कालीकोटमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र अस्पतालमा तोडफोड गर्ने तीन जना पक्राउ

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार २०८३ साउन २२ गते अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गरिएको थियो । त्यसपछि अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी त्यहाँ रहेका सामानमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय कालीकोटमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढाइने जनाएको छ ।