दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण

दक्षिण लेबनानको जौतार अल–घर्बियामा विस्फोट हुन बाँकी रहेका विस्फोटक पदार्थहरू निष्क्रिय पार्ने क्रममा तीन लेबनानी सैनिक घाइते भएका छन् ।

इजरायली सेनाले सोही क्षेत्रमा प्रवेश गरी नयाँ माटोको बाँध निर्माण गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ । स्थानीय बासिन्दाहरूले यस कार्यलाई पाइलट एरिया सम्झौताको ठाडो उल्लंघन भनेका छन् । लेबनानी सेनाको गाइडेन्स निर्देशनालयद्वारा जारी विज्ञप्तिअनुसार विस्फोटक पदार्थ व्यवस्थापनका क्रममा भएको उक्त घटनामा तीन सैनिक घाइते भएका हुन्, जसमध्ये एकको अवस्था गम्भीर छ ।

जुन महिनाको अन्त्यमा भएको लेबनान–इजरायल फ्रेमवर्क सम्झौता बमोजिम पाइलट एरिया अन्तर्गत गत जुलाई २१ देखि सो क्षेत्रमा लेबनानी सेना परिचालन गरिएको थियो ।

लेबनानको आधिकारिक समाचार एजेन्सीका अनुसार, मध्यरातमा इजरायली सैन्य टोली बुलडोजर र अन्य सवारी साधनसहित जौतार अल–घर्बियामा प्रवेश गरेको थियो । उक्त टोलीले सहरको मुख्य चोकबाट करिब १०० मिटरको दूरीमा माटोको बाँध निर्माण गरेको समाचारमा उल्लेख छ ।

यसैगरी, इजरायली सेनाले नजिकैको नबातिएह अल–फौका क्षेत्रका वन र उच्च भूभागहरूमा शनिबार बिहानसम्म छिटफुट रूपमा गोलाबारी समेत गरेको थियो ।
सीमा सुरक्षा सुदृढ गर्ने र दक्षिणी लेबनानमा लेबनानी सेनाको परिचालन प्रभावकारी बनाउने उद्देश्यले हालै रोममा सम्पन्न लेबनान–इजरायल सातौँ चरणको वार्तापछि यी घटनाहरू सार्वजनिक भएका हुन् । उक्त सम्झौताले दक्षिणी लेबनानका दुईवटा पाइलट क्षेत्रमा सेना तैनाथ गर्ने व्यवस्था गरेको छ ।