क्यानेडियन ओपनमा विश्व नम्बर एक साबालेन्का अलेक्जान्ड्रोभाबाट पराजित

काठमाडाैं, २४ साउन  । टोरन्टोमा भएको क्यानेडियन ओपनको चौथो चरणमा रुसकी एकाटेरिना अलेक्जान्ड्रोभासँग ७-६(३), ४-६, ६-४ को सेटमा पराजित भएपछि विश्व नम्बर एक खेलाडी एरिना साबालेन्कालाई युएस ओपनको तयारीमा धक्का लागेको छ।

१६औँ वरीयताकी अलेक्जान्ड्रोभाले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न करिब साढे दुई घण्टा लामो कडा प्रतिस्पर्धा गरिन्।

चार पटककी ग्रान्ड स्लाम च्याम्पियन तथा हालकी युएस ओपन विजेता साबालेन्काले एक सेट पछि परेको अवस्थाबाट खेललाई निर्णायक सेटसम्म धकेलेकी त थिइन तर अन्तिम सेटमा अलेक्जान्ड्रोभाको आक्रामक प्रहारलाई रोक्न सकिनन्।

बेलारुसी खेलाडी साबालेन्काले पहिलो सेटको सुरुमै विपक्षीको सर्भिस तोडिन् गरिन् तर पछि अलेक्जान्ड्रोभाले खेलमा फर्किएर टाइ-ब्रेकको स्थिति सिर्जना गरिन् र उक्त टाइ ब्रेक जित्दै अग्रता लिइन्।

त्यसपछि साबालेन्काले दोस्रो सेटमा नियन्त्रण कायम गरिन्स उनले विपक्षीको सर्भिस तोडेर ४-३ को अग्रता लिइन् र अन्ततः आफ्नो सर्भिस जोगाउँदै खेल बराबरी गरिन्।

निर्णायक सेटमा साबालेन्काको गल्तीको संख्या बढ्दै जाँदा अलेक्जान्ड्रोभाले भने संयमता अपनाइन्। ४-५ को स्थितिमा खेलमा टिकिरहन सर्भिस गरिरहँदा साबालेन्काले दुई ुम्याच पोइन्टु बचाइन्, तर तेस्रो पटकमा ‘डबल फल्ट’ (लगातार दुई पटक सर्भिस गल्ती) गरेपछि जित अलेक्जान्ड्रोभाको पक्षमा गयो।

खेलपछि मैदानमै भएको अन्तर्वार्तामा अलेक्जान्ड्रोभाले भनिन्, ‘मैले हरेक पोइन्टलाई अन्तिम पोइन्ट ठानेर खेल्ने प्रयास गरें किनभने उनीविरुद्ध खेल्दा खेलको दौरान धेरै अवसरहरू पाइँदैन।’

अब अलेक्जान्ड्रोभाले युक्रेनकी एलिना स्विटोलिनाको सामना गर्नेछिन्, जसले अमेरिकी खेलाडी तथा आठौं वरीयता प्राप्त अमान्डा अनिसिमोभालाई ६-२, ६-४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्।