ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक

वासिङ्टनस्थित एक अमेरिकी संघीय पुनरावेदन अदालतले ह्वाइट हाउसमा ४० करोड अमेरिकी डलरको भव्य बालरुम (नाचघर) निर्माण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम गैरकानूनी भएको फैसला सुनाएको छ । शुक्रवार भएको उक्त फैसलामा अदालतले सो परियोजनामाथि रोक लगाएको हो ।

अमेरिकी जिल्ला अदालत (डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किट) को पुनरावेदन इजलासले २–१ को बहुमतका आधारमा यस्तो फैसला सुनाएको हो । फैसलामा राष्ट्रपति ह्वाइट हाउसको अस्थायी भाडावाल मात्र भएको र त्यसको मालिक नभएको उल्लेख गरिएको छ । अदालतले भनेको छ, ‘ह्वाइट हाउस र यसको कार्यकारी निवासमा राष्ट्रपतिको कुनै संवैधानिक अधिकार छैन ।

यो सम्पती वर्तमान र भविष्यका सबै राष्ट्रपतिहरू र अमेरिकी जनताको प्रयोगका लागि निर्माण र संरक्षण गरिएको हो ।’

‘नेशनल ट्रस्ट फर हिस्टोरिक प्रिजर्भेसन’ को पक्षमा फैसला सुनाउँदै अदालतले अमेरिकी इतिहासमा यसअघि कुनैपनि राष्ट्रपतिले कंग्रेसको अनुमतिबिना र करदाताको पैसाले बनेको संरचना निजी कोष प्रयोग गरी एकलौटी रूपमा नभत्काएको टिप्पणी गरेको छ । फैसलाका अनुसार सन् २०२५ को अक्टोबरमा मात्र तीन दिनको अवधिमा, ट्रम्पले कुनै परामर्श वा कंग्रेसको अनुमतिबिना ९० हजार वर्ग फिटको बालरुम बनाउन ह्वाइट हाउसको ‘इस्ट विङ’ भत्काएका थिए ।
अदालतले आफ्नो फैसला कार्यान्वयनमा १४ दिनको रोक (स्टे) लगाएको छ, जसले ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्ने समय उपलब्ध गराएको छ ।
ट्रम्पको यो प्रश्तावित बालरुम विस्तार योजनालाई ह्वाइट हाउस र कंग्रेसका केही सहयोगीहरूले समर्थन गरे पनि कंग्रेसकै कतिपय रिपब्लिकन सदस्यहरूले भने यसप्रति असन्तुष्टि र चिन्ता व्यक्त गर्दै आएका छन् । गत जुन महिनाको सुरुमा सात जना रिपब्लिकन सिनेटरहरूले डेमोक्र्याटहरूसँग मिलेर कंग्रेसको अनुमतिबिना बालरुम निर्माण वा कोष परिचालन गर्न नपाइने संशोधनको पक्षमा मतदान गरेका थिए ।