
अर्घाखाँची । शितगंगा नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न भएको छ। समीक्षामा नगरपालिकाभित्रका स्वास्थ्य संस्थाबाट प्रवाह भएका सेवाको उपलब्धि, चुनौती तथा आगामी वर्षको कार्यदिशाबारे विस्तृत छलफल गरिएको छ।


नगर उपप्रमुख गीता भाटको अध्यक्षता तथा नगर प्रमुख छविलाल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडा अध्यक्ष चिन्तराज अधिकारी, दामोदर अधिकारीलगायतको उपस्थिति थियो। कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पताल तथा आयुर्वेद औषधालयका प्रमुख तथा इन्चार्जहरूको सहभागिता रहेको थियो।


समीक्षाका क्रममा स्वास्थ्य संस्थाहरूले वर्षभरि प्रदान गरेका सेवा, कार्यक्रमगत उपलब्धि, नागरिकको स्वास्थ्य सेवामा पहुँच, मातृ तथा शिशु स्वास्थ्य, उपचारात्मक तथा प्रयोगशाला सेवा, रोग नियन्त्रण तथा रोकथाम, स्वास्थ्य शिक्षा, नर्सिङ तथा सामाजिक सुरक्षा, आयुर्वेद सेवा, जनशक्ति व्यवस्थापन, औषधि तथा उपकरणको अवस्था एवं अभिलेख तथा प्रतिवेदन प्रणालीलगायत विषयमा प्रगति र चुनौती प्रस्तुत गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमलाई विशेष प्राथमिकताका साथ समीक्षा गरिएको थियो। डीएस तथा डीआर–टीबीको पहिचान, निदान तथा उपचार, जिन एक्सपर्टसहितका प्रयोगशाला परीक्षण, उपचाररत बिरामीको नियमित अनुगमन, उपचार सफलताको अवस्था तथा औषधि र प्रयोगशाला सामग्रीको उपलब्धता र मौज्दात व्यवस्थापनबारे छलफल गरिएको थियो।


त्यस्तै, क्षयरोगसँग सम्बन्धित एचआईभी, मधुमेह तथा कोभिड–१९ जस्ता सहसंक्रमण, बिरामीको समयमै पहिचान तथा उपचार समन्वय, क्षयरोग मुक्त नेपाल अभियान र समुदायस्तरमै सम्भावित बिरामीको खोजी गरी समयमै उपचारको पहुँचमा ल्याउने विषयमा समेत जोड दिइएको थियो।

अघिल्लो समीक्षा गोष्ठीमा पहिचान भएका समस्याको समाधानको अवस्था, क्षयरोगका बिरामी अन्यत्र स्थानान्तरण हुँदा उपचार निरन्तरताका लागि स्वास्थ्य संस्थाबीच समन्वय, आवश्यक औषधिको तथ्यमा आधारित अनुमान तथा आपूर्ति, फाराम–फर्मेटको प्रभावकारी प्रयोग र नीति, रणनीति तथा निर्देशिकामा भएका परिवर्तनबारे स्वास्थ्यकर्मीलाई अद्यावधिक गराउने विषयमा पनि छलफल गरिएको थियो।
समीक्षामा प्राथमिक स्वास्थ्य सेवा, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण, परिवार कल्याण, इपिडिमियोलोजी तथा रोग नियन्त्रण, कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन, स्वास्थ्य शिक्षा तथा सूचना, स्वास्थ्य तालिम, उपचारात्मक सेवा, नर्सिङ तथा सामाजिक सुरक्षा र आयुर्वेदलगायत राष्ट्रिय तथा स्थानीय स्वास्थ्य कार्यक्रमको समग्र अवस्थाको मूल्यांकन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले स्वास्थ्य सेवा नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको संवेदनशील सेवा भएकाले स्वास्थ्य संस्थाहरूले सहज, सम्मानजनक, गुणस्तरीय, नागरिकमैत्री र उत्तरदायी सेवा प्रदान गर्नुपर्ने बताए।


उनले स्वास्थ्य संस्थाको कार्यसम्पादनसँगै अभिलेख तथा प्रतिवेदन, औषधि, उपकरण र सेवा व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
समीक्षामा उत्कृष्ट कार्यसम्पादन तथा असल अभ्यासको आदानप्रदान गर्दै आगामी वर्ष देखिएका समस्या समाधान, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा अन्तर–स्वास्थ्य संस्था समन्वयमा आधारित कार्ययोजना निर्माण गर्ने विषयमा समेत जोड दिइएको थियो।
सोही अवसरमा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा नवनियुक्त मेडिकल अधिकृत भरतमणि पौडेलको स्वागत तथा परिचय गराइएको थियो। नगर प्रमुख पौडेल, उपप्रमुख भाट र प्रमुख प्रशासकीय अधिकृत सापकोटाले संयुक्त रूपमा पौडेलको स्वागत गरेका थिए।

स्वास्थ्य सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधारमा मेडिकल अधिकृतको महत्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरिएको थियो।
कार्यक्रममा शितगंगा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाका सेवा, गतिविधि, उपलब्धि तथा महत्वपूर्ण विवरण समेटिएको स्वास्थ्य बुलेटिनसमेत विमोचन गरिएको छ। नगर प्रमुख पौडेल र उपप्रमुख भाटले संयुक्त रूपमा बुलेटिन विमोचन गरेका हुन्।
बुलेटिनले नगरपालिकाको स्वास्थ्य क्षेत्रको अभिलेखीकरणलाई व्यवस्थित गर्नुका साथै आगामी योजना निर्माण, कार्यक्रम तर्जुमा तथा निर्णय प्रक्रियामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वार्षिक समीक्षाले शितगंगा नगरपालिकाको स्वास्थ्य सेवा प्रणालीलाई थप व्यवस्थित, समन्वयात्मक, परिणाममुखी, गुणस्तरीय तथा नागरिकमैत्री बनाउँदै लैजान आगामी वर्षका लागि आवश्यक कार्यदिशा र प्राथमिकता तय गर्न महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूले बताएका छन्।




