
काठमाडौं, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल विश्वब्यापी दबाबमा रहेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाइनु ठूलो गल्ती हुने बताएका छन्।
इन्फान्टिनोको ‘फिफा फर्वार्ड इन्टरप्राइज अर्थात एफएफइ’ प्रस्ताव, जुन पछि रद्द गरिएको थियो, मार्फत धोखाधडी गरी विश्वास तोडेको आरोप लगाउँदै युइएफए, कोन्काकाफ र एसियाली फुटबल महासंघले खुला पत्र जारी गरे पछि ट्रम्पले इन्फान्टिनोको पक्षमा पहिलो पटक यस्तो धारणा व्यक्त गरेका हुन्।


एफएफइ अन्तर्गत विश्वकप लगायत फिफाका सबै प्रतियोगिताहरूको व्यावसायिक र टिकट बिक्रीसम्बन्धी अधिकार व्यवस्थापन गर्न एउटा नयाँ कम्पनी स्थापना गर्ने योजना थियो, जसको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गरिने प्रस्ताव थियो । जसको यतिखेर विश्वब्यापी रूपमा आलोचना भइरहेको छ ।

गत २८ जुलाईमा एफएफइ योजनाहरू सार्वजनिक भएयता ट्रम्पले इन्फान्टिनोको बचाउमा बोलेको यो पहिलो पटक हो।
‘कुनै पनि कारणले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउनेबारे विचार गर्नु पनि फिफाका लागि ठूलो गल्ती हुनेछ,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमामा लेखेका छन् । ‘उनी उत्कृष्ट छन्, उनकै नेतृत्वमा अहिलेसम्मकै सबैभन्दा सफल, अन्य संस्करणभन्दा चार गुणा बढी सफल, विश्वकप आयोजना भयो। यदि उनी हटे भने यो फेरि कहिल्यै त्यति सफल वा लाभदायक हुनेछैन,’ ट्रम्पले भनेका छन ।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेका थिए र फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन बनेको थियो। तर, ३१ जुलाईमा एफएफइ प्रस्तावहरूबारे पहिलो पटक टिप्पणी गर्दा ट्रम्पले आफूले ती योजनाहरूबारे इन्फान्टिनोसँग कुनै कुरा नगरेको बताएका थिए।
एफएफइका लागि प्रस्तावित लगानीकर्ता समूहको नेतृत्व ‘थ्राइभ इटरनल’ले गर्ने अपेक्षा गरिएको थियो। ‘थ्राइभ’एक अमेरिकी भेन्चर क्यापिटल फर्म हो, जसको स्थापना ट्रम्पका ज्वाइँ जारेडका भाइ जोशुआ कुशनरले गरेका हुन्। इन्फान्टिनोको ट्रम्पसँग घनिष्ठ सम्बन्ध छ र उनले डिसेम्बर २०२५ मा ट्रम्पलाई पहिलो ‘फिफा शान्ति पुरस्कार’ प्रदान गरेका थिए।

ट्रम्पसँगको बलियो हिमचिम प्रस्ट देखिएका कारण पनि इन्फान्टिनो आलोचनाको घेरामा परिरहेको बेला पहिलो पटक ट्रम्पले उनको पक्षमा बोलेर स्थिति अर्को ठाउँमा पुरयाएका छन् ।




