
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोलि सिलिकनबाट निर्मित उत्पादनहरूको आयातमा न्यूनतम मूल्य तोक्दै १५ प्रतिशत भन्सार महशुल लगाउने सम्बन्धी एक कार्यकारी आदेशमा बिहीवार हस्ताक्षर गर्नुभएको छ । पोलि सिलिकन सौर्य प्यानल र सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने एक महत्वपूर्ण कच्चा पदार्थ हो ।
ह्वाइट हाउसद्वारा जारी गरिएको घोषणापत्र अनुसार, पोलि सिलिकनको न्यूनतम आयात मूल्य प्रति किलोग्राम २१ अमेरिकी डलर निर्धारण गरिएको छ ।


त्यसैगरी, पोलि सिलिकन इन्गट्स र वेफर्सको मूल्य प्रति किलोग्राम १०० डलर कायम गरिएको छ । यो नयाँ व्यापारिक व्यवस्था आगामी डिसेम्बर ४ देखि कार्यान्वयनमा आउने जानकारी दिइएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी वाणिज्य विभागलाई कच्चा पोलि सिलिकन र सोसँग सम्बन्धित अन्य उत्पादनहरूको आन्तरिक उत्पादनमा लगानी प्रोत्साहन गर्ने कार्यक्रमहरू तर्जुमा गर्न समेत निर्देशन दिनुभएको छ । ह्वाइट हाउसद्वारा जारी तथ्यपत्रमा उल्लेख भएअनुसार यी रणनीतिक वस्तुहरूको उत्पादनमा अमेरिकी उत्पादकहरूका लागि समान अवसर सिर्जना गर्ने, उद्योगहरूलाई स्वदेशमै फर्काउने र राष्ट्रिय सुरक्षाका साथै रक्षा क्षेत्रसँग सम्बन्धित औद्योगिक आधारको संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको हो ।
तथ्यांकअनुसार विश्वव्यापी पोलि सिलिकन उत्पादन क्षमतामा अमेरिकाको हिस्सा सन् २००५ मा ५० प्रतिशत रहेकोमा सन् २०२४ सम्म आइपुग्दा यो २ प्रतिशतभन्दा पनि न्युन बिन्दुमा झरेको छ ।





