
काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले शेरबहादुर देउवाको आज निकै प्रशंशा गरेका छन ।
मिराकल पार्टी प्यालेस, सुकेधार काठमाडौंमा आजबाट सुरु भएको तीन दिने राष्ट्रिय भेलाको सभापतिको हैसियतबाट सुरुमै सम्बोधन गर्दै डा. कोइरालाले देउवाको उपस्थिति र नेतृत्वमा नै नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्ने दाबीसमेत गरेका छन ।

सो क्रममा कांग्रेस संस्थापक बीपी कोइराला र शेरबहादुर देउवाबिचको भावनात्मक सम्बन्धको स्मरण गर्दै उनले देउवाका बारेमा बीपीले भनेको एउटा प्रसङ्ग सुनाएका छन । उनले देउवावारे भने , ‘बीपी कोइरालाले शेरबहादुर देउवालाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो।’


आफ्नो र देउवाको पहिलो भेटबारे निर्वासनको समयमा भारतमा भएको पनि उनले जानकारी दिए । ‘उहाँ भारतमा गएको बेलामा मलाई बाबा (बीपी)ले घुमाउन लैजान भन्नु भएको थियो, पहिलो भेटमा नै मैले बाबाको आदेशअनुसार उहाँ (देउवा) लाई घुमाउने काम गरेको थिएँ। शेरबहादुरजीसँग मेरो पहिलो परिचय त्यहीँ भएको हो।’

सो भेला जारी रहेको छ र प्रत्येक बक्तालाई तीन मिनेटको समय दिइएको छ ।





