
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सोमबार सकिएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइमा श्रेष्ठको पक्षबाट १७ जना तथा सरकारी पक्षबाट ४ जना अधिवक्ताले बहस गरेका थिए।

बहसपछि पत्रकार श्रेष्ठ स्वयं इजलासमा उपस्थित भएर आफ्नो भनाइ राखेका थिए। उनले आफूलाई ५५ जना लागूऔषध मुद्दाका अभियुक्तसँगै थुनामा राखिएको बताएका छन्।


आफ्नो भनाइ राख्ने क्रममा श्रेष्ठ भावुक हुँदै रोएको बहसमा सहभागी एक अधिवक्ताले बताएका छन्। उनले आफूले पाँच दिनदेखि राम्रोसँग खान र सुत्नसमेत नपाएको गुनासो गरेका थिए।
श्रेष्ठले आफूलाई जेल हालिए पनि वा आफ्नो ज्यान नै गए पनि प्रेस स्वतन्त्रता भने समाप्त हुन नहुने धारणा राखेका थिए।

यसअघि सर्वोच्च अदालतले जफत गरिएका सामग्रीसहित पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। श्रेष्ठको रिहाइको माग गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
रिटमाथिको बहस सकिएसँगै अब सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा गरिएको छ।





