आयरल्यान्डलाई हराउँदै अफगानिस्तान एकदिवसीय विश्वकपमा, वेस्ट इन्डिजले छनौट खेल्नुपर्ने

काठमाडौँ । अफगानिस्तानले आयरल्यान्डलाई तेस्रो एकदिवसीय खेलमा तीन विकेटले हराउँदै सन् २०२७ को एकदिवसीय विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ ।

आयरल्यान्डले दिएको २०७ रनको लक्ष्य अफगानिस्तानले ४४.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । अफगानिस्तान एक समय ९७ रनमा दुई विकेटको अवस्थामा रहे पनि १७६ रनमा सात विकेट गुमाएपछि खेल रोमाञ्चक बनेको थियो । राशिद खानले अविजित ३७ रन बनाए भने यामिन अहमदजई चार रनमा अविजित रहे ।

यस जितसँगै अफगानिस्तान विश्व वरीयताको शीर्ष आठभित्र पर्दै विश्वकपमा सिधै छनोट भएको हो । यो अफगानिस्तानको चौथो एकदिवसीय विश्वकप सहभागिता हुनेछ ।

दक्षिण अफ्रिका र जिम्बाब्वेसहित हुने सन् २०२७ को विश्वकपमा शीर्ष आठ टोलीले सिधै स्थान बनाउनेछन् । अफगानिस्तानसँगै अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, इंग्ल्यान्ड र बंगलादेशले पनि सिधा छनोटको स्थान सुरक्षित गरेका छन् । यसैबीच, दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले भने छनोट प्रतियोगिता खेलेर मात्र विश्वकपमा पुग्न पाउने भएको छ ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन् । आयोजकका रूपमा दक्षिण अफ्रिका र जिम्बाब्वेले सिधै विश्वकपमा स्थान बनाउनेछन् ।  सिधा छनोटका लागि वरीयताको अन्तिम मिति सन् २०२६ सेप्टेम्बर ३० तोकिएको छ ।

वेस्टइन्डिजका लागि यस्तो अवस्था नयाँ भने होइन । सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि टोली सिधै छनोट हुन सकेको थिएन । छनोट प्रतियोगिता खेलेर उसले मुख्य प्रतियोगितामा स्थान बनाएको थियो । तर सन् २०२३ को विश्वकपमा वेस्टइन्डिजले अझ ठूलो धक्का बेहोरेको थियो । छनोट प्रतियोगितामै बाहिरिएपछि टोलीले मुख्य विश्वकप खेल्न पाएन ।

जिम्बाब्वेमा भएको छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा जिम्बाब्वे र नेदरल्यान्ड्ससँग पराजित भएपछि वेस्टइन्डिजको विश्वकप यात्रा कठिन बनेको थियो । त्यसपछि स्कटल्यान्डसँगको हारले पहिलोपटक वेस्टइन्डिज विश्वकपबाट बाहिरिने अवस्था बनेको थियो । अब सन् २०२७ को विश्वकपअघि पनि टोलीले छनोट प्रतियोगिताबाटै मुख्य प्रतियोगितामा पुग्नुपर्ने भएको छ ।