आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरिएको हो । टोलीमा अनिलकुमार साह, त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् । अस्ट्रेलियाको उत्तरी भूभाग क्रिकेटले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट २० देखि ३० सम्म डार्विनमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालले अगस्ट २१ मा उत्तरी भूभाग स्ट्राइकसँग पहिलो खेल खेल्नेछ । त्यसपछि अगस्ट २२ मा बंगलादेश, अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितापछि नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामै दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ टोलीसँग मैत्रीपूर्ण शृंखला खेल्ने क्यानले जनाएको छ ।

२- पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव भोलि काठमाडौं ल्याइने भएको छ । गत साउन १४ गते गएको भयावह हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत भोलि दिउँसो ४: ४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने साउन २१ गते नै नेपाल ल्याइसकिएको मन्त्रालयले जनाएको छ। त्यसैगरी दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको शव भने उनको पारिवारिक बसोबास रहेको बेलायत लागिएको छ । दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशल कुमार धोवीसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार वडा अध्यक्ष धोवी, वडा सचिव वीर बहादुर थापा मगर तथा विकास कुमार चापागाईँ र रविन्द्र लामिछानेसमेतको मिलेमतोमा सरकारी कागजात सच्याएर गैरकानुनी लाभ लिने प्रयास भएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानका क्रममा २०७९ साउन १० गते रविन्द्र लामिछाने र विकास कुमार चापागाईँबीच भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नम्बर ९९८ को १६४ दशमलव १४ वर्गमिटर जग्गा खरिदका लागि ७० लाख रुपैयाँ लेनदेन भएको झुट्टा तथा नक्कली करारनामा तयार गरिएको पाइएको आयोगले जनाएको छ । उक्त करारनामालाई नेपालगन्ज उपमहानगरपालिका–२० को वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को लिखत प्रमाणित दर्ता किताबमा पछि सच्याई थपघट गरी प्रमाणित गरिएको तथा सरकारी छापसमेत दुरुपयोग गरिएको आयोगको दाबी छ । त्यस्तै, वडा अध्यक्ष धोवी र वडा सचिव थापा मगरले पदको दुरुपयोग गरी २०८३ असार २९ गतेको चलानी नम्बर ७२४० को विवरणसमेत फेरबदल गरेर चलानी नम्बर ७२४२ मा झुट्टा विवरणसहितको गलत लिखत तयार गरी आयोगमा पठाएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ । उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुर भएको दाबी गर्दै आयोगले कानुनबमोजिम सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

४-  सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपले अगस्त ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा हुने एसीसी प्रिमियर कपदेखि लागु हुनेगरि एकदिवसीय टिमको कप्तानी गर्ने भएका हुन् । साथै क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । जसमा भीम सार्की, नन्दन यादव, कुशल भिर्तेल, सोमपाल कामी लगायतका खेलाडीलाई बाहिर राखिएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

५- स्कटल्यान्ड क्रिकेट र नेदरल्यान्ड्स क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पुरुष एकदिवसीय विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिता संरचनामा गरेको ठूलो परिवर्तनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । दुवै क्रिकेट संघले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वकप सुरु हुन १८ महिनाभन्दा कम समय बाँकी रहँदा संरचना परिवर्तन गर्नु एसोसिएट सदस्य राष्ट्रका लागि अन्यायपूर्ण भएको बताएका छन् । उनीहरूले यसबाट उदीयमान क्रिकेट राष्ट्रलाई विश्वकपमा पुग्ने अवसर घट्ने र विश्व क्रिकेट विस्तार गर्ने प्रयासमा असर पर्ने बताएका छन् । दुवै संघले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग सहकार्य गर्न आफूहरू तयार रहेको जनाउँदै यस्ता महत्वपूर्ण निर्णय गर्नुअघि सम्बन्धित सदस्य राष्ट्रसँग पर्याप्त छलफल र परामर्श हुनुपर्ने बताएका छन् । छोटो समयको सूचनामा छनोट संरचना परिवर्तन गर्दा खेलाडीको तयारी, आर्थिक योजना तथा अन्य व्यवस्थापनमा समस्या पर्ने उनीहरूको भनाइ छ । परिवर्तनको घोषणापछि स्कटल्यान्ड, नेदरल्यान्ड्स र अन्य एसोसिएट सदस्यले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग दुई पटक छलफल गरेका थिए । उनीहरूले लिखित जानकारी, निर्णय प्रक्रियाबारे स्पष्टता तथा भविष्यमा सदस्य राष्ट्रसँग प्रभावकारी छलफलको माग गरेका थिए । तर दोस्रो छलफल भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि परिषद्बाट थप प्रतिक्रिया नआएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । स्कटल्यान्ड र नेदरल्यान्ड्सले विश्वकपमा सहभागी हुने अवसरले एसोसिएट राष्ट्रमा लगानी बढाउन, खेलाडीलाई प्रेरित गर्न, व्यावसायिक साझेदार आकर्षित गर्न तथा क्रिकेटको लोकप्रियता विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा एसोसिएट राष्ट्रले स्थापित टोलीलाई चुनौती दिएका तथा पराजित गरेका क्षणहरू विश्व क्रिकेटका महत्वपूर्ण उपलब्धि भएको स्मरण गराउँदै खेलाडीको मेहनतको सम्मान गर्न आग्रह गरेका छन् । दुवै संस्थाले विश्व क्रिकेटलाई वास्तविक रूपमा विश्वव्यापी बनाउन उदीयमान राष्ट्रलाई ठूला प्रतियोगितामा छनोट हुने र प्रतिस्पर्धा गर्ने पर्याप्त तथा निष्पक्ष अवसर दिनुपर्ने बताएका छन् । साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई एसोसिएट सदस्यसँग पुनः छलफल गरी सबै सदस्यको हित हुने दीर्घकालीन योजना बनाउन आग्रह गरेका छन् ।

६- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन चुनौती दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूविरुद्ध गम्भीर आरोप लगाइएको भन्दै संसदको स्वास्थ्यसम्बन्धी निकाय तथा चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरेका हुन् । उनले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरे । उनले भने- ‘माथि खाइ न पाइ छालाको टोपी लाई भन्ने उखान चरितार्थ भएको छ । ममाथि गम्भीर किसिमका आरोपहरू लगाइएका छन् । रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएको छ ।’ उनले अगाडी भने- ‘यदि त्यो भिडियो मेरो होइन, गलत सूचना दिइयो भने प्रहरीले कारबाही किन गरेको छैन ? सरकारले त्यस्ता व्यक्तिलाई कारबाही किन गरेको छैन ? यसको जवाफ माग्छु म । किनभने प्रहरीलाई निवेदन दिइसकेका छौँ ।’

७- परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतसँग भएको १८१६ को सुगौली सन्धि र भारतसँग भएको १९५० को नेपाल-भारतमैत्री सन्धिका औपचारिक सम्झौताको रेकर्ड सरकारसँग भए नभएको यकिन नभएको बताएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री खनालले बेलायतसँगको १८१६ को सुगौली सन्धि र भारतसँगको १९५० को नेपाल-भारत मैत्री सन्धिको रेकर्ड भए नभएको यकिन नभएको बताएका हुन् ।  उनले जवाफ दिदै भने- ‘मेरो जानकारीमा आएअनुसार हामीसँग १८१६ को सुगौली सन्धि र १९५० सँग सम्बन्धित केही दस्ताबेजहरू छन् । तर, सन्धिको औपचारिक दस्ताबेज छन् या छैनन् भन्ने नेपाल सरकारसँग एकीन जानकारी छैन ।’  उनले राष्ट्रिय अभिलेखालयमा केहि दस्ताबेजहरू रहेको जानकारी भए पनि ती सम्झौताका औपचारिक रेकर्ड हुन् या होइनन् भन्ने हालसम्म यकिन नभएको बताए ।

images

८-  प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उहाँहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए । त्यस्तै राजदूत माओमिङले पनि प्रधानमन्त्रीज्यूलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

९- धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् । सोमबार प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी हुन् । मन्त्री मेहताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको छ । लहानस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान,आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार रहेकाले त्यहाँ तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री मेहताले बताएकी छन् । उनले भनिन्- ‘लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन। नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो ।’ मन्त्री मेहताले एक ठाउँमा दीर्घकालीन स्वास्थ्य संरचना निर्माण भइरहँदा अर्को ठाउँमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको बताउदै सरकारको नीति नै आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको बताएकी थिइन् ।

images

१०- नेप्सेमा आजपनि गिरावट आएको छ । आज सोमबार नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका एक करोड ९ लाख ६६ हजार ७४५ कित्ता शेयर ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ मा कारोबार भएको थियो । आज हाइड्रो, उत्पादन, माइक्रोफाइनान्स र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ८.४७ प्रतिशतले बढेको छ भने दारमखोला हाइड्रोको शेयर ६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायबल समृद्धि योजनाको ९.७० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ४६ करोड ३७ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २९ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

११- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन २४ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई गरेको छ । जस अनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म १९ करोड ७१ लाख ६ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ७ लाख १५ हजार १९८ टिकट बिक्री गरेको छ ।

images

१२- नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई कालो चश्मा खोल्न आग्रह गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्री शाहलाई साथ दिन प्रतिपक्ष तयार रहेको बताउदै कालो चश्मा खोलेर हेर्न आग्रह गरेकी हुन् । उनले भनिन्-‘कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ ।’ सांसद काउचाले विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने भन्दै संसदमा आएर स्पष्टीकरण दिन माग गरेकी छन् । उनले प्रश्न सोध्नु घेराबन्दी नभएको बताउदै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भन्ने अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो ? भन्ने प्रश्न गरेकी थिइन् । सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको प्रश्नले प्रधानमन्त्रीको साखलाई कमजोर बनाइरहेको बताउदै उनले संसद्को रेकर्डमा रहेको विवादास्पद अभिव्यक्तिलाई सच्याएर सभामुख र प्रधानमन्त्रीको गरिमा बचाउन आग्रह गरेकी थिइन् ।

१३- शक्तिशाली आँधी ‘डल्फिन’ चीनको पूर्वी क्षेत्रमा प्रवेश गरेपछि सांघाईसहित विभिन्न स्थानबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । झेजियाङ प्रान्तमा आँधी प्रतिघण्टा १५० किलोमिटरसम्मको वेगमा प्रवेश गरेको थियो । आँधीका कारण सांघाईमा मात्रै १ हजार ४ सय उडान रद्द भएका छन् भने यातायात सेवा प्रभावित भएको छ । चीनका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेकाले बुधबारसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ । झेजियाङको वनचौमा मात्रै करिब ९ लाख र ताइचौमा ३ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण सांघाईका केही पर्यटकीय क्षेत्र बन्द गरिएका छन् । झेजियाङमा आगामी केही दिनमा २५० देखि ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । ‘डल्फिन’ले चीन पुग्नुअघि फिलिपिन्स, ताइवान र जापानको ओकिनावामा समेत भारी वर्षा र हावाहुरी गराएको थियो । फिलिपिन्समा आँधी र वर्षाका कारण ८ जनाको मृत्यु भएको छ भने हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

१४- विश्वमा आर्थिक असमानताको खाडल पनि झन् गहिरिँदै गएको एक अध्ययनले देखाएको छ । अक्सफामले सार्बजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०१५ देखि २०२५ सम्म विश्वका सबैभन्दा धनी १ प्रतिशत मानिसको कुल सम्पत्ति ३४ खर्ब अमेरिकी डलरभन्दा बढीले बढेको छ । तर सोही अवधिमा अत्यन्त गरिबीमा रहेका मानिसको संख्या अपेक्षित गतिमा घट्न सकेको छैन । यही बढ्दो असमानताबीच अर्थशास्त्री तथा विभिन्न क्षेत्रका विज्ञहरूले ‘आर्थिक वृद्धिभन्दा बाहिर गरिबी उन्मूलनको मार्गचित्र’ तयार गर्दै अहिले अपनाइएको विकासको ढाँचामाथि प्रश्न उठाएका छन् । उनीहरूले आर्थिक वृद्धि मात्रै गरिबी हटाउने पर्याप्त आधार हुन नसक्ने बताएका छन् । फोर्ब्सका अनुसार सन् २०२० को जनवरीमा विश्वका धनी व्यक्त एलन मस्कको सम्पत्ति करिब २८ अर्ब अमेरिकी डलर थियो र उनी विश्वका ३५औँ धनी व्यक्ति थिए । त्यसपछि उनको सम्पत्तिमा तीव्र वृद्धि हुँदै अहिले १.११ खर्ब अमेरिकी डलर पुगेको छ । अक्सफामका अनुसार मस्कको व्यक्तिगत सम्पत्ति मात्रै विश्वको सबैभन्दा गरिब ४६ प्रतिशत जनसंख्या अर्थात् करिब ३ अर्ब ८० करोड मानिसको संयुक्त सम्पत्तिभन्दा बढी छ । सन् २०२५ मा विश्वभर अर्बपतिको संख्या पनि ३ हजारभन्दा माथि पुगेको थियो । अर्कोतर्फ विश्वका धेरै देशमा गरिबी र आधारभूत सार्वजनिक सेवाको संकट अझै कायम छ । संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनका अनुसार विश्वभर करिब ३ अर्ब ४० करोड मानिस त्यस्ता देशमा बस्छन्, जहाँ सरकारले स्वास्थ्य र शिक्षामा गर्ने खर्चभन्दा ऋणको ब्याज तिर्न बढी रकम खर्च गर्नुपर्छ । सन् १९९० पछि विश्वमा अत्यन्त गरिबीमा रहेका मानिसको संख्या घटे पनि त्यो कमी अपेक्षित गतिमा हुन सकेको छैन । यसले आर्थिक वृद्धि हुँदै जाँदा त्यसको लाभ स्वतः समाजका सबै वर्गसम्म पुग्छ भन्ने मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ । यस अवस्थाले आर्थिक वृद्धिको दर मात्र हेरेर मुलुकको विकास मापन गर्नु पर्याप्त नहुने देखाएको छ । सम्पत्तिको वितरण, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा समान पहुँच सुनिश्चित नगरेसम्म आर्थिक वृद्धिले समाजमा रहेको असमानता घटाउनुको सट्टा अझ बढाउन सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् ।

१५- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटवार्ता अहिले जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहले आजै दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तयारी रहेको छ । प्रधानमन्त्री शाहले राजदुतहरुसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेको यो पहिलो पटक हो । प्रधानमन्त्री शाहले यसअघि गत चैत २५ गते नेपालका लागि विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेटवार्ता गरेका थिए । यसअघि प्रधानमत्री शाहले विदेशी राजदुत र उच्च अधिकारीहरुलाई भेट्न अस्वीकार गर्दै आएका थिए ।

Nepal life insurance

१६- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रोपाइँ सकिन लाग्दासमेत मधेससहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रचण्डले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा किसानले सहज रूपमा मल पाउन नसकेको बताएका छन् । उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समान रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको उनको भनाइ छ । नेपालमा रासायनिक मल आयातको प्रक्रिया जटिल रहेकाले यसको समयमा नै पूर्वतयारी गर्नुपर्ने प्रचण्डले बताएका छन्। आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले मल आयात र वितरणको गम्भीरतालाई बुझेर समयमा नै मलको आपूर्ति तथा वितरण गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत आवश्यक बजेट सुनिश्चित गरेको उनले स्मरण गरेका छन् । प्रचण्डले सरकारलाई रासायनिक मल आयातको प्रक्रिया यथाशीघ्र पूरा गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न आग्रह गर्दै आगामी वर्षका लागि समेत आवश्यक तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गरी किसानलाई सहज, पारदर्शी र समान रूपमा मल वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

१७- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४६७० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४६४५ मा कारोबार भएको थियो ।

१८- अल्जेरिया, मोरक्को, क्यामरुन र मलावी सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकप फुटबलका लागि छनोट भएका छन् । मोरक्कोमा जारी महिला अफ्रिका कप प्रतियोगिता विश्वकप छनोटको आधारसमेत बनेको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारवटै टोलीले सिधै विश्वकपमा स्थान बनाउने व्यवस्था गरिएको थियो । अल्जेरियाले १० खेलाडीमा सीमित आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै पहिलोपटक महिला विश्वकपमा स्थान बनाएको हो । आयोजक मोरक्कोले दक्षिण अफ्रिकालाई २-१ ले हराएर विश्वकपमा स्थान पक्का गरेको छ । त्यस्तै क्यामरुनले नाइजेरियालाई १-० ले पराजित गर्दै विश्वकपमा स्थान बनायो ।  अर्को खेलमा विश्व वरीयतामा १५३औँ स्थानमा रहेको मलावीले घानालाई २-१ ले हराउँदै ठूलो उलटफेर गर्‍यो । महिला अफ्रिका कपको सेमिफाइनल बुधबार हुनेछ । पहिलो खेलमा मोरक्कोले क्यामरुनको सामना गर्नेछ भने अर्को खेलमा अल्जेरिया र मलावी भिड्नेछन् । क्वार्टरफाइनलमा पराजित घाना, आइभरी कोस्ट, नाइजेरिया र दक्षिण अफ्रिकासँग पनि विश्वकपमा पुग्ने अवसर कायमै छ । बिहीबार आइभरी कोस्टले घानासँग तथा नाइजेरियाले दक्षिण अफ्रिकासँग खेल्नेछन् । ती खेलका विजेता टोलीले नोभेम्बर र डिसेम्बरमा हुने अन्तरमहादेशीय छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । अन्तरमहादेशीय छनोटमा सहभागी १० टोलीमध्ये तीन टोलीले आगामी विश्वकपमा स्थान बनाउनेछन् । महिला विश्वकप सन् २०२७ जुन २४ देखि जुलाई २५ सम्म ब्राजिलमा आयोजना हुनेछ । युरोपेली छनोटबाट पनि इङ्ल्यान्ड, आयरल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डसँग विश्वकपमा पुग्ने अवसर बाँकी छ । युरोपेली छनोट अक्टोबरदेखि डिसेम्बरसम्म सञ्चालन हुनेछ । विश्वकपमा पुग्न यी टोलीले दुई चरणका दुई खेलको छनोट पार गर्नुपर्नेछ । सन् २०२७ को महिला विश्वकपमा ३२ टोली सहभागी हुनेछन्, जसमा अहिलेसम्म १८ टोलीले विश्वकपमा स्थान पक्का गरिसकेका छन् । हालसम्म छनोट भएका टोलीहरू : अफ्रिका: अल्जेरिया, क्यामरुन, मलावी र मोरक्को । एसिया: अस्ट्रेलिया, चीन, जापान, उत्तर कोरिया, फिलिपिन्स र दक्षिण कोरिया । युरोप: डेनमार्क, फ्रान्स, जर्मनी र स्पेन । ओसिनिया: न्युजिल्यान्ड । दक्षिण अमेरिका: अर्जेन्टिना, ब्राजिल र कोलम्बिया ।

१९- दुई पटकको विश्वविजेता वेस्टइन्डिज फेरि एकपटक एकदिवसीय विश्वकपमा सिधै छनोट हुन असफल हुने अवस्थामा पुगेको छ । सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन वेस्टइन्डिजले अब छनोट प्रतियोगिताको बाटो समाउनुपर्ने सम्भावना बलियो बनेको छ । ५० ओभरको क्रिकेटमा लगातार कमजोर प्रदर्शन गरिरहेको वेस्टइन्डिजका लागि यो लगातार तेस्रो विश्वकप चक्र हो, जहाँ टोली सिधा छनोटको दौडबाट बाहिरिने अवस्थामा पुगेको छ । अफगानिस्तानले आयरल्यान्डविरुद्ध जारी पाँच खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा जित हात पारेपछि वेस्टइन्डिजको अवस्था थप कठिन बनेको हो । अफगानिस्तानको जितले सिधा छनोटको दौडमा उसको स्थान बलियो बनाएको छ भने वेस्टइन्डिजका लागि शीर्ष आठमा पुग्ने बाँकी सम्भावना पनि लगभग समाप्त भएको छ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन् । आयोजकका रूपमा दक्षिण अफ्रिका र जिम्बाब्वेले सिधै विश्वकपमा स्थान बनाउनेछन् । त्यसबाहेक अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एकदिवसीय वरीयताका आधारमा थप आठ टोलीले सिधै विश्वकप खेल्नेछन् । सिधा छनोटका लागि वरीयताको अन्तिम मिति सन् २०२६ सेप्टेम्बर ३० तोकिएको छ । न्युजील्यान्डविरुद्धको एकदिवसीय सिरिजपछि वेस्टइन्डिज ७३ अंकसहित १०औँ स्थानमा झरेको थियो । बंगलादेश ८३ अंकसहित नवौँ तथा अफगानिस्तान ९० अंकसहित सातौँ स्थानमा रहेको थियो । वेस्टइन्डिजका लागि यस्तो अवस्था नयाँ भने होइन । सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि टोली सिधै छनोट हुन सकेको थिएन । छनोट प्रतियोगिता खेलेर उसले मुख्य प्रतियोगितामा स्थान बनाएको थियो । तर सन् २०२३ को विश्वकपमा वेस्टइन्डिजले अझ ठूलो धक्का बेहोरेको थियो । छनोट प्रतियोगितामै बाहिरिएपछि टोलीले मुख्य विश्वकप खेल्न पाएन । जिम्बाब्वेमा भएको छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा जिम्बाब्वे र नेदरल्यान्ड्ससँग पराजित भएपछि वेस्टइन्डिजको विश्वकप यात्रा कठिन बनेको थियो । त्यसपछि स्कटल्यान्डसँगको हारले पहिलोपटक वेस्टइन्डिज विश्वकपबाट बाहिरिने अवस्था बनेको थियो । अब सन् २०२७ को विश्वकपअघि पनि टोलीले छनोट प्रतियोगिताबाटै मुख्य प्रतियोगितामा पुग्नुपर्ने अवस्था देखिएको छ ।  अफगानिस्तान र आयरल्यान्डबीचको सिरिज वेस्टइन्डिजका लागि निकै महत्वपूर्ण थियो । आयरल्यान्डलाई सिधा छनोटको दौडमा रहन पाँच खेलको सिरिज ५-० ले जित्नुपर्ने जस्तो कठिन अवस्था थियो । तर पहिलो खेल वर्षाका कारण रद्द भएपछि आयरल्यान्डको सम्भावना निकै कमजोर बनेको थियो । त्यसपछि दोस्रो खेलमा अफगानिस्तानले आयरल्यान्डलाई ९२ रनले पराजित गर्‍यो । यो जितसँगै अफगानिस्तानको स्थिति थप बलियो बनेको छ भने वेस्टइन्डिजको सिधा छनोट हुने सम्भावना लगभग समाप्त भएको छ । वेस्टइन्डिजले सेप्टेम्बरको अन्त्यमा भारतविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । पहिलो खेल सेप्टेम्बर २७, दोस्रो सेप्टेम्बर ३० र तेस्रो खेल अक्टोबर ३ मा हुनेछ । वेस्टइन्डिजले भारतविरुद्धको सिरिज ३-० ले नै जिते पनि सिधा छनोटको समीकरण उसको पक्षमा फर्किने अवस्था छैन । सेप्टेम्बर ३० को अन्तिम मितिसम्म टोलीको वरीयता निकै कमजोर भइसकेकाले अब सन् २०२७ को विश्वकपमा पुग्न छनोट प्रतियोगितामै निर्भर हुनुपर्ने सम्भावना देखिएको छ । सन् १९७५ र १९७९ मा लगातार दुई पटक एकदिवसीय विश्वकप जितेको वेस्टइन्डिज अहिले लगातार छनोटको संघर्षमा फस्नु टोलीको खस्किँदो प्रदर्शनको स्पष्ट संकेत हो । सन् २०२३ को विश्वकप गुमाएको वेस्टइन्डिजले सन् २०२७ को विश्वकपमा स्थान बनाउन पनि अब लामो बाटो तय गर्नुपर्ने देखिएको छ ।

२०-  नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई पार्टीभित्रको सम्पूर्ण एकताका लागि तत्काल पहल गर्न विशेष आग्रह गरेका छन् । खड्काले सामाजिक सञ्जालमार्फत पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसका नेता तथा कार्यकर्ताबीच सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति चिन्ता व्यक्त गर्दै एकताको पहल गर्न सभापति थापालाई आग्रह गरेका हुन्। उनले मुलुकको राष्ट्रियता संकटपूर्ण अवस्थामा रहेको र लोकतान्त्रिक संविधानमाथि चुनौती देखिएको भन्दै यस्तो अवस्थामा कांग्रेसको सम्पूर्ण एकता नै अहिलेको पहिलो आवश्यकता भएको बताएका छन् । पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गर्दै संवाद र सहमतिमार्फत बलियो एकता कायम गर्नुपर्ने उनको भनाइ छ । व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ पार्टी एकताका लागि निर्णायक रूपमा अघि बढ्न उनले सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सालाई पार्टी एकताका लागि अन्तिम अवसरका रूपमा लिनुपर्ने खड्काले बताएका छन् । उनले सभापति गगन थापालाई विशेष आग्रह गर्दै भनेका छन्- ‘तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रपंक्तिमा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ ।’ पार्टी एकताका लागि वातावरण निर्माण गर्न कांग्रेस तथा भ्रातृ र शुभेच्छुक संस्थाका सबै तहका नेता तथा कार्यकर्तालाई पनि खड्काले अपिल गरेका छन् । राष्ट्र रहे बहुदलीय लोकतन्त्र, पार्टी र आफूहरूको अस्तित्व रहने भन्दै उनले सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोप र गालीगलौज बन्द गर्न आग्रह गरेका छन् ।