमा पानीले केही क्षति पुर्याएको छ। पुस्तकालयको सुरुवाती १ हजार किताबको सङ्ग्रहमा यसलाई ५०६औँ पुस्तकका रूपमा सूचीकृत गरिएको थियो। पुस्तकालय खुलेको केही वर्षभित्रै यो हराएको अनुमान गरिएको छ ।
पुस्तकालय प्रशासनले यो पुरानो किताबलाई स्थानीय इतिहास सम्बन्धी प्रदर्शनीमा राख्ने निर्णय गरेको छ। अधिकारीहरूले ठट्टा गर्दै भने कि उनीहरू अब यो किताब पढ्नका लागि कसैलाई दिने छैनन् किनकि यसलाई फिर्ता पाउन फेरि १५० वर्ष कुर्नु उनीहरूका लागि सम्भव रहेको छैन्।





