
टोकियो, २९ साउन । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘बिबादस्पद टापु’ भ्रमण गरे पछि जापानले आपत्ति जनाएको छ ।जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले बिहीबार विवादित कुरिल टापुहरूमा भ्लादिमिर पुटिनको पहिलो भ्रमणलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै आलोचना गरेकी छिन्।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनले ‘इतुरुप’ अर्थात जापानमा एतोरोफु भनेर चिनिने टापुको भ्रमण गरेका थिए । यो कुरिल शृङ्खलाका ती चार टापुहरूमध्ये एक हो, जसमाथि रुस र जापान दुवैले दाबी गर्दै आएका छन्।

‘पुटिनको भ्रमणले रुस प्रति जापानीहरूको भावनालाई अझ बिगारेको छ’, ताकाइचीले पत्रकारहरूलाई बताइन्। उनले ऐतिहासिक रूपमा र अन्तर्राष्ट्रिय कानुन अनुसार उक्त टापु शृङ्खला जापानको आफ्नै भूभाग रहेको कुरामा जोड दिइन्।


यी दुई देशबीच दशकौँदेखि कुरिल टापुहरूलाई लिएर विवाद चलिरहेको छ र दोस्रो विश्वयुद्धपछि मस्को र टोकियोबीच शान्ति सम्झौता हुन नसक्नुको मुख्य कारण पनि यही टापु थियो ।
कुरिल टापुहरू उत्तरी जापानको होक्काइडो र रुसको कामचात्का प्रायद्वीपको बीचमा अवस्थित छन्। सबैभन्दा दक्षिणमा रहेका चारवटा टापुहरूमा जापानले दाबी गर्छ र तिनलाई उत्तरी भूभाग भनी सम्बोधन गर्छ।

यी टापुहरूको प्रशासन रुसले सञ्चालन गर्छ। दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत संघले यो टापु शृङ्खलालाई आफ्नो नियन्त्रणमा लिएको थियो र त्यहाँका करिब १७ हजार जापानी बासिन्दाहरूलाई अन्यत्र पठाएको थियो।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार भ्रमणका क्रममा पुटिनले माछाको अण्डाको स्वाद लिए र त्यहाँका स्थानीय बासिन्दाहरूसँग कुराकानी गरेका थिए ।

बिहीबार प्रधानमन्त्रीको कार्यालयबाट बोल्दै ताकाइचीले भनिन् कि पुटिनको भ्रमणले ‘जापानी जनताको भावनामा चोट पुर्याएको छ र यो उत्तरी भूभागबारे जापानको अडिग अडानसँग मेल खाँदैन।’




