
टर्कीले सन् २०२७ को प्रारम्भिक महिनाहरूमा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको छ । उद्योग तथा प्रविधिमन्त्री मेहमेट फतिह कासिरले बिहीबार यस ऐतिहासिक मिशनको बारेमा जानकारी दिँदै यो अभियान स्वदेशमै विकसित ‘हाइब्रिड प्रोपल्सन’ प्रणालीद्वारा सञ्चालित हुने बताउनु भयो ।
अनादोलु एजेन्सीकाअनुसार टर्कीले चन्द्र मिशनको प्रक्षेपण तालिकालाई अन्तिम रूप दिइसकेको छ र यानमा प्रयोग हुने स्वदेशी हाइब्रिड प्रोपल्सन प्रणालीको सम्पूर्ण परीक्षणहरू सफलतापूर्वक सम्पन्न भएका छन् । मन्त्री कासिरले यस मिसनलाई विश्वका सीमित देशहरूसँग मात्र रहेको उच्च प्राविधिक क्षमता हासिल गर्ने दिशामा टर्कीको एउटा ठूलो कदमका रूपमा चित्रण गर्नुभएको छ ।


आफ्नो सम्बोधनका क्रममा मन्त्री कासिरले भन्नुभयो, ‘आगामी दिनमा हामी हाम्रै इन्जिनियर र वैज्ञानिकहरूद्वारा डिजाइन तथा निर्माण गरिएको र राष्ट्रिय क्षमतामा विकसित प्रोपल्सन प्रणाली जडान गरिएको अन्तरिक्ष यानमार्फत चन्द्रमामा पुग्नेछौं ।’

यसका साथै, टर्कीले सोमालियामा आफ्नै अन्तरिक्ष केन्द्र (स्पेसपोर्ट) निर्माण गर्ने योजना पनि अघि सारेको छ। भूमध्यरेखाको निकटताका कारण सोमालिया अन्तरिक्ष पहुँचका लागि भौगोलिक रूपमा अत्यन्तै उपयुक्त मानिन्छ ।
‘हामी सोमालियामा टर्कीको अन्तरिक्ष केन्द्र निर्माण गर्नेछौं, जसले गर्दा हामी आफ्नै रकेट र स्वदेशमै निर्मित अन्तरिक्ष यान प्रयोग गरी पूर्ण रूपमा स्वतन्त्र भई अन्तरिक्षमा पहुँच पु¥याउने राष्ट्र बन्नेछौं ।’ मन्त्री कासिरले थप्नुभयो ।
यस महत्वाकांक्षी परियोजनाले टर्कीलाई अन्तरिक्ष प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउने र विश्वव्यापी अन्तरिक्ष दौडमा देशको उपस्थिति बलियो बनाउने लक्ष्य राखेको छ ।





