
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्रका नेताहरूको आलोचना गरेर उनीहरूलाई थप महत्व नदिन कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
सोमवार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले पार्टीका सभापति गगन थापाप्रति लक्षित गर्दै गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने बताउनुभएको हो ।
अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न नसकिने तर्क गर्दै उहाँले कांग्रेस आफैँमा एक सुन्दर र गौरवशाली इतिहास भएको पार्टी भएको दाबी गर्नुभयो ।


नेपाली काँग्रेसलाई ‘बुढाहरूको पार्टी’ भन्ने गरिएको आरोपप्रति टिप्पणी गर्दै कोईरालाले अबको भविष्य युवाहरूकै भएको र उनीहरूलाई नै नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिनुभयो । काँग्रेसको ऐतिहासिक योगदानको चर्चा गर्दै नेता कोईरालाले वीपी कोईराला र कृष्णप्रसाद कोईरालाको संघर्षले नै नेपाली जनताले अधिकार प्राप्त गरेको स्मरण गराउनु भयो ।

नेता कोईरालाले भन्नुभयो, ‘अब हामीलाई आरोप लगाइन्छ भने यो सब बुढाहरूको पार्टी हो भनेर । र भविष्य तपाईंहरूको हो । हामी त बुढा भइसक्यौँ । कुन दिन माथि जान्छौँ । त्यसैले तपाईंहरूलाई तयारीका साथ हामीले तपाईंहरूलाई तयार पार्नुपर्छ । नेपाली काँग्रेस भनेको के हो ? पहिले त्यो राम्ररी बुझ्नुप¥यो । हेर्नुस्, अरूलाई कुरूप देखेर आफू सुन्दर हुँदैन । आफूलाई नै सुन्दर पार्नुप¥यो । त्यहीअनुसार नेपाली काँग्रेस अत्यन्त सुन्दर पार्टी हो । यसको इतिहास सुन्दर छ । ७० वर्षदेखि मलाई त छक्क लाग्छ कि यत्रो संघर्ष वीपी कोईरालाले उहाँका पिताजी कृष्णप्रसाद कोईरालाले शुरु गर्नुभएको । कत्रो संघर्ष, जीवनभर संघर्ष गर्नुभयो । केको लागि भनेको हाम्रो अधिकार दिलाउनको लागि ।
अधिकारबाट वञ्चित नहुनको लागि । स्वतन्त्र पार्नको लागि। नेपाललाई परिचय दिनको लागि राष्ट्रिय मञ्चमा कि नेपाल पनि एउटा देश हो भनेर । म तपाईंलाई स्मरण गराउन चाहन्छु, पहिलो नेपाल यस्तो राष्ट्र हो जसलाई इजरायलले, पहिलो एशियन कन्ट्री हो जसले रिकग्नाइज ग¥यो इजरायललाई वीपी कोईरालाले । किनभने उहाँले उहाँले उनीहरूको संघर्ष बुझ्नुभएको थियो । यहुदीहरूलाई जुन दमन गर्या थे सेकेन्ड वल्र्ड वारमा यहुदीहरूमाथि यत्रो अत्याचार भएको थियो । त्यो उहाँले पीडा बुझ्नुभएको थियो ।

हो त्यस्तै गरी धेरै ऐतिहासिक कामहरू नेपाली काँग्रेसले गरेका छन् । त्यसैले मैले अघि भनेँ नि अरूलाई कुरूप हेरेर आफू सुन्दर हुँदैन । हामी गगन थापालाई किन गाली गर्छौँ ? गाली गर्नै पर्दैन । हैन र ? गाली ग¥यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ । त्यसैले किन तपाईंहरू गाली गर्नुहुन्छ ? केही भन्दै नभन्नुस् । त्यो नै सबभन्दा ठूलो अपमान हो । अब अब अरू के भनौँ ? हेर्नुस्, मैले आफ्नो जीवनमा आज मलाई अत्यन्त अप्ठ्यारो ठाउँमा उभाइदिनुभएको छ नेताहरूले । संयोजक बनाएर । म म एक्लो मान्छे हो । तर म के चाहन्छु भने सबै समावेश गरेर। त्यसैले पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो ।’
आफूलाई पार्टीले अहिले कठिन परिस्थितिमा संयोजकको जिम्मेवारी सुम्पेको उल्लेख गर्दै डा. कोईरालाले सबै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो । उहाँले पार्टीको इतिहास र सिद्धान्तलाई गहिराइपूर्वक बुझेर अघि बढ्न कार्यकर्ताहरूलाई आह्वान समेत गर्नुभयो ।





