
सिरियाको दक्षिण–पश्चिमी प्रान्त कुनेत्रास्थित अबु कबैस हिल क्षेत्रमा सोमबवार इजरायली सैन्य टोली प्रवेश गरेको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सरकारी टेलिभिजन अल–इखबारियाकाअनुसार उक्त सैन्य गस्तीमा दुईवटा ट्याङ्क र सैनिकहरू बोकेका विभिन्न सैन्य सवारी साधनहरू संलग्न थिए ।
पछिल्लो केही दिनयता इजरायली सेना सिरियाली भूभागमा प्रवेश गरेको यो दोस्रो पटक हो ।

यसअघि आईतवार पनि इजरायली फौज दुईवटा ट्याङ्क र सैन्य टोलीसहित कुनेत्राकै पूर्वी समदानिया गाउँमा प्रवेश गरेको प्रतिवेदनमा उल्लेख छ ।


आईतवारको घुसपैठका क्रममा इजरायली सेनाले उक्त गाउँका कृषि क्षेत्रहरूमा व्यापक खानतलासी तथा अपरेसन सञ्चालन गरेको बताइएको छ । सो क्रममा गोली चलेको आवाज सुनिनुका साथै सुरक्षा जाँच समेत गरिएको समाचारमा जनाइएको छ । सिरियाले इजरायलमाथि सन् १९७४ को सैन्य विच्छेदन सम्झौता उल्लंघन गरेको आरोप बारम्बार लगाउँदै आएको छ । दक्षिणी सिरियामा इजरायली सेनाले पटक–पटक घुसपैठ, छापा मार्ने, स्थानीयलाई नियन्त्रणमा लिने, जमिन खाली गराउने र गोलाबारी गर्ने गरेको सिरियाको दाबी छ ।




