१५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने प्रश्ताव अघि सार्नुभएको छ ।
सोमवार काठमाडौंमा नेपाली कांग्रेस सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधरबिच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकतावद्ध बनाउनका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरी अघि बढ्नुपर्ने तर्क गर्नुभयो । उहाँले महाधिवेशनलाई स्वच्छ प्रतिष्पर्धाको थलो बनाउनुपर्ने र जो लोकप्रिय छ, उसैले नेतृत्व सम्हाल्ने कुरामा आफूहरू प्रस्ट रहेको उल्लेख गर्नुभयो । पार्टीभित्र नयाँ नभई स्थापित विधि र प्रक्रियालाई नै अवलम्वन गरेर महाधिवेशन सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।

नेता सिंहले भन्नुभयो, ‘१५ औँ महाधिवेशन अगाडि आइरहेको छ, त्यसलाई चैँ एकताको महाधिवेशन गरौँ भन्ने हाम्रो भनाई हो । त्यो के हो त भन्दा खेरी एकातिर चैँ विशेष महाधिवेशन पक्षधर छ भने अर्को तिर हामी चैँ नियमित महाधिवेशन पक्षधर छौँ । दुवै पक्षका चैँ के हो नेपाली काँग्रेस पार्टीलाई समग्र रूपमा अब चैँ मिलाउनको लागि के गर्नुप¥यो त भन्दाखेरी मिलाउनको लागि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट जुन आएको समिति छ त्यो समितिलाई एकै ठाउँमा त्यसलाई चैँ क्लव गरौँ, एकै ठाउँमा राखौँ । र त्यसपछि हामीले नेपाली काँग्रेसको विधि, नियम, अभ्यास, परम्परा अनुसार र नियम अनुसार चैँ के हो भन्दा महाधिवेशन गर्दाखेरी गर्नुपर्ने प्रक्रियाहरू पुरा गरेर यो चैँ फ्रि एण्ड फेयर १५ औँ महाधिवेशन गरौँ । जो पपुलर छ त्यसैले चैँ के हो भन्दाखेरी लिडरसीप चैँ लिन्छ भन्ने कुरा हाम्रो चैँ क्लियर कट भनाई रहँदै आएको छ । हामी कुनै नयाँ, यो चैँ कांग्रेसको चैँ पार्टी भित्र महाधिवेशन हुँदाखेरी निष्पक्ष तवरले हुनको लागि हुनुपर्ने विधि प्रक्रिया जो छ त्यो प्रक्रियालाई चैँ पुरा गरौँ भन्ने हाम्रो भनाई हो ।’

कार्यक्रममा नेता सिंहले नेपाली काँग्रेसको आन्तरिक एकता मजबुत बनाउनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा समेत जोड दिनुभयो ।