आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- भारतीय सेना प्रमुख धीरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् । उनी साउन ३१ गते काठमाडौं आइपुग्ने भएका हुन् । सो अवसरमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मनार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने प्रचलन रहेको छ ।  नेपालका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले २०२४ को डिसेम्बरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट मनार्थ महारथीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए । पाँच दिने औपचारिक भ्रमणका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपति पौडेललगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् । त्यस्तै उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ ।  भारत सरकारले ३१औं सेना प्रमुखखको रूपमा सेठलाई ३० जुन २०२६ मा नियुक्त गरेको थियो ।

२- पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव आज दिउँसो काठमाडौं ल्याइएको छ । गुरुङको शव आज कतार एयरवेजको विमानमार्फत दोहा हुँदै काठमाडौं ल्याइएको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा उनका परिवारका सदस्य, आफन्त, साथीभाइ, पर्वतारोहण समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरू उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । यही दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को शव भने नेपाल ल्याउने वा उनको पारिवारिक बसोबास रहेको बेलायत लैजाने भन्नेबारे निर्णय नभएको बताइएको छ ।  पुर्जाको शव दुर्घटनाको सातौं दिन अत्यन्त कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि बुधबार मात्र हिमालबाट सुरक्षित रूपमा आधार शिविर झारिएको थियो भने आज हेलिकप्टरबाट स्कर्दु पुर्‍याइएको छ ।

३- परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले कन्सुलर प्रमाणीकरणसम्बन्धी सेवालाई सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले विकास गरेको ‘नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ । बिहीबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन् । नयाँ प्रणाली सञ्चालनमा आएसँगै नेपालका विभिन्न सरकारी निकायबाट जारी भएका वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिस पत्र, आधारभूत कागजातलगायत अन्य विभिन्न कागजातको कन्सुलर प्रमाणीकरणका लागि अनलाइनबाट आवेदन दिन सकिने भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेको पहिलो निर्णयले आज मूर्तरूप लिएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले यो प्रणालीले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रणालीलाई उदाहरणीय बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए । कन्सुलर सेवा विभागका अनुसार सरकारी निकायबाट जारी तथा प्रमाणित कागजातको कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रक्रियालाई सहज बनाउनु प्रणालीको मुख्य उद्देश्य हो। यसले सेवा प्रवाहमा पारदर्शिता, प्रभावकारिता र जवाफदेहिता अभिवृद्धि गर्नुका साथै सेवाग्राहीलाई छिटो, सरल र सहज सेवा उपलब्ध गराउने लक्ष्य राखेको विभागले जनाएको छ । वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा अन्य प्रयोजनका लागि सरकारी निकायबाट जारी वा प्रमाणित कागजातको कन्सुलर प्रमाणीकरण आवश्यक पर्ने सेवाग्राहीले यस प्रणालीबाट प्रत्यक्ष लाभ लिन सक्ने विभागले जानकारी दिएको छ ।

४- रूकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारी संस्थालाई करोडौँ रुपैयाँको सरकारी अनुदान उपलब्ध गराउँदा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुखसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार आठबीसकोट दुग्ध सहकारी सञ्चालन गर्ने भन्दै लाखौँ रुपैयाँ अनुदान लिए पनि दुई वर्षसम्म सञ्चालन नगरिएको, सहकारीको नाममा प्राप्त सरकारी सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको भन्ने उजुरीपछि अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेश सरकारअन्तर्गतको दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमको कार्यविधिविपरीत मूल्याङ्कन गरी अनुदानका लागि अयोग्य रहेको आठबीसकोट दुग्ध सहकारी संस्थालाई चिस्यान केन्द्र निर्माणका लागि ९१ लाख १७ हजार अनुदान उपलब्ध गराइएको पाइएको अख्तियारले जनाएको छ । यस्तै, चिस्यान केन्द्र दुई वर्षसम्म सञ्चालनमा नआएको जानकारी हुँदाहुँदै आठबीसकोट नगरपालिकाले सोही सहकारीलाई ८० लाख २३ हजार बराबरको एउटा दूध बोक्ने ट्याङ्कर र दुईवटा एकल क्याब गाडीसमेत उपलब्ध गराएको, तर ती साधन प्रयोगविहीन अवस्थामा रहेको अनुसन्धानबाट खुलेको छ । अख्तियारले यसरी सरकारी अनुदानको दुरुपयोग गराई सहकारीलाई गैरकानुनी लाभ र नेपाल सरकार, प्रदेश सरकार तथा नगरपालिकालाई हानि पुर्‍याएको निष्कर्ष निकाल्दै नगरप्रमुख रवी केसी, तत्कालीन तथा बहालवाला पशु सेवा कार्यालयका अधिकारीहरू, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय, सचिव गोविन्दप्रकाश खड्का र कोषाध्यक्ष जुन कुमारी चनेललगायत ११ जनाविरुद्ध आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

५- इरानी सरकारको सार्वजनिक रूपमा विरोध गर्दै आएका दुई महिला फुटबल खेलाडीले अस्ट्रेलियाको नागरिकता प्राप्त गरेका छन् । ३४ वर्षीया अतिफेह रमजानिजादेह र २२ वर्षीया फातेमेह पसंदिदेहले अस्ट्रेलियाको क्वीन्सल्यान्डस्थित ब्रिस्बेनमा आयोजित समारोहमा नागरिकता पाएका हुन् । नागरिकता पाएपछि रमजानिजादेहले यो दिनलाई अत्यन्त विशेष र कहिल्यै नबिर्सने दिन भएको बताएकी छन् । उनकी सहकर्मी पसंदिदेहले पनि यो क्षण आफ्नो लागि शब्दले व्यक्त गर्न नसकिने बताएकी छन् । गत मार्चमा महिला एसियाली कपका क्रममा इरानको राष्ट्रिय टोलीका सात खेलाडीलाई मानवीय आधारमा अस्ट्रेलियामा बस्न अनुमति दिइएको थियो । तर तीमध्ये पाँच खेलाडीले पछि आफ्नो निर्णय परिवर्तन गर्दै इरान फर्किएका थिए । अमेरिका, इजरायल र इरानबीच युद्ध सुरु भएको केही दिनपछि इरानी टोलीले पहिलो खेलअघि राष्ट्रिय गान गाउन अस्वीकार गरेको थियो । त्यसपछि खेलाडीहरू स्वदेश फर्किएमा कारबाही हुन सक्ने आशंका गरिएको थियो । अस्ट्रेलियामा रहेका इरानी समुदायको दबाबपछि अधिकारीहरूले खेलाडीहरूलाई शरणका लागि आवेदन दिने अवसर दिएका थिए । अन्ततः रमजानिजादेह र पसंदिदेहले मात्र उक्त अवसर स्वीकार गरेका थिए ।

६- भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने जनाएको हो। सूचनाअनुसार इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । विभागका अनुसार इजाजतपत्र प्राप्त गर्न कारोबारको प्रकृतिअनुसार दस्तुर पनि निर्धारण गरिएको छ। एक पटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ भने पाँच करोड रुपैयाँभन्दा बढी कारोबार गर्नेले दश लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन पेश गरे पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ । अनलाइन आवेदनसँगै पेश गरिएका कागजातको एकएक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यहरूले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक क्रियाकलापमा संलग्न नरहेको व्यहोराको पत्र समेत पेश गर्नुपर्ने विभागले जनाएको छ । विभागले इजाजतपत्र सम्बन्धी थप जानकारी आवश्यक परे विभागमै सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

७- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यहि साउन २६ गते स्वदेश फर्किने भएका छन् । देउवा निकट कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गतेकाठमाडौं आइपुग्ने भएका हुन् । गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए ।  काँग्रेस विभाजन उन्मुख भइरहेका बेला देउवाको स्वदेश फिर्तीले थप चर्चा पाएको छ । देउवा पक्षले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ भने अर्कोतर्फ देउवा र पूर्व उपसभापति पूर्ण बहादुर खड्काले सर्वोच्चमा दिएको यसअघिको आदेशको पुनरावलोकन निवेदन स्वीकृत भएपछि काँग्रेस विवाद बारे सर्वोच्चमा फेरी शुरु देखि सुनुवाई हुने भएको छ ।

images

८- विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालनमा आएको छ । यसअघि त्रिभुवन विश्वविद्यालयले प्रदान गर्दै आएको यो सेवा २०८३ साउन १ गतेदेखि कानुनी व्यवस्थाअनुसार आयोगमा हस्तान्तरण भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । आयोगले समकक्षता सेवाका लागि आवश्यक नियमावली तयार गरी स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाइसकेको छ । हाल नियमावली अर्थ मन्त्रालयबाट राय परामर्श लिने प्रक्रियामा रहेको र स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । नियमावली स्वीकृत नभइसके पनि सेवा अवरुद्ध हुन नदिन आयोगले आवश्यक पूर्वाधार तयार गरी साउन ६ गतेदेखि अनलाइन आवेदन दर्ता प्रणाली सञ्चालनमा ल्याएको छ । आयोगको संस्थागत संरचना पूर्ण रूपमा तयार नहुँदासम्म भने साउन १५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयले अवलम्बन गर्दै आएको कार्यप्रक्रिया, आधार र मापदण्डका आधारमा त्रिभुवन विश्वविद्यालयको सहकार्यमा सेवा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ । आयोगका अनुसार समकक्षताका लागि प्राप्त आवेदनहरूको आन्तरिक प्रमाणीकरण (भेरिफिकेसन) प्रक्रिया सुरु भइसकेको छ । विद्यार्थीले साउन २० गतेदेखि समकक्षता शुल्क भुक्तानी गर्न सुरु गरेका छन् भने प्रमाणीकरण प्रक्रिया पूरा भएपछि समकक्षता प्रमाणपत्र उपलब्ध गराइनेछ । नयाँ प्रणालीमा हालसम्म तीन हजार १६२ जना प्रयोगकर्ता दर्ता भइसकेका छन् भने करिब एक हजार आवेदन प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।  विद्यार्थीले आयोगको आधिकारिक अनलाइन पोर्टलमार्फत जुनसुकै स्थानबाट समकक्षताका लागि आवेदन दिन, शुल्क भुक्तानी गर्न तथा डिजिटल प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । आयोगले नयाँ प्रणालीबाट समकक्षता सेवालाई थप छिटो, सहज र पारदर्शी बनाउने अपेक्षा गरेको छ ।

९- नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज विहिबार नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड ८ लाख ४ हजार ४२६ कित्ता शेयर ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी अपार लोहोरे खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ कलंगा हाइड्रोको शेयर ४.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एलएस होराइजन १२ को शेयर ६.५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ४७ करोड २४ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको २६ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।

images

१०- नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले दिएको काँग्रेस विवाद बारेको पुनरावलोकन निवदेनमा सर्वोच्चमा सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलासले पुनरावेदन निवेदनको सुनुवाई गर्न अनुमति दिएको हो । यस इजलासले सुनुवाई नगरी विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको यसअघिको निर्णयविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि अध्ययन गरेर पुनरावलोकन हुने निर्णय गरेको हो ।  अब सर्वोच्चको पूर्ण इजलासमा दुवै निवेदनको शुरु देखि सुनुवाई हुने भएको छ । कांग्रेस पूर्व सभापति देउवा र पूरानो कार्यसमितिको तर्फबाट तत्कालीन कार्यबाहक सभापति खड्काले सर्वोच्चमा मुद्धा पुनरावलोकनको छुट्टाछुट्टै निवेदन दिएका थिए । यसअघि गत बैशाख ४ गते सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो । न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले देउवा र खड्काको रिटलाई खारेज गर्दै विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो ।

११- युक्रेनले रुसका दुई वटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत युक्रेनी सेनाले रुसको यारोस्लाभस्थित स्लाभनेफ्ट-यानोस तेल प्रशोधन केन्द्र र बास्कोर्तोस्तानस्थित बास्नेफ्ट-नोभोइल तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जानकारी दिएका हुन् । यसअघि युक्रेनी ड्रोन आक्रमणपछि यारोस्लाभ तेल प्रशोधन केन्द्रतर्फबाट कालो धुवाँ उठेको खबर सार्वजनिक भएको थियो । यारोस्लाभका गभर्नर मिखाइल एभ्राएभले क्षेत्रमा आक्रमण गर्न आएका युक्रेनी ड्रोन नष्ट गरिएको दाबी गरेका छन् । उनका अनुसार ड्रोनका भग्नावशेष खस्दा तीन वटा घरमा आगलागी भएको छ भने केही अपार्टमेन्टका झ्यालहरू फुटेका छन् । केही सवारीसाधनमा पनि क्षति पुगेको उनले बताएका छन् । घटनामा भएको मानवीय क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ । जेलेन्स्कीले युक्रेनले ब्ल्याक सीमा रहेका रुसका दुई सैन्य गस्ती डुंगा तथा रुसको छायाँ जहाज समूहअन्तर्गतका केही पानीजहाजमा समेत आक्रमण गरेको दाबी गरेका छन् । यारोस्लाभस्थित स्लाभनेफ्ट–यानोस तेल प्रशोधन केन्द्र युक्रेनको सीमाबाट सयौँ किलोमिटर टाढा रहेको छ । सन् १९६१ मा स्थापना भएको यो केन्द्र रुसका पाँच ठूला तेल प्रशोधन केन्द्रमध्ये एक मानिन्छ । यो केन्द्रमा यसअघि पनि युद्धका क्रममा युक्रेनले आक्रमण गर्दै आएको छ । केन्द्रको विवरणअनुसार यहाँ वार्षिक करिब डेढ करोड टन कच्चा तेल प्रशोधन हुने गरेको छ । यहाँबाट सवारीसाधनका लागि इन्धन, विमानका लागि इन्धन तथा विभिन्न प्रकारका तेल उत्पादन गरिन्छ । उक्त तेल प्रशोधन केन्द्रमा करिब ३ हजार ५०० जना कर्मचारी कार्यरत रहेको बताइएको छ ।

images

१२-  सरकारले आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी सरकारी कर्मचारीहरूको नयाँ तलबमान, ग्रेड र मासिक प्रोत्साहन भत्ता निर्धारण गरेसँगै समान तहका कर्मचारीबीच ग्रेडमा रहेको असमानताप्रति प्रश्न उठ्न थालेको छ । समान आधारभूत तलब भए पनि सेवा अनुसार ग्रेड फरक-फरक तोकिएकाले कर्मचारीहरूले पाउने कुल मासिक रकममा उल्लेख्य अन्तर देखिएको हो । मन्त्रिपरिषद्को २०८३ साउन ६ गतेको निर्णयअनुसार २०८३ साउन १ गतेदेखि लागू भएको नयाँ तलबमानमा राजपत्र अनङ्कित प्रथम श्रेणीका निजामती, संसद् तथा प्रदेश–स्थानीय सेवाका राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीलाई १० ग्रेड कायम गरिएको छ । तर शिक्षक र नेपाल प्रहरीलाई ८ ग्रेड, नेपाली सेनालाई ७ ग्रेड तथा सशस्त्र प्रहरी बलका कर्मचारीलाई ६ ग्रेड मात्र दिइएको छ । यसअनुसार सबैको आधारभूत तलब ३८ हजार २०३ रुपैयाँ भए पनि निजामती, संसद् र प्रदेश-स्थानीय सेवाका राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीले ग्रेडसहित मासिक ५० हजार ९३३ रुपैयाँ प्राप्त गर्नेछन् । शिक्षक र नेपाल प्रहरीले ४८ हजार ३८७ रुपैयाँ, नेपाली सेनाले ४७ हजार ११४ रुपैयाँ तथा सशस्त्र प्रहरीले ४५ हजार ८४१ रुपैयाँ मात्र पाउने व्यवस्था गरिएको छ । यसले एउटै तहका कर्मचारीबीच मासिक आम्दानीमा हजारौँ रुपैयाँको अन्तर सिर्जना गरेको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि देखिएको छ । समान तहमा कार्यरत कर्मचारीलाई फरक–फरक ग्रेड दिनु न्यायोचित नभएको भन्दै सामाजिक सञ्जाल तथा कर्मचारी संगठनहरूमा समेत बहस सुरु भएको छ। यता अर्थ मन्त्रालयले भने बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई परिपत्र जारी गर्दै नयाँ तलबमान, ग्रेड र मासिक प्रोत्साहन भत्ता कार्यान्वयन गर्न निर्देशन दिएको छ । परिपत्रअनुसार निजामती सेवाका मुख्य सचिवको मासिक तलब ९० हजार ५९४ रुपैयाँ र विशिष्ट श्रेणीका सचिवको तलब ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ। अवकाशप्राप्त सचिवले मासिक ६६ हजार ५३९ रुपैयाँ पेन्सन पाउने व्यवस्था गरिएको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, स्वास्थ्य सेवाका बाह्रौँ तहका अधिकृत तथा संसद् सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिवसरह नै कायम गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

१३- युगान्डाका राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओवोरीको राजधानी कम्पालामा लुटेराको आक्रमणमा मृत्यु भएको छ । २७ वर्षीय ओवोरीमाथि घरनजिकै मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गर्दा प्रतिरोध गरेपछि आक्रमण गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारीहरूले ढुंगाले प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका थिए । उपचारका लागि अस्पताल लगिए पनि बुधबार उनको मृत्यु भएको हो । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । ओवोरी युगान्डाको सबैभन्दा सफल क्लबमध्ये एक स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए । उनले सन् २०२४ मा क्लबलाई २० वर्षपछि लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए भने राष्ट्रिय टोलीबाट पनि खेल्दै आएका थिए । उनको हत्यापछि युगान्डाभर शोक छाएको छ । फुटबल समर्थक, खेलकर्मी तथा राजनीतिक नेताहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ८ हजारले बढेर तोलाको २ लाख ९६ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४५७० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४७५ मा कारोबार भएको थियो ।

१५- नेपाली राष्ट्रिय क्रिकेट टिमले न्यूजील्याण्ड ए विरूद्ध ५० ओभरको खेल खेल्ने भएको छ । अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिजपछि नेपाल र न्यूजील्याण्ड ए बीच ५० ओभरको एक खेल हुने भएको हो । ५० ओभरको खेल सेप्टेम्बर ६ मा डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने न्युजील्याण्ड क्रिकेट एसोसियसनले जानकारी दिएको छ ।  त्यसअघि नेपालले पनि टप इन्ड टी-२० प्रतियोगितामा भाग लिने छ । नेपालविरुद्ध खेल्ने न्यूजील्याण्ड ए को टिममा मुहम्मद अब्बास, आदि अशोक, म्याट बोयल, म्याक्स चु, क्रिस्टियन क्लार्क, जोस क्लार्कसन, म्याट फिसर, डिन फक्सक्रफ्ट, ज्याक गिब्सन, मिच हे, बेभोन ज्याकोब्स, जेडन लेनोक्स, बेन लिस्टर, राइस मारिउ र टिम रोबिन्सन रहेका छन् ।

Nepal life insurance

१६- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज  बनाउन समिति गठन गरेको छ । मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैं भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । गठित समितिले फारम सरलीकरण सम्बन्धी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने बाध्यता अन्त्य गर्दै स्वयम् आफैंले लिखित फारम भर्न सक्ने उद्देश्यले समिति गठन गरिएको हो। समितिबाट उक्त प्रतिवेदन प्राप्त भएपछि सरलीकृत लिखित फारमहरु कार्यन्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ ।

१७- जापानको आइची-नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुद (एशियाड २०२६) मा नेपालले २२ खेल विधामा सहभागिता जनाउने भएको छ । राष्ट्रिय खेलकुद परिषदका अनुसार प्रतियोगितामा नेपालबाट कुल १३६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी हुने खेलाडीमध्ये ५६ जना महिला र ८० जना पुरुष रहेका छन् । खेलाडीबाहेक नेपालबाट ३२ जना प्रशिक्षक पनि प्रतियोगितामा सहभागी हुनेछन् । यससँगै एशियाड २०२६ का लागि नेपालको कुल टोली संख्या १६८ जना पुग्नेछ । परिषदका अनुसार नेपालले सबैभन्दा धेरै खेलाडी कबड्डीमा सहभागी गराउने भएको छ । कबड्डीमा १२ महिला र १२ पुरुष गरी २४ खेलाडी तथा ४ प्रशिक्षकसहित २८ जनाको टोली रहनेछ । त्यस्तै क्रिकेटमा १५ पुरुष खेलाडी र २ प्रशिक्षक गरी १७ जनाको टोली सहभागी हुनेछ । भलिबलमा १२ महिला खेलाडी र २ प्रशिक्षक गरी १४ जनाको सहभागिता रहनेछ । उसुमा ३ महिला र ८ पुरुष गरी ११ खेलाडी तथा २ प्रशिक्षक सहभागी हुनेछन् भने करातेमा ५ महिला र ३ पुरुष गरी ८ खेलाडी तथा २ प्रशिक्षक रहनेछन्। बक्सिङमा ३ महिला र ४ पुरुष गरी ७ खेलाडी तथा २ प्रशिक्षक सहभागी हुनेछन् । जुडोमा ३ महिला र ३ पुरुष गरी ६ खेलाडी तथा २ प्रशिक्षक, एथलेटिक्समा २ महिला र ४ पुरुष गरी ६ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन्। टेबल टेनिसमा पनि ३ महिला र ३ पुरुष गरी ६ खेलाडी तथा १ प्रशिक्षक रहनेछन् । त्यस्तै कुस्तीमा २ महिला र ४ पुरुष गरी ६ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन् । टेनिसमा २ महिला र ३ पुरुष गरी ५ खेलाडी तथा १ प्रशिक्षक, पौडीमा २ महिला र ३ पुरुष गरी ५ खेलाडी तथा १ प्रशिक्षक रहनेछन् । ब्याडमिन्टनमा २ महिला र २ पुरुष गरी ४ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन् । गल्फ र सफ्ट टेनिसमा समान रूपमा १ महिला र ३ पुरुष गरी ४ खेलाडी तथा १ प्रशिक्षक रहनेछन् । ताइक्वान्दोमा २ पुरुष खेलाडी र २ प्रशिक्षक सहभागी हुनेछन्। तीरन्दाजीमा १ महिला र १ पुरुष गरी २ खेलाडी तथा १ प्रशिक्षक रहनेछन् । त्यस्तै क्यानो स्लालोममा २ पुरुष खेलाडी र १ प्रशिक्षक, साइक्लिङमा १ महिला र १ पुरुष गरी २ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन्। स्केटबोर्डमा २ पुरुष खेलाडी र १ प्रशिक्षक रहनेछन् । यसैगरी स्क्वासमा १ महिला र १ पुरुष गरी २ खेलाडी तथा १ प्रशिक्षक र नृत्य तथा खेलकुद विधामा १ पुरुष खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन् । जापानको आइची-नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुदमा नेपालले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दै पदक जित्ने लक्ष्यसहित सहभागिता जनाउने तयारी गरेको छ ।

१८-  जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का, चुरोटलगायतका सूर्तिजन्य पदार्थ प्रयोग भइरहेको भन्दै ध्यानाकर्षण गराएको छ । कार्यालयले होटल तथा रेष्टुरेन्टमा हुने धुम्रपानका कारण धुम्रपान नगर्ने व्यक्तिहरूको स्वास्थ्यमा असर परेको भन्दै कानुनी व्यवस्थाको पूर्ण पालना गर्न व्यवसायीहरूलाई निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालयले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन तथा धुम्रपान गर्ने स्थानलाई चारैतिरबाट बन्द गरी अन्य व्यक्तिलाई असर नपर्ने व्यवस्था गर्न आग्रह गरेको छ । कार्यालयले होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा कानुनले तोकेका मापदण्ड पूरा गर्न सबै व्यवसायीलाई सूचित गरेको छ । अनुगमनका क्रममा ऐनविपरीत कार्य गरेको पाइएमा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ अनुसार अधिकतम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

१९- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेको दुई वर्षपछि बुधबार पहिलो पटक भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन गरेकी छन् । करिब २५ मिनेट लामो सम्बोधनका क्रममा उनले आफ्नो क्यामेरा भने बन्द राखेकी थिइन् । सम्बोधनमा हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने बताउदै जेल वा मृत्युदण्डको धम्कीले आफू नडराउने स्पष्ट पारिन् । उनले भनिन्- ‘मलाई थाहा छ, उनीहरूले मलाई जेल हाल्न सक्छन् वा मार्न पनि सक्छन् । त्यसपछि पनि म डिसेम्बरमा बंगलादेश फर्किनेछु । जनताको साथ र समर्थन मेरो लागि सबैभन्दा महत्त्वपूर्ण छ । मृत्युदण्ड, झुटा मुद्दा र देखावटी सुनुवाइले मलाई डराउन सक्दैन । मविरुद्ध चलाइएको कानुनी प्रक्रिया गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यबाट प्रेरित छ ।’ हसिनाले आफूले स्वेच्छाले बंगलादेश नछोडेको पनि बताइन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि त्यहाँबाट निस्कन आफूलाई केवल ३० देखि ४० मिनेटको समय मात्र मिलेको उनले उल्लेख गरिन् । उनका अनुसार त्यसबेला आफू देश छोड्न लागेको भन्ने पनि थाहा थिएन । उनी आफ्नो पुर्ख्यौली गाउँ तुङ्गीपाडा जाने तयारीमा थिइन्, तर परिस्थितिले देश नै छोड्न बाध्य बनायो । शेख हसिना सन् २०२४ को अगस्टदेखि भारतमा बस्दै आएकी छन् । विद्यार्थी आन्दोलनपछि उनको सरकार ढलेको थियो र त्यसपछि उनले ढाका छोड्नुपरेको थियो । गत वर्ष नोभेम्बरमा ढाकास्थित विशेष न्यायाधिकरणले सन् २०२४ को आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गरिएको कारबाहीलाई मानवताविरुद्धको अपराध ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसयता बंगलादेश सरकारले भारतसँग उनको प्रत्यर्पणको माग गर्दै आएको छ । हसिना अन्तिम पटक सन् २०२४ अगस्ट ५ मा सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यसदिन उनी ढाकाबाट भारत पुगेकी थिइन् । त्यसयता उनी गोप्य स्थानमा बस्दै आएकी छन् । दुई वर्षपछि आयोजित भर्चुअल पत्रकार सम्मेलनमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरे पनि अनुहार भने देखाइनन् । सञ्चारमाध्यमहरूका अनुसार क्यामेरामा देखिएमा उनको पृष्ठभूमि, बसोबासको स्थान वा सुरक्षा व्यवस्थासम्बन्धी विवरण सार्वजनिक हुन सक्ने जोखिमका कारण उनले क्यामेरा बन्द राखेकी हुन् । बंगलादेश सरकारले भारतको भूमिबाट शेख हसिनाले गर्ने राजनीतिक गतिविधिले दुई देशबीचको सम्बन्धमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएको छ । त्यसैले भारतको विदेश मन्त्रालयले यो निजी कार्यक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

२०- विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने विवादास्पद योजनामा आफूबाट भएको त्रुटिप्रति माफी मागेका छन् । यद्यपि, मोरक्कोमा बसेको फिफाको वरिष्ठ कार्यकारी बैठकले उनलाई अध्यक्षका रूपमा निरन्तर समर्थन गर्ने निर्णय गरेको छ । इन्फान्टिनोले बढ्दो आलोचनापछि बुधबार मोरक्कोको राजधानी रबाटस्थित फिफाको अफ्रिका कार्यालयमा व्यवस्थापन बोर्डको बैठक बोलाएका थिए । बैठक सकिएको करिब चार घण्टापछि फिफाले विज्ञप्ति जारी गर्दै अध्यक्ष इन्फान्टिनोलाई व्यवस्थापन बोर्डको पूर्ण समर्थन रहेको जनाएको हो । यसअघि युरोपेली फुटबल महासंघले इन्फान्टिनोप्रति आफ्नो विश्वास गुमाएको जनाएको थियो । महासंघले फिफा फरवार्ड इन्टरप्राइज नामक प्रस्तावलाई अस्पष्ट, बन्द कोठामा तयार गरिएको र पारदर्शिताविहीन सम्झौता भन्दै कडा आलोचना गरेको थियो । इन्फान्टिनोको योजनाको आलोचना फिफाभित्रैबाट पनि भएको थियो । फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले मंगलबार कर्मचारीहरूलाई पठाएको आन्तरिक पत्रमा यस घटनाक्रमलाई दुःखद र निन्दनीय भनेका थिए। उनी पनि बुधबारको बैठकमा सहभागी थिए । तर बैठकपछि जारी संयुक्त विज्ञप्तिमा ग्राफस्ट्रोमसहित व्यवस्थापन बोर्डले इन्फान्टिनोप्रति आफ्नो पूर्ण समर्थन पुनः पुष्टि गरेको जनाएको छ । यसैबीच, इन्फान्टिनो र ग्राफस्ट्रोमले फिफाका उपाध्यक्ष, परिषद्का सदस्य तथा २११ सदस्य राष्ट्र फुटबल संघलाई संयुक्त रूपमा हस्ताक्षर गरिएको पत्र पठाउँदै आफूहरूबाट भएका त्रुटिप्रति हार्दिक क्षमायाचना गरेका छन् । उनीहरूले यस्ता गल्ती भविष्यमा दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । बैठकपछि दुवै जना रबाटमा आयोजित अफ्रिकी महिला राष्ट्रकप फुटबल प्रतियोगिताको खेल हेर्न सँगै पुगेका तस्वीरहरू पनि सार्वजनिक भएका छन् । इन्फान्टिनोले फिफाका सबै सदस्य संघलाई नयाँ सहायक संस्था फिफा फरवार्ड इन्टरप्राइज मार्फत पुरुष तथा महिला विश्वकपसहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरेबापत चार करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरेका थिए । फिफाले बुधबारको बैठकमा उक्त योजनासम्बन्धी त्रुटिहरू स्वीकार गरिएको जनाएको छ। विज्ञप्तिमा परिषद् र सदस्य संघहरूले आफूहरूलाई निर्णय प्रक्रियाबाट बाहिर राखिएको महसुस गर्नु फिफाको उद्देश्य नभएको र प्रक्रिया फरक ढंगले अघि बढाइनुपर्ने स्वीकार गरिएको उल्लेख छ । साथै, प्रस्ताव सार्वजनिक भएपछि त्यसको व्यवस्थापनमा पनि गल्ती भएको फिफाले स्वीकार गरेको छ। इन्फान्टिनोको योजना गत साउन १२ गते एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि विवाद चर्किएको थियो । यद्यपि, फिफाले आफ्नो संस्थाको विश्वसनीयता, सुशासन र विधिसम्मत प्रक्रियामाथि हुने कुनै पनि आक्रमण अब सहन नसकिने स्पष्ट पारेको छ। संस्थाको नाम र प्रतिष्ठा जोगाउन आवश्यक सबै कदम चालिने पनि फिफाले जनाएको छ । यसअघि अर्को समाचारमा इन्फान्टिनोले मोरक्कोलाई आफ्नो योजनाको समर्थन गरेबापत सन् २०३० को विश्वकप फुटबलको फाइनल खेल आयोजना गर्ने आश्वासन दिएको भन्ने दाबी पनि गरिएको थियो। तर फिफाले उक्त समाचारलाई भ्रामक र असत्य भन्दै खण्डन गरेको छ । फिफाले सन् २०३० को विश्वकपको फाइनल खेल कहाँ हुने भन्ने निर्णय मोरक्को, स्पेन र पोर्चुगल संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगिताको तयारीका क्रममा उचित समयमा गरिने जनाएको छ । विश्लेषकहरूका अनुसार यदि हसिना भिडियोमार्फत प्रत्यक्ष देखिएर राजनीतिक सन्देश दिएकी भए, त्यसलाई भारतले उनलाई खुला राजनीतिक मञ्च उपलब्ध गराएको रूपमा व्याख्या गर्न सकिने अवस्था थियो । यसबाहेक बंगलादेशमा उनीविरुद्ध मृत्युदण्डको फैसला भइसकेको र उनको प्रत्यर्पणको मागसमेत भइरहेका कारण क्यामेरामा देखिँदा कानुनी तथा कूटनीतिक विवाद थप जटिल बन्न सक्ने आकलन गरिएको थियो । यही कारण उनले अनुहार नदेखाई केवल आवाजमार्फत मात्र सम्बोधन गरेको बताइएको छ ।