
गाजा, २६ साउन। प्यालेस्टिनीहरू विरुद्ध इजरायलले गरेको नरसंहारकारी युद्धका कारण करिब तीन वर्षसम्म रोकिएका खेलकुद गतिविधिहरू सेप्टेम्बरदेखि पुनः सुरु गर्ने प्यालेस्टिनी फुटबल संघले घोषणा गरेको छ।
संघका अध्यक्ष जिब्रिल राजुबले सोमबार रामल्लाहमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी सेप्टेम्बर ४ देखि खेलकुद गतिविधि र फुटबल संघको लिग पुनः सुरु गर्ने घोषणा गर्दछौं।’

७ अक्टोबर २०२३ मा युद्ध सुरु भएपछि व्यावसायिक फुटबललगायत प्यालेस्टिनी खेलकुद प्रतियोगिताहरू सबै रोकिन पुगेका थिए । संघको तथ्यांक अनुसार युद्धका क्रममा इजरायलद्वारा मारिएका १ हजार १४ प्यालेस्टिनी खेलाडीहरूको सम्मानमा संघले पुनः सुरु हुन लागेको पहिलो प्रतियोगिताको नाम ‘थाउजन्ड मार्टियर्स कप’ अर्थात हजारौं सहिदहरूको कप राखेको छ।


यस प्रतियोगितामा २०० भन्दा बढी क्लबहरूले प्रतिस्पर्धा गर्नेछन्, जसमा इजरायलको कब्जामा रहेको वेस्ट बैंकका १४६, गाजाका ४४ र लेबनानस्थित प्यालेस्टिनी शरणार्थी शिविरका ३६ क्लबहरू समावेश छन्। प्रतियोगिता तीनवटै स्थानमा एकैसाथ सुरु हुने अलजजिराले उल्लेख गरेको छ ।
अमेरिकाकाे मध्यस्तामा इजरायल र हमास बिच युद्द बिराम भए पछि स्थिति क्रमशः शान्तितर्फ अग्रसर भइरहेकाे अवस्थामा पुनः तीन बर्ष देखी गाजाकाे भुमीमा खेलकुदकाे राैनक देखिन लागेकाे हाे । जुन युद्दमा झन्डै ८० हजारकाे ज्यान गएकाे छ भने लाखाैं घाइते भएका छन् ।

‘युद्धले सबै प्यालेस्टिनीहरूका लागि कठिन परिस्थिति सिर्जना गर्यो, जसका कारण हाम्रा प्रतियोगिता र गतिविधिहरू स्थगित गर्नुपर्यो,’ राजुबले भने, ‘तर हामीले आफ्नो प्यालेस्टिनी राष्ट्रिय संकल्प गुमाएका छैनौं, न त खेलकुद आशा र जीवनको प्रतीकका रूपमा रहिरहनेछ भन्ने हाम्रो विश्वास नै गुमाएका छौं।’ उनले संघ र प्यालेस्टिनी क्लबहरू कठिन आर्थिक अवस्थाबाट गुज्रिरहेको कुरा उल्लेख गरे।
पत्रकार सम्मेलनका क्रममा उनले फिफा र अन्य महासंघहरूलाई प्यालेस्टिनी खेलकुदको पक्षमा उभिन तथा खेलाडी, क्लब र बालबालिकाहरूको स्वतन्त्रता र सम्मानका साथ खेलकुदमा रमाउन पाउने अधिकारको रक्षा गर्न अनुरोधसमेत गरेका छन ।

यस अघि निजी लगानीकर्ताहरूका लागि प्रतियोगिताहरू खुला गर्ने फिफा अध्यक्ष जियानी इन्फान्टिनोको तर हाल फिर्ता लिइएको योजनाबारे संघले एक विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘आज धेरैले फिफाको व्यावसायिक दिशातर्फ प्रश्न उठाइरहेका छन् तर प्यालेस्टाइनका लागि यो विषय अझ आधारभूत छ, हाम्रो प्रश्न यो हो कि राजनीतिक दबाबमा नपरीकन सबैमाथि आफ्ना नियमहरू समान रूपमा लागू गर्ने आँट फिफासँग अझै छ कि छैन ?’
सो संघले फिफासमक्ष कब्जा गरिएको वेस्ट बैंकका बस्तीहरूमा सञ्चालित इजरायली क्लबहरूमाथि प्रतिबन्ध लगाउन तथा गाजामा इजरायलको गतिविधिका कारण उसको फिफा सदस्यता निलम्बन गर्न माग गरेको छ। अन्तर्राष्ट्रिय कानुनअनुसार कब्जा गरिएको वेस्ट बैंकमा रहेका इजरायली बस्तीहरू गैरकानुनी हुन्।
‘हामी कुनै विशेष सुविधा मागिरहेका छैनौं, हामी अन्तर्राष्ट्रिय खेलकुदसम्बन्धी कानुन र बडापत्रहरूद्वारा सुनिश्चित गरिएका वैध अधिकारहरूको माग गरिरहेका छौं,’ पत्रकार सम्मेलनमा राजुबले भने।




