२८ गतेसम्म निकास नआए काँग्रेसले नयाँ कार्यदिशा लिन्छः नेता बस्नेत

नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्व निकास दिनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस सिन्धु–काठमाडौंद्वारा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिनुभएको हो ।

नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिनुभयो ।

 

उहाँले मुलुकमा बढ्दै गएको निरंकुशतालाई रोक्न र देशको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई सबैभन्दा ठूलो र सुदृढ शक्तिको रूपमा स्थापित गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले देशभरका युवा कार्यकर्ताहरूलाई आ–आफ्नो जिल्लामा एकीकृत भएर संगठन सुदृढीकरणको अभियान अगाडि बढाउन समेत आह्वान गर्नुभयो ।

नेता बस्नेतले भन्नुभयो, ‘मरणासन्न अवस्थामा पुगेको काँग्रेसलाई पुनर्जीवित गर्दै बलियो, सशक्त, जाँगरिलो र ठूलो काँग्रेस निर्माण गर्नु आजको आवश्यकता हो । मुलुकको भविष्य हाँक्न, सबै राजनीतिक शक्तिलाई एकतावद्ध गर्दै देशलाई निकास दिन र बढ्दै गएको निरंकुश प्रवृत्तिलाई रोक्न सक्षम कांग्रेस निर्माण गर्नुपर्छ । यदि २८ गतेसम्म गगन थापा जीले निकास दिनुभएन भने त्यसपछि पार्टीले नयाँ कार्यदिशा पनि लिनसक्छ त्यो २९ गतेबाट शुरुवात हुन्छ । काँग्रेस फुटाउन होइन, काँग्रेसलाई अझ बलियो र एकतावद्ध बनाउन नेताहरू देशभर सक्रिय भइरहनुभएको छ । यदि निर्धारित समयसम्म निकास निस्किएन भने पार्टीले नयाँ कार्यदिशा लिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले देशभर चलिरहेको यस अभियानलाई आफ्नो–आफ्नो जिल्लामा युवाहरूले एकीकृत रूपमा अघि बढाउनु नै आजको कार्यक्रमको मुख्य उद्देश्य हो । ’

वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्दै देशलाई सही निकास दिन काँग्रेसले आन्तरिक रूपमा सशक्त भुमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा छ ।