आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन् । त्यसपछि २०५५ साल पुस २६ गते पुनः सुकुम्बासी समस्या समाधान आयोगले प्रक्रिया अघि बढाए पनि पुर्जा वितरण हुन सकेन। विगतका आयोगबाट सुरु भएको काम अधुरै रहँदा खजुरानी र तुलाभाडी गाउँका स्थानीय लामो समयदेखि जग्गाधनी पुर्जाको पर्खाइमा थिए । हालको समितिको कार्यविधि तथा प्रचलित नियमअनुसार विगतमा भएका अधुरा–अपुरा कामलाई निरन्तरता दिँदै प्रक्रिया अघि बढाइएको हो। सोही क्रममा नियमानुसार राजस्व संकलन गरी विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको प्रक्रिया पूरा गर्दै १२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो । करिब ३८ वर्षअघि नापनक्सा भएर पनि स्वामित्वको कानुनी प्रमाण प्राप्त गर्न नसकेका स्थानीयले लामो समयपछि जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेका  हुन् ।

२- अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ । बिरामी भएपछि अर्जेन्टिनाको रोसारियो सहरस्थित अस्पतालमा उपचार गराइरहेका उनको निधन भएको अर्जेन्टिनी मिडियाहरुले उल्लेख गरेका छन् । जर्ज मेसीलाई लियोनल मेसीको फुटबल करिअरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा लिइन्छ । मैदानमा मेसीका सुरुआती दिनदेखि नै उनले छोराको साथ दिँदै आएका थिए । मेसी विश्व फुटबलका महान् खेलाडीमध्ये एक बन्ने यात्रामा अघि बढ्दा जर्ज उनको निरन्तर साथमा थिए । उनले मेसीका तर्फबाट क्लब तथा व्यावसायिक कम्पनीहरूसँग सम्झौता र वार्ता गर्दै आएका थिए । मेसीको खेल करिअरसँगै उनको व्यावसायिक गतिविधिको संरचना निर्माणमा पनि पिताको महत्वपूर्ण भूमिका रहेको थियो । पछिल्ला केही वर्षमा होर्खेको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो। पछिल्लो विश्वकपका क्रममा मेसीले आफू कठिन व्यक्तिगत परिस्थितिबाट गुज्रिरहेको संकेतसमेत गरेका थिए । छोराको खेल जीवनदेखि व्यावसायिक यात्रासम्म निरन्तर साथ दिएका पिताको निधनलाई मेस्सी परिवारका लागि ठूलो व्यक्तिगत क्षतिका रूपमा लिइएको छ ।

३- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ । यसअघि साउन २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएकोमा अब उनी साउन २८ गते स्वदेश फर्किने भएका हुन् ।  देउवा निकट कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा साउन २८ गते अपराहन्न १२ बजे काठमाडौं आइपुग्ने भएका हुन् । गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए ।  काँग्रेस विभाजन उन्मुख भइरहेका बेला देउवाको स्वदेश फिर्तीले थप चर्चा पाएको छ ।  देउवा पक्षले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ भने अर्कोतर्फ देउवा र पूर्व उपसभापति पूर्ण बहादुर खड्काले सर्वोच्चमा दिएको यसअघिको आदेशको पुनरावलोकन निवेदन स्वीकृत भएपछि काँग्रेस विवाद बारे सर्वोच्चमा फेरी शुरु देखि सुनुवाई हुने भएको छ ।

४- लोकतन्त्र, सामाजिक न्याय, समानता, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने उद्देश्यसहित विभिन्न राजनीतिक शक्तिलाई समेटेर ‘अग्रगामी मोर्चा’ गठन गर्ने प्रस्ताव अघि सारिएको छ । मोर्चाको अवधारणापत्रमा मुलुकमा बढ्दो असमानता, विभेद, बहिष्करण र केन्द्रीकृत शासन प्रवृत्तिको अन्त्य गर्दै स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकार, विधिको शासन र सुशासनमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ । अवधारणापत्रमा नेपालका बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतालाई सम्मान गर्दै पछाडि पारिएका तथा सीमान्तकृत समुदायको उत्थानलाई प्राथमिकता दिने उल्लेख छ । मधेसी, आदिवासी जनजाति, थारू, महिला, दलित, मुस्लिम, पिछडावर्ग, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक समुदाय, युवा, श्रमिक, किसान तथा ज्येष्ठ नागरिकलाई राज्यका सबै तहमा अर्थपूर्ण सहभागिता र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने मोर्चाको प्रस्तावमा उल्लेख छ । मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहलाई आवश्यक अधिकार, स्रोत र क्षमता प्रदान गर्ने तथा प्रदेशमा स्वायत्तता र संघमा साझा शासनको अवधारणा लागू गर्ने प्रस्ताव गरेको छ । समान जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, निर्वाचन प्रणालीमा सुधार गर्ने तथा प्रतिनिधित्वको सम्भावना न्यून भएका महिला र दलित समुदायका लागि छुट्टै सुरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अवधारणापत्रमा छ । संविधानमा रहेका संरचनागत कमजोरी तथा अस्पष्टता सुधार गर्दै संघीयता, समावेशी लोकतन्त्र, सामाजिक न्याय र प्रतिनिधित्वलाई थप बलियो बनाउने विषयलाई पनि प्राथमिकता दिइएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा गरिबी, बेरोजगारी, अशिक्षा, कुपोषण र भोकमरी अन्त्य गर्न उत्पादनमुखी अर्थतन्त्र, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सार्वजनिक सेवाको विस्तारमा जोड दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, आवास र आधारभूत सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने, युवा बेरोजगारी समाधानका लागि सीप विकास, प्राविधिक शिक्षा, कृषि उद्यम र औद्योगिक विस्तारलाई प्राथमिकता दिने प्रस्ताव गरिएको छ । श्रमिकका लागि उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, ट्रेड युनियनको अधिकार तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने विषय पनि समेटिएको छ । त्यस्तै, प्राकृतिक स्रोतको संरक्षण, जलवायु परिवर्तनसँग अनुकूलन, स्वच्छ वातावरण र दिगो विकासलाई राष्ट्रिय प्राथमिकता बनाउने प्रस्ताव गरिएको छ। जलविद्युत्, पर्यटन, उद्योग, कृषि, सहकारी, शिक्षा, सीप तथा मानव पुँजी विकास, व्यापार र निर्यात प्रवर्द्धन तथा निजी क्षेत्रको विकासलाई एकीकृत रूपमा अघि बढाएर उच्च आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । ज्येष्ठ नागरिक, श्रमिक, किसान, असंगठित क्षेत्रका श्रमिक तथा विपन्न वर्गका लागि सामाजिक सुरक्षा प्रणाली बलियो बनाउँदै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा भत्ता र बेरोजगारी सहायता उपलब्ध गराउने प्रस्ताव पनि गरिएको छ । अवधारणापत्रअनुसार अग्रगामी मोर्चामा समान उद्देश्यप्रति प्रतिबद्ध राजनीतिक दल तथा संगठन सहभागी हुन सक्नेछन्। सहभागी दलले आफ्नो स्वतन्त्र राजनीतिक अस्तित्व, संगठनात्मक संरचना र पहिचान कायम राख्ने तर मोर्चाको साझा न्यूनतम कार्यक्रम तथा निर्णय र आचारसंहिताको सम्मान गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मोर्चाको राष्ट्रिय, प्रादेशिक, जिल्ला तथा महानगर–उपमहानगरस्तरीय समिति रहने र नेतृत्व सहमतिका आधारमा चयन गर्ने वा आवश्यकताअनुसार आलोपालो नेतृत्व प्रणाली अपनाउन सकिने उल्लेख छ । अवधारणापत्रमा जनता समाजवादी पार्टी, नेपाल जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल खम्बुवान राष्ट्रिय मोर्चालगायतका राजनीतिक दलका नेताहरूको हस्ताक्षर रहेको उल्लेख छ ।

५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सांसद मनिष झाले सरकार परिवर्तनको ऐतिहासिक जनादेश पाएको सरकारलाई सबैको साथ आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई जवाफ दिदै उनले सरकारमा कोही पनि एक्लो नरहेको भन्दै आफू सरकारको साथमा रहेको स्पष्ट पारेका छन् । झाले सामाजिक सञ्जालमार्फत परिवर्तनका लागि प्राप्त भएको जनादेशलाई खेर जान नदिन सबै जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका हुन्। उनले सरकारको नियत र आशयप्रति आफूलाई शंका नरहेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन् ।’ सरकारका केही पक्षमा सुधार आवश्यक रहेको भन्दै उनले ती विषयमा निरन्तर सचेत गराउने प्रतिबद्धता जनाएका छन् । झाका अनुसार संसद्मा आफूले राखेको धारणा पनि यही विषयमा केन्द्रित थियो । ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सरकारलाई आवश्यक सुझाव र खबरदारी गरिरहनुपर्ने उनको भनाइ छ । उनले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्नेमा जोड दिँदै आफू पनि सरकारको साथमा रहेको बताएका छन्। उनले सरकारलाई आवश्यक सुधारका विषयमा सजग गराउँदै सकारात्मक काममा साथ दिने संकेत गरेका छन्। झाले ‘यहाँ कोही एक्लो छैन’ भन्दै सरकारलाई साथ र सहयोगका लागि आफूहरू सबै साथमा रहेको बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आफ्नै दलका सांसदहरुले सरकारको आलोचना गरेपछि शुक्रबार राति कहिलेकाही एक्लै लड्नुपर्छ भन्दै आफु एक्लै लडिरहेको आशय व्यक्त गरेका थिए । उनले भनेका थिए- ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन ।’

६- पोखरा महानगरपालिका र जापानको कोमागाने सहरबीचको द्विपक्षीय सम्बन्ध तथा श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने तयारी अघि बढाइएको छ । आगामी असोजमा कोमागाने सहरका प्रमुखसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल पोखरा आउने र सोही क्रममा रोजगारी मेला सञ्चालन गर्नुका साथै दुई सहरबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको हो । कार्यक्रमको तयारीका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, एआईसी कर्पोरेसनका प्रतिनिधि तथा सूचना प्रविधि अधिकृत सुवास ढुङ्गानाबीच भेटघाट भएको छ। साथै कोमागाने सहरका प्रतिनिधिसँग अनलाइन माध्यमबाट संवाद गरी आगामी कार्यक्रमको विस्तृत कार्ययोजनाबारे छलफल गरिएको छ । जापानको कोमागाने सहरका प्रमुख युजो इतोको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल आगामी असोज १७ गते पोखरा आउने कार्यक्रम तय भएको छ। प्रतिनिधिमण्डलको भ्रमणका क्रममा असोज १७ र १८ गते पोखरामा विशेष रोजगारी मेला सञ्चालन गरिनेछ । रोजगारी मेलामार्फत पोखराका दक्ष तथा प्राविधिक जनशक्तिलाई जापानमा रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको नगर प्रमुख आचार्यले बताएका छन् । भ्रमणका क्रममा पोखरा महानगरपालिका र कोमागाने सहरबीच दक्ष जनशक्तिलाई जापानमा रोजगारीका अवसर उपलब्ध गराउने तथा श्रम सहकार्यलाई व्यवस्थित बनाउने विषयमा दुवै सहरका प्रमुखले समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । यसैगरी पोखरा र कोमागानेबीचको भगिनी सम्बन्धको प्रतीकका रूपमा रहेको ‘कोमागाने पार्क’को स्तरोन्नति गर्ने विषयमा समेत छलफल अघि बढाइएको छ। पार्कमा कोमागाने सहरको पहिचान, संस्कृति र विशेषता झल्किने स्थायी संरचना निर्माण तथा आवश्यक पूर्वाधार विकासका लागि सहकार्य गर्ने तयारी गरिएको छ। पोखरा महानगरपालिकाले पोखरा र कोमागानेबीचको सम्बन्धलाई आर्थिक, सांस्कृतिक, पर्यटन तथा जनस्तरको सहकार्यसँग जोड्दै थप विस्तार गर्ने योजना बनाएको छ । आगामी कार्यक्रमले पोखराका युवालाई जापानमा सुरक्षित तथा दक्ष रोजगारीका अवसरसँग जोड्नुका साथै दुई सहरबीचको भगिनी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

७- बलिवुड अभिनेता सलमान खानको सुरक्षामा खटिएका प्रहरी जवानको ड्युटीका क्रममा मृत्यु भएको छ । मुम्बई प्रहरीका अनुसार उनी पछिल्ला केही वर्षदेखि सलमान खानको सुरक्षामा खटिँदै आएका थिए । उनी शुक्रबार सलमानको घरबाहिर सुरक्षाको जिम्मेवारीमा थिए । शुक्रबार ड्युटीमै रहेका बेला उनलाई अचानक चक्कर आएको थियो। उनी त्यहीँ ढलेपछि घटनास्थलमा रहेका अन्य प्रहरी तथा सुरक्षाकर्मीले तत्काल नजिकैको अस्पताल पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि उनलाई मृत घोषणा गरेका थिए । मुम्बई प्रहरीका एक अधिकारीका अनुसार चिकित्सकबाट प्राप्त प्रारम्भिक जानकारीमा उनको मृत्यु हृदयाघातका कारण भएको देखिएको छ । अस्पताल लैजाँदै गर्दा नै उनको अवस्था गम्भीर रहेको बताइएको छ ।  सलमान खानलाई पछिल्लो समय लगातार धम्की आउँदै आएका कारण उनको घरबाहिर चौबीसै घण्टा प्रहरी तथा निजी सुरक्षाकर्मी परिचालन गरिएको छ । उनको नाम गणेश रयाते रहेको र सुरक्षा टोलीमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएका थिए ।

images

८- युक्रेनको राजधानी किभनजिक रुसले गरेको रातभरको क्षेप्यास्त्र आक्रमणमा बालकसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य तीन जना घाइते भएका छन् । शनिबार बिहान राजधानी किभको पूर्वी क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको थियो । प्रत्यक्षदर्शीहरूले शक्तिशाली विस्फोटको आवाज सुनेका थिए । केही दिनअघि युक्रेनका विभिन्न क्षेत्रमा भएका रुसी आक्रमणमा २१ जनाको मृत्यु भएको थियो । क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार क्षेप्यास्त्र खस्दा त्यसबाट निस्किएको भग्नावशेषले आवासीय भवन र सवारीसाधनमा क्षति पुर्‍याएको छ । एउटा छुट्टै भवनमा आगलागी भएको थियो। उनका अनुसार क्षेप्यास्त्र आक्रमणमा तीन जना घाइते भएका छन् । किभका नगरप्रमुख भिताली क्लिच्कोले सामाजिक सञ्जालमार्फत एक भवन र इन्धन भण्डारण ट्याङ्कीमा लागेको आगो नियन्त्रण गर्न उद्धारकर्मी परिचालन गरिएको बताएका छन् । युक्रेनको राज्य आपत्कालीन सेवाले किएभमा ग्यारेज, व्यापारिक भवन र एउटा अन्य भवनमा आगलागी भएको तस्बिर सार्वजनिक गर्दै आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको जनाएको छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सर्बियाको राजधानी बेलग्रेड पुगेका छन् । रुसी क्षेप्यास्त्र आक्रमण रोक्न प्रयोग हुने प्रतिरोधी क्षेप्यास्त्रको भण्डार घट्दै गएपछि युक्रेनको प्रतिरक्षा क्षमताबारे चिन्ता बढिरहेका बेला उनको सर्बिया भ्रमण भएको हो । जेलेन्स्कीले युक्रेनका लागि थप अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेका छन् । सर्बियाका राष्ट्रपति अलेक्जान्दर भुचिचले भने रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गर्दै आएका छन् । यद्यपि सर्बियाले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउँदै आएको छ र युद्धपछि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलग्रेडमा जेलेन्स्की र भुचिचबीच आर्थिक सम्बन्ध, युरोपेली सङ्घसँगको सम्बन्ध तथा सुरक्षा विषयमा छलफल हुने तय भएको छ । यसअघि जेलेन्स्कीले साझेदार मुलुकबाट प्रतिरोधी क्षेप्यास्त्र प्रणाली प्राप्त गर्न भइरहेको ढिलाइका कारण ठूलो जनधनको क्षति भइरहेको बताएका थिए । उनले युक्रेनसँग बलियो प्रतिरोधी क्षमता भएको भए पछिल्ला घातक आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने बताएका थिए । जेलेन्स्कीले यस वर्ष सहयोगी मुलुकबाट प्राप्त हुने प्रतिरोधी क्षेप्यास्त्रको आपूर्ति उल्लेख्य रूपमा घटेको पनि बताएका छन् । पछिल्लो समय रुस र युक्रेनबीचको आक्रमण थप तीव्र भएको छ । युक्रेनले रुसको गहिरो भूभागमा रहेका दुई तेल प्रशोधन केन्द्र तथा कृष्ण सागरमा रुससँग सम्बन्धित पानीजहाजलाई समेत निशाना बनाएको थियो ।

९- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा ३ जना तथा गण्डकी र बागमतीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १०८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३७ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा १६ जना, सुदूरपश्चिममा १० जना र कर्णालीमा ७ जना घाइते भएका छन् । जेलेन्स्कीले यस्ता कारबाही रुसको युद्ध सञ्चालनका लागि प्रयोग हुने तेलबाट प्राप्त आम्दानी घटाउने उद्देश्यले गरिएको बताएका छन् । रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेका मध्यस्थता तथा वार्ता प्रयास प्रभावकारी रूपमा अघि बढ्न नसकेपछि पछिल्ला दिनमा दुवै पक्षबाट आक्रमण तीव्र भएको छ ।

images

१०- साउदी अरब, पाकिस्तान र टर्कीले एकअर्कामाथि हुने सशस्त्र आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिने गरी सामूहिक रक्षा सम्झौता गरेका छन् । क्षेत्रीय सुरक्षा चुनौती बढिरहेका बेला तीन शक्तिशाली मुस्लिम बहुल राष्ट्रबीच भएको यो सम्झौताले उनीहरूबीचको रक्षा सहकार्यलाई थप बलियो बनाउने भएको छ । साउदी अरबको पवित्र सहर मक्कामा शुक्रबार साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सम्झौतामा हस्ताक्षर गरेका हुन् । तीनै देशले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सम्झौताको पुष्टि गरेका छन् । ‘मक्का संयुक्त रक्षा सम्झौता’ नाम दिइएको यस सहमतिअनुसार तीनमध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबै तीन देशमाथिको आक्रमणका रूपमा मानिने छ । सम्झौताले तीन देशबीच रक्षा सहकार्यका सबै पक्षलाई थप विस्तार गर्ने व्यवस्था गरेको छ । साउदी अरब तेल तथा आर्थिक स्रोतका हिसाबले शक्तिशाली मुलुक हो भने पाकिस्तानसँग आणविक क्षमता र ठूलो सैन्य शक्ति छ । टर्कीसँग पनि ठूलो सेना तथा विकसित हुँदै गएको रक्षा उत्पादन क्षमता छ । यी तीन देशबीचको सहकार्यले क्षेत्रीय सुरक्षा र प्रतिरोध क्षमता बढाउने अपेक्षा गरिएको छ । साउदी अरबका महत्वपूर्ण पूर्वाधार र तेल प्रतिष्ठानहरू क्षेत्रीय द्वन्द्वका क्रममा आक्रमणको जोखिममा पर्दै आएका छन् । त्यसैले साउदी अरबले आफ्नो सुरक्षा सहकार्यलाई विभिन्न मुलुकसँग विस्तार गर्न खोजिरहेको छ । यसअघि गत सेप्टेम्बरमा पाकिस्तान र साउदी अरबबीच पनि पारस्परिक रक्षा सम्झौता भएको थियो । उक्त सम्झौतामा पनि एक देशमाथिको आक्रमणलाई अर्को देशमाथिको आक्रमणका रूपमा लिने व्यवस्था गरिएको थियो । पछिल्लो सम्झौता टर्की र इजरायलबीच गाजा तथा क्षेत्रका अन्य द्वन्द्वलाई लिएर तनाव बढिरहेका बेला भएको हो । इरान र लेबनानसँग जोडिएका क्षेत्रीय द्वन्द्व तथा बढ्दो सुरक्षा चुनौतीले पनि तीन देशलाई थप सहकार्यतर्फ धकेलेको विश्लेषण गरिएको छ । यो सम्झौताले केही वर्षअघिसम्म तनावपूर्ण रहेको साउदी अरब र टर्कीबीचको सम्बन्धमा आएको ठूलो परिवर्तनलाई समेत देखाएको छ । विशेषगरी साउदी पत्रकार जमाल खाशोग्गीको इस्तानबुलमा हत्या भएपछि दुई देशबीच सम्बन्ध निकै तनावपूर्ण बनेको थियो । सम्झौताको इरानमा भने आलोचना भएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीतिसम्बन्धी समितिका सदस्य इब्राहिम रेजाईले सम्झौताले साउदी अरबलाई वास्तविक सुरक्षा दिन नसक्ने टिप्पणी गरेका छन् ।

११- न्याय परिषद्ले उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्‌को बैठकले न्यायाधीशहरूको सरुवा सिफारिस गरेको उपसचिव कुबेर पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार न्यायाधीश किरणकुमारी गुप्तालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज, न्यायाधीश  रितेन्द्र थापालाई उच्च अदालत तुलसीपुर, नेपालगंज, न्यायाधीश सुशिल कोइरालालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज इजलास, न्यायाधीश  दलबहादुर के.सी.लाई उच्च अदालत तुलसीपुर, नेपालगंजमा सरुवा सिफारिस भएको हो ।

images

१२- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।  समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

१३- काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि छुट्टाछुट्टै बोलपत्रमार्फत करिब ६२ करोड २८ लाख रुपियाँ लागतको खरिद प्रक्रिया अगाडि बढाएको छ । विद्यालयहरूको भौतिक अवस्थालाई प्रचलित मापदण्ड अनुकुल बनाउन विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम र पूर्वाधारको आवश्यकताका आधारमा लगानी बढाएको हो । यसका लागि सहरी योजना आयोगबाट अध्ययन गरिएको थियो । अध्ययनबाट प्राप्त तथ्यका आधारमा खरिद प्रक्रिया अगाडि बढाएको हो ।  शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार महानगरले प्रत्येक विद्यालयको जीपीएस लोकेसन, विद्यार्थी र जग्गाको अनुपात, बाढी जस्ता प्राकृतिक जोखिमको अवस्था अध्ययन गरेपछि मात्र लगानीको प्रस्ताव अगाडि सारिएको र लगानीको आधार पनि यही हो ।  शिक्षा विभागका महाशाखा प्रमुख सुशिल सुवेदीका अनुसार विभिन्न विभाग र वडाबाट खरिद प्रक्रिया अगाडि बढाइएको हो । जसमा शिक्षा विभागबाट वडा नं. १४ मा रहेको जनविकास माध्यमिक विद्यालय र वडा नं. २८ मा रहेको पद्मोदय माध्यमिक विद्यालयको भवन निर्माणको प्रक्रिया अगाडि बढाएको हो । यसको लागत क्रमशः ५ करोड ६७ लाख ६८ हजार ८६२ रुपियाँ र १५ करोड ३५ लाख ८४ हजार रुपियाँ रहेको छ ।  सार्वजनिक निर्माण विभागबाट ६ वटा विद्यालयको खरिद प्रक्रिया अगाडि बढाएको छ । जसमा वडा नं. २४ मा रहेको श्री कान्ति ईश्वरी राज्यलक्ष्मी आधारभूत विद्यालय, वडा नं. २६ मा रहेको शान्ति विद्यागृह माध्यमिक विद्यालयको भवन निर्माण र वडा नं. २९ को अटिजम स्कूल निर्माण विभागले अगाडि बढाएका नवनिर्माणका ठुला योजना हुन् । यी योजनाहरुको लागत क्रमशः ५ करोड ५७ लाख ४९ हजार रुपियाँ, ८ करोड ५७ लाख ४२ हजार रुपियाँ र १० करोड ९१ लाख ७९ हजार रुपियाँ रहेको छ ।  यस्तै विभागबाट १ करोड ८३ लाख २९ हजार रुपियाँ लागतमा दरबार हाइस्कूलको वहुउद्देश्यीय सभा कक्ष, ८४ लाख १२ हजार रुपियाँ लागतमा महेन्द्र बौद्ध मा. वि. को मर्मत कार्य, ९ करोड ६२ लाख ५४ हजार रुपियाँमा कन्या माध्यमिक विद्यालयको छात्राबास र कक्षा कोठा निर्माण कार्य खरिद प्रक्रियामा गइसकेको छ ।  वडा नम्बर १३ ले १ करोड ६६ लाख ७२ हजार रुपियाँ लागतमा ज्ञानोदय मा. वि. को भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यस्तै वडा नं. ३ ले २ करोड २६ लाख ८५ हजार रुपियाँ लागतमा रानीदेवी माध्यमिक विद्यालय भवन निर्माण र वडा नं. २२ ले ७० लाख २९ हजार लागतमा आदर्श मा. वि., गणवहालको जमिन तलाको मर्मत तथा सुधार कार्यको खरिद प्रक्रिया अगाडि बढाएका छन् । जग्गाको स्वामित्वमा रहेको कानुनी जटिलता र सीमित क्षेत्रफलका कारण कुनै विद्यालयमा नयाँ भवन निर्माण गर्ने, कुनैमा मर्मत सम्भार र सुधार गर्ने त कतै कक्षा कोठा, सभा कक्ष निर्माण हुनेछ । यो, स्रोत परिचालनमा प्राविधिक र व्यवस्थापकीय कुशलता हो ।  महानगरपालिकाले सामुदायिक विद्यालयको पूर्वाधारमा गरेको यो लगानीले शैक्षिक गुणस्तरलाई अन्य क्षेत्रसँग प्रतिस्पर्धी बनाउन, सुरक्षित शैक्षिक क्रियाकलाप सुनिश्चित गर्न र प्रविधिमैत्री शैक्षिक हबका रूपमा स्थापित हुन मद्दत पुग्नेछ ।  महानगरपालिकाभित्र २ वटा कारागारमा भएका विद्यालयसहित ८३ वटा सामुदायिक विद्यालय छन् ।

१४- प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि बन्द रहेका, घाटामा सञ्चालन भइरहेका र समस्याग्रस्त राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउने सरकारको प्रयासबाट सकारात्मक परिणाम देखिन थालेको बताएका छन् । प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारीप्रति इमानदार हुँदै कानुनको कार्यान्वयन र निरन्तर समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा रहेका उद्योगमा समेत सुधार सम्भव हुने बताएका छन् । उनका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त बनाउने विषयलाई प्राथमिकतामा राख्दै सहजीकरण, उत्प्रेरणा र समन्वयमा जोड दिँदै आएको छ। यही प्रयासका कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उनको भनाइ छ । नेपाल औषधि लिमिटेडमा सुधार: वर्षौँदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको प्रधानमन्त्री शाहले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनको औषधि उत्पादनसम्बन्धी गुणस्तरीय मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको उनले उल्लेख गरेका छन्। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ । सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअनुसार आगामी तीन वर्षमा नेपाल औषधि लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ। हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी:  लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परीक्षण उत्पादनपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने तयारी गरेको छ। तान मर्मत गरेपछि परीक्षण उत्पादन सुरु भएको र केही मात्रामा कपडा उत्पादनसमेत सुरु भइसकेको प्रधानमन्त्री शाहले बताएका छन् । नेपाल वायुसेवा निगमको आम्दानी बढेको दाबी:  नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको जनाइएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो । सो अवधिमा निगमका जहाजको सिट उपयोग दर ८६ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशत बढी हो । जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत यही अवधिमा भुक्तानी गरिएको प्रधानमन्त्री शाहले बताएका छन् । दुग्ध विकास संस्थानमा बक्यौता भुक्तानीलाई प्राथमिकता:  दुग्ध विकास संस्थानले किसानलाई दिन बाँकी रकम भुक्तानीलाई प्राथमिकतामा राख्दै भुक्तानीको अवधि घटाएको जनाएको छ। यसअघि आठ महिनासम्म पुग्ने भुक्तानी चक्रलाई घटाएर दुईदेखि तीन महिनामा ल्याइएको छ । यसका लागि करिब ७२ करोड रुपैयाँको भुक्तानी चक्रलाई ३५ करोड रुपैयाँमा झारिएको जनाइएको छ। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ थप प्रोत्साहन रकमसमेत उपलब्ध गराइएको छ । सुधारका प्रयास सुरु भएपछि संस्थानको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक आम्दानी ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको प्रधानमन्त्री शाहले बताएका छन् । कानुनविपरीत विगतदेखि कर्मचारीलाई दिइँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको जनाइएको छ । दुग्ध विकास संस्थानले चाँडै खाडी मुलुकमा घ्यू, चीनमा नौनी र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको छ। नगरकोट केन्द्रबाट चीज उत्पादनसमेत पुनः सुरु गर्ने तयारी भइरहेको छ। सिंहदरबार वैद्यखानामा औषधि उत्पादन वृद्धि:  सरकार गठन भएपछि सिंहदरबार वैद्यखाना विकास समितिले ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारमा बिक्री गरेको प्रधानमन्त्री शाहले बताएका छन् । गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो । हाल वैद्यखानाले निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा काम गरिरहेको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षमा धुलो र गोली औषधि उत्पादनमा औषधि उत्पादनसम्बन्धी गुणस्तरीय मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको छ । प्रधानमन्त्री शाहले इमानदारिता र देशप्रतिको समर्पण कायम राख्न सके समस्याग्रस्त अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगमा समेत नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन् । उनले देशमा उत्पादन बढाएर आत्मनिर्भर बन्ने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको बताएका छन् ।

१५-  अन्तर्राष्ट्रिय क्रिकेटको कुनै एक स्वरूपमा पहिलोपटक पाँच हजार खेल पूरा भएको छ । यो कीर्तिमान एकदिवसीय क्रिकेटले बनाएको हो । स्कटल्यान्डमा शुक्रबार स्कटल्यान्ड र क्यानडाबीच भएको खेल एकदिवसीय क्रिकेटको पाँच हजारौँ खेलका रूपमा इतिहासमा दर्ज भएको छ । उक्त खेलमा स्कटल्यान्डले क्यानडालाई नौ रनले पराजित गरेको छ । एकदिवसीय क्रिकेटको सुरुवात सन् १९७१ मा भएको थियो । टेस्ट क्रिकेट सुरु भएको ९४ वर्षपछि एकदिवसीय स्वरूप अस्तित्वमा आएको हो । अहिलेसम्म टेस्टका २ हजार ६२९ खेल भएका छन् भने एकदिवसीयले पाँच हजार खेलको यात्रा पूरा गरेको छ । सन् १९७१ देखि हालसम्म ५५ वर्षको अवधिमा २९ देशले एकदिवसीय क्रिकेट खेलेका छन् । यही स्वरूपबाट विश्वकपको अवधारणा अघि बढेको थियो । भारतले अहिलेसम्म सबैभन्दा बढी १ हजार ८१ एकदिवसीय खेल खेलेको छ, जसमा ५७५ खेलमा जित हात पारेको छ । खेल संख्याका आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा छ भने जितका आधारमा अस्ट्रेलिया पहिलो स्थानमा रहेको छ । अस्ट्रेलियाले १ हजार २५ खेल खेल्दा ६१९ खेलमा जित हात पारेको छ । पाकिस्तानले १ हजार २ खेल खेलेको छ र ५२९ खेलमा जित हासिल गरेको छ। घरेलु मैदानमा सबैभन्दा धेरै जित अस्ट्रेलिया र भारतको नाममा छ । अस्ट्रेलियाले घरेलु मैदानमा २९८ र भारतले २३५ खेल जितेको छ । तर विदेशी भूमिमा जितका आधारमा पाकिस्तान भारतभन्दा अगाडि छ । पाकिस्तानले विदेशी भूमिमा १७१ खेल जित्दा भारतले १६९ खेलमा जित हात पारेको छ । एकदिवसीय विश्वकपका १३ संस्करण आयोजना भइसकेका छन् । अस्ट्रेलियाले सबैभन्दा धेरै ६ पटक विश्वकपको उपाधि जितेको छ । भारत र वेस्ट इन्डिजले समान दुईपटक उपाधि जितेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान भारतका सचिन तेन्दुलकरको नाममा छ । उनले ४६३ एकदिवसीय खेल खेलेका छन् । सबैभन्दा धेरै एकदिवसीय खेल खेल्ने खेलाडीको सूचीमा श्रीलंकाका चार, पाकिस्तानका तीन, भारतका दुई र अस्ट्रेलियाका एक खेलाडी छन् । एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउनेमा भारतका सचिन तेन्दुलकर पहिलो स्थानमा छन् । उनले १८ हजार ४२६ रन बनाएका छन् भने विराट कोहलीके १४ हजार ९४१ रन बनाएका छन् । त्यस्तै तेस्रोमा श्रीलंकाका कुमारा संगाकाराले १४ हजार २३४ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने कीर्तिमान विराट कोहलीको नाममा छ । उनले ५४ शतक बनाएका छन् भने सचिन तेन्दुलकर ४९ शतकसहित दोस्रो स्थानमा छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी श्रीलंकाका मुथैया मुरलीधरन हुन् । उनले ३५० खेलमा ५३४ विकेट लिएका छन् । एकदिवसीय क्रिकेटको एकै खेलमा पाँच वा सोभन्दा बढी विकेट लिने कीर्तिमान पाकिस्तानका वकार युनिसको नाममा छ । उनले १३ पटक एकै पारीमा पाँच वा त्यसभन्दा बढी विकेट लिएका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने कीर्तिमान अस्ट्रेलियाका रिकी पोन्टिङको नाममा छ । उनले कप्तानका रूपमा २३० खेल खेलेका छन् । तीमध्ये १६५ खेलमा अस्ट्रेलियाले जित हात पारेको थियो । एकदिवसीय क्रिकेटमा एक खेलको पारीमा सर्वाधिक रन बनाउने कीर्तिमान रोहित शर्माको नाममा छ । उनले सन् २०१४ मा श्रीलंकाविरुद्ध २६४ रन बनाएका थिए । रोहित शर्मा एकदिवसीय क्रिकेटमा तीनपटक दोहोरो शतक बनाउने एकमात्र खेलाडी हुन् । एकदिवसीय क्रिकेटमा सर्वाधिक ३६९ छक्का प्रहार गर्ने कीर्तिमान पनि उनकै नाममा छ । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेलाडी र शृंखलाका उत्कृष्ट खेलाडीको पुरस्कार जित्ने कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ । भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाममा भने एकदिवसीय क्रिकेटमा सर्वाधिक १२३ पटक स्टम्पिङ गर्ने कीर्तिमान छ ।

Nepal life insurance

१६- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ को प्रभावकारी कार्यान्वयन गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने योजना अघि सारेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साल चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये स्वास्थ्य क्षेत्र सुधारअन्तर्गत अस्पताल सेवाको सुधारलाई पहिलो प्राथमिकतामा राखिएको थियो । सोहीअनुसार ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ । कार्यविधि लागू भए पनि यसको प्रभावकारी कार्यान्वयन र अस्पताल सेवामा थप सुधारका लागि आवश्यक पहल गर्नुपर्ने देखिएकाले मन्त्रालयले सबै सरकारी अस्पताललाई सेवा सुधारमा सक्रिय हुन आग्रह गरेको छ । संघ, प्रदेश र स्थानीय तहअन्तर्गत रहेका सरकारी अस्पतालमध्ये कार्यविधि कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गर्ने अस्पताललाई छनोट गरी निकट भविष्यमा सम्मान तथा पुरस्कार प्रदान गर्ने मन्त्रालयको योजना रहेको छ । मन्त्रालयले सबै तहका अस्पताललाई कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्दै नागरिकको अपेक्षाअनुसार स्वास्थ्य सेवा प्रवाह सुधार गर्न आग्रह गरेको छ । मन्त्रालयले अस्पताल तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आफू प्रतिबद्ध रहेको समेत जनाएको छ ।

१७- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी पोखरा एभेन्जर्सले श्रीलंकन अलराउण्डर धनञ्जय लक्षणलाई पुन: तेस्रो सिजनका लागि पनि भित्र्याएको छ । पोखराले लक्षणलाई पुनः टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । उनले गत संस्करणमा पनि पोखराको प्रतिनिधित्व गर्दै ब्याट र बल दुवैबाट प्रभावशाली प्रदर्शन गरेका थिए । गत सिजनमा उनले ३ खेलमा १० विकेट लिएका थिए । २७ वर्षीय लक्षणले श्रीलंकाका लागि तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् भने ७० टी-२० खेल खेलेका छन् । पोखरा एभेन्जर्सले यसअघि बंगलादेशका स्टार अलराउण्ड शकिब अल हसनलाई पनि भित्र्याएको छ । कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरामा सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेल, सन्नी विक, विवेक राना मगर, सुदिप अर्याल, अर्जुन घर्ति, प्रतिक पोखरेल र विपिन आचार्यलगायतका नेपाली खेलाडी रहेका छन् । पोखराको हेड कोचमा श्रीलंकाकै अजन्था मेन्डिस रहेका छन् ।

१८- कालीकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार २०८३ साउन २२ गते अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गरिएको थियो । त्यसपछि अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी त्यहाँ रहेका सामानमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय कालीकोटमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढाइने जनाएको छ ।

१९-  कोइलीको मिठो आवाजले सबैको मन लोभ्याउछ । संसारभर हजारौँ प्रजातिका चराहरू पाइन्छन्, जसका आवाज निकै संगीतमय हुन्छन् । यी चराहरूको गीत कसरी बन्छ भन्ने विषयमा गरिएको नयाँ अध्ययनले चराका गीत पनि संगीतका सात स्वरजस्तै केही आधारभूत ध्वनिमा आधारित हुने देखाएको छ । अध्ययनअनुसार चराका गीत मूलतः आठ प्रकारका आधारभूत ध्वनि वरिपरि केन्द्रित हुन्छन् । वैज्ञानिकहरूले संसारका विभिन्न भागमा पाइने ३ हजार १६० भन्दा बढी गाउने चराका प्रजातिको अध्ययन गरेका हुन् । गाउने चराका यी प्रजातिले विश्वका कुल चराका प्रजातिको करिब ६० प्रतिशत हिस्सा ओगट्छन् । अध्ययनले चराका आवाजसँग सम्बन्धित विभिन्न पक्षबारे नयाँ तथ्य सार्वजनिक गरेको छ। यसमा समयसँगै चराका आधारभूत ध्वनिमा कसरी परिवर्तन आयो भन्ने विषय पनि समेटिएको छ । अध्ययनका अनुसार चराका आधारभूत ध्वनि करोडौँ वर्षअघि उनीहरूका प्रारम्भिक पुर्खाकै समयमा विकास भएका थिए । त्यसपछि गाउने चराका करिब ८२ प्रतिशत वंशमा ती ध्वनि पुस्तौँपुस्तासम्म विकसित हुँदै अगाडि बढेको पाइएको छ । यो अध्ययन मुख्य रूपमा फ्रान्सका वैज्ञानिकको टोलीले गरेको हो । टोलीमा सेन्ट एटिएन विश्वविद्यालय र मोन्टपेलियर विश्वविद्यालयका अनुसन्धानकर्ता सहभागी थिए । अनुसन्धानका लागि प्रयोगशाला वा प्रत्यक्ष क्षेत्रमा गएर चराका गीत रेकर्ड गरिएको भने होइन । वैज्ञानिकहरूले सामुदायिक विज्ञानसम्बन्धी तथ्यभण्डारबाट संसारभरका ३ हजार १६० भन्दा बढी प्रजातिका चराका १ लाख १६ हजारभन्दा बढी गीतको विद्युतीय तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरेका थिए । अध्ययनमा पहिचान गरिएका आठ आधारभूत ध्वनिमध्ये तीन प्रकारका सिटी र तीन प्रकारका तीव्र दोहोरिने ध्वनि विशेष रहेको बताइएको छ । तीव्र दोहोरिने ध्वनि भन्नाले एउटै प्रकारको आवाजलाई निकै छिटो दोहोर्‍याउने ध्वनिलाई जनाउछ, जुन किराको लगातार सुनिने आवाजजस्तै हुन्छ । चराको बोली र आवाजमा उनीहरू बस्ने वातावरणको पनि प्रत्यक्ष प्रभाव पर्ने अध्ययनले देखाएको छ । बाक्लो र ओसिलो जङ्गलमा बस्ने चराहरूले सामान्यतया सरल र समतल सिटी बजेजस्तो आवाज निकाल्ने गर्छन् । यस्तो आवाज बाक्ला पात, रूख र ओसिलो वातावरणबीच पनि सहज रूपमा टाढासम्म पुग्न सक्ने भएकाले उनीहरूका लागि उपयोगी हुने वैज्ञानिकहरूको भनाइ छ । यसको विपरीत, समशीतोष्ण तथा खुला क्षेत्रमा बस्ने चराहरूले तुलनात्मक रूपमा जटिल र तीव्र आवाज निकाल्ने गर्छन् । यस्ता आवाज छोटो दूरीमा सञ्चार गर्न तथा जोडी आकर्षित गर्न बढी प्रभावकारी हुने अध्ययनले देखाएको छ । अनुसन्धानका क्रममा वातावरणमा भइरहेको परिवर्तनले चराको बोलीमा समेत प्रभाव पारिरहेको स्पष्ट देखिएको वैज्ञानिकहरूले बताएका छन् । यसले चराको आवाज केवल जन्मजात विशेषता मात्र नभई उनीहरू बस्ने वातावरण र समयक्रममा हुने परिवर्तनसँग समेत जोडिएको देखाएको छ । यो अध्ययनको विस्तृत विवरण साइन्स जनरलमा प्रकाशित छ ।

२०- इङ्लिस क्लब आर्सनलले न्यूक्यासल युनाइटेडका मिडफिल्डर ब्रुनो गिमारेसलाई १० करोड डलरमा अनुबन्ध गरेको छ। न्यूक्यासलका पूर्वकप्तान गिमारेसले यसै गर्मीयाममा आर्सनल जाने इच्छा स्पष्ट पारेका थिए । २८ वर्षीय ब्राजिलियन मिडफिल्डरले आर्सनलसँग चार वर्षको सम्झौता गरेका छन्। सम्झौतामा थप एक वर्ष बढाउन सकिने विकल्पसमेत रहेको छ। आर्सनलमा जाने निर्णय आफ्नो जीवनकै कठिन निर्णयमध्ये एक भएको गिमारेसले बताएका छन् । आर्सनलमा आबद्ध हुनुअघि गिमारेस स्पेनको ला मान्गामा रहेको न्यूक्यासलको प्रशिक्षण शिविरबाट बाहिरिएका थिए। दुई क्लबबीचको छलफलमा सहमति बनेपछि उनले आर्सनलको मैदानमा पुगेर स्थानान्तरण प्रक्रिया पूरा गरेका हुन् । गिमारेस सन् २०२२ को जनवरीमा रेलिगेसनको जोखिममा रहेको न्यूक्यासलमा आबद्ध भएका थिए । त्यसपछि तत्कालीन प्रशिक्षक एडी होको नेतृत्वमा क्लबको प्रदर्शन सुधार हुँदा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । सन् २०२३ र २०२५ मा न्यूक्यासलले च्याम्पियन्स लिगमा स्थान बनाउँदा पनि उनी टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २०२५ मा लिभरपुललाई हराउँदै न्यूक्यासलले इएफएल कप जित्दा गिमारेसले कप्तानका रूपमा उपाधि उचालेका थिए । उनी सात दशकपछि न्यूक्यासलका लागि प्रमुख घरेलु उपाधि उचाल्ने पहिलो कप्तान बनेका थिए । तर गत सिजन न्यूक्यासल इङ्लिस प्रिमियर लिगमा १२औँ स्थानमा सीमित भएको थियो ।