
काठमाडौँ । युक्रेनको राजधानी किभनजिक रुसले गरेको रातभरको क्षेप्यास्त्र आक्रमणमा बालकसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य तीन जना घाइते भएका छन् ।
शनिबार बिहान राजधानी किभको पूर्वी क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको थियो । प्रत्यक्षदर्शीहरूले शक्तिशाली विस्फोटको आवाज सुनेका थिए । केही दिनअघि युक्रेनका विभिन्न क्षेत्रमा भएका रुसी आक्रमणमा २१ जनाको मृत्यु भएको थियो ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार क्षेप्यास्त्र खस्दा त्यसबाट निस्किएको भग्नावशेषले आवासीय भवन र सवारीसाधनमा क्षति पुर्याएको छ । एउटा छुट्टै भवनमा आगलागी भएको थियो। उनका अनुसार क्षेप्यास्त्र आक्रमणमा तीन जना घाइते भएका छन् ।


किभका नगरप्रमुख भिताली क्लिच्कोले सामाजिक सञ्जालमार्फत एक भवन र इन्धन भण्डारण ट्याङ्कीमा लागेको आगो नियन्त्रण गर्न उद्धारकर्मी परिचालन गरिएको बताएका छन् ।
युक्रेनको राज्य आपत्कालीन सेवाले किएभमा ग्यारेज, व्यापारिक भवन र एउटा अन्य भवनमा आगलागी भएको तस्बिर सार्वजनिक गर्दै आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको जनाएको छ ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सर्बियाको राजधानी बेलग्रेड पुगेका छन् । रुसी क्षेप्यास्त्र आक्रमण रोक्न प्रयोग हुने प्रतिरोधी क्षेप्यास्त्रको भण्डार घट्दै गएपछि युक्रेनको प्रतिरक्षा क्षमताबारे चिन्ता बढिरहेका बेला उनको सर्बिया भ्रमण भएको हो ।
जेलेन्स्कीले युक्रेनका लागि थप अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेका छन् । सर्बियाका राष्ट्रपति अलेक्जान्दर भुचिचले भने रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गर्दै आएका छन् । यद्यपि सर्बियाले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउँदै आएको छ र युद्धपछि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बेलग्रेडमा जेलेन्स्की र भुचिचबीच आर्थिक सम्बन्ध, युरोपेली सङ्घसँगको सम्बन्ध तथा सुरक्षा विषयमा छलफल हुने तय भएको छ ।
यसअघि जेलेन्स्कीले साझेदार मुलुकबाट प्रतिरोधी क्षेप्यास्त्र प्रणाली प्राप्त गर्न भइरहेको ढिलाइका कारण ठूलो जनधनको क्षति भइरहेको बताएका थिए । उनले युक्रेनसँग बलियो प्रतिरोधी क्षमता भएको भए पछिल्ला घातक आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने बताएका थिए । जेलेन्स्कीले यस वर्ष सहयोगी मुलुकबाट प्राप्त हुने प्रतिरोधी क्षेप्यास्त्रको आपूर्ति उल्लेख्य रूपमा घटेको पनि बताएका छन् ।
पछिल्लो समय रुस र युक्रेनबीचको आक्रमण थप तीव्र भएको छ । युक्रेनले रुसको गहिरो भूभागमा रहेका दुई तेल प्रशोधन केन्द्र तथा कृष्ण सागरमा रुससँग सम्बन्धित पानीजहाजलाई समेत निशाना बनाएको थियो ।
जेलेन्स्कीले यस्ता कारबाही रुसको युद्ध सञ्चालनका लागि प्रयोग हुने तेलबाट प्राप्त आम्दानी घटाउने उद्देश्यले गरिएको बताएका छन् । रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेका मध्यस्थता तथा वार्ता प्रयास प्रभावकारी रूपमा अघि बढ्न नसकेपछि पछिल्ला दिनमा दुवै पक्षबाट आक्रमण तीव्र भएको छ ।





