
कृषि वन तथा पर्यावरण मन्त्रालय, जलवायु परिर्वतन महाशाखा प्रमुख डा. महेश्वर ढकालले युवाहरूले जलवायु परिवर्तनलाई गहिराइमा बुझ्दै नीति निर्माण र जलवायु कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा शुक्रवार लोकल कन्फरेन्स अफ युथलाई सम्बोधन गर्दै डा. ढकाललले जलवायु परिवर्तनलाई अझ गहिराइमा बुझेर बदलिँदो परिस्थिति अनुसार युवाहरुले आफ्नो भुमिका पहिचान गर्नुपर्ने बताउनुभएको हो ।

युवाहरू नवप्रवर्तनकर्ता, परिवर्तनका संवाहक र भविष्यको आशाको केन्द्र भएकाले उनीहरुले बोल्ने, लेख्ने, प्रश्तुत गर्ने र सुन्ने शैलीले नेपालको भविष्यलाई मार्गदर्शन गर्ने बताउनुभएको हो । पछिल्लो पुस्ता अघिल्लो पुस्ताभन्दा अझ अनुशासित र जिम्मेवार हुनुपर्ने उल्लेख गर्दे उहाँले युवाहरूमा अनुशासन, नम्रता र विनम्रता आवश्यक रहेको बताउनु भयो ।


हरित अर्थतन्त्रमार्फत युवाका लागि रोजगारी, आम्दानी र समृद्धिको बाटो निर्माण गर्न सकिने भएकाले सरकार संगै सबै सरोकारवालाको ध्यान त्यसतर्फ आकर्षित हुनुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि अन्तर्राष्ट्रियस्तरमा पैरवी गर्दै गर्दा नेपालमा उपलब्ध स्रोत र साधनको सही सदुपयोगमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकारसँग स्रोतसाधनसँगै स्थानीय समस्या र जलवायुजन्य जोखिमबारे प्रत्यक्ष जानकारी हुने भएकाले युवाहरूलाई स्थानीय सरकारसँग सहकार्य गरेर जलवायु कार्य अघि बढाउनेतर्फ पनि ध्यान केन्द्रीत गर्न सुझाव दिनुभयो । उहाँले युथ सम्मेलनले तयार गरेको आधारपत्र र निष्कर्षलाई सरकारले पनि आफ्नो पोजिसन पेपरमा समावेश गर्ने विश्वास दिलाउनु भयो ।
उहाँले भन्नुभयो ‘तपाईंको लागि १ दशमलब ५ डिग्री भनेको के हो? सिबिडिआर आरसी भनेको के हो ? र तपाईंले खेल्नुपर्ने भुमिकाहरू के हुन् भन्ने कुरामा पनि छलफल गर्नुपर्छ । तपाईं युवाहरू भनेको इनोभेटर हो, चेन्ज एजेन्ट हो र फ्युचर अफ लाइफ अथवा होप अफ फ्युचर हो । तपाईंहरूले बोल्ने, लेख्ने, प्रस्तुत गर्ने र सुन्ने कुराले भोलिको नेपालको भविष्य मार्गदर्शन गर्छ, । हामी सँग भएका स्रोत र साधनको सही सदुपयोग गरेर हरित अर्थतन्त्रको बाटोबाट तपाईंको जीवनका लागि आवश्यक पर्ने रोजगारी, आम्दानी र भोलिको समृद्धिका लागि नेपालमा भएका स्रोत र साधनहरू के–के छन् ? ती स्रोत र साधनलाई तपाईंको जीवनको अङ्ग कसरी बनाउन सकिन्छ भन्ने विषयमा पनि सोच्नुपर्छ । युवाहरूको भ्वाइसलाई क्लाइमेट एक्सन र क्लाइमेट जस्टिससँग जोडेर कोपमा प्रस्तुत गर्न सम्मेलनमार्फत तपाईहरुले प्रश्तुत गर्ने आधारपत्रलाई हामी नेपालको कन्ट्री पोजिसन पेपरमा समेत संलग्न गर्नेछौँ ।’

सम्मेलनमा मुलुकभरबाट १ सय ८० युवा सहभागी छन् । सम्मेलन ३ दिन सम्म चल्ने छ । सम्मेलनमा जलवायु कार्यका विभिन्न ९ वटा सत्रमा विषय विज्ञले प्रश्तुती दिने कार्यतालिका छन् ।




