विश्वमै पहिलो पटक ‘एआई’ले गर्‍यो एक मानवीय कर्मचारीलाई बर्खास्त

सान फ्रान्सिस्को, २ भदौं । प्रविधि जगतबाट एउटा निकै आश्चर्यजनक घटना सार्वजनिक भएको छ, जसमा इतिहासमै पहिलो पटक एक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात एआई  प्रबन्धकले एक मानव कर्मचारीलाई जागिरबाट हटाउने निर्णय गरेको छ।

अमेरिकाको सान फ्रान्सिस्कोस्थित ‘एन्डन मार्केट’ नामक प्रयोगात्मक पसलकी बोस ‘लुना’ले बारम्बार ढिलो गरी काममा आउने एक कर्मचारीलाई बर्खास्त गरेकी छिन । बर्खास्त भएका ती कर्मचारी आफ्नो निर्धारित २३ वटा सिफ्ट मध्ये १७ पटक काममा ढिलो गरी उपस्थित भएका थिए।

चाखलाग्दो कुरा के छ भने ‘लुना’ ले कर्मचारीलाई कामबाट निकाल्ने निर्णय पूर्ण रूपमा आफ्नै तजबिजमा गरेको थिइनन्। वास्तवमा, यो ‘एआई बोस’ ले केही महिना अघि नै स्टोरका कर्मचारीहरूका लागि हाजिरीसम्बन्धी एउटा नीति तयार पारेको थिइन तर पछि त्यसलाई बिर्सिइन । फलस्वरूप, एआईले कुनै कारबाही नगर्दा ती कर्मचारी धेरै महिनासम्म ढिलो गरी काममा आउने क्रम जारी राखेका थिए।

पछि जब मानव अनुसन्धानकर्ताहरूले ‘लुना’लाई ‘एन्डोन ल्याब्स’ नामक एआई कम्पनीद्वारा निर्धारित नियमहरूको सम्झना गराउँदै सम्बन्धित नीतिबारे आफ्नो स्मृतिमा खोजी गर्न निर्देशन दिए, तब ‘लुना’ ले ती कर्मचारीको कामको समीक्षा गरी उनीहरूलाई बर्खास्त गर्न सिफारिस गरिन र यो निर्णय पछि मानव कर्मचारीहरूद्वारा अन्तिम रूप दिइएको थियो।

एन्डन ल्याब्सद्वारा सञ्चालित यो अनौठो पसल वास्तविक व्यवसाय सञ्चालन गर्ने र मानवीय कर्मचारीहरूको व्यवस्थापन गर्ने जिम्मेवारी एउटा एआई एजेन्टलाई सुम्पिँदा कस्तो नतिजा आउँछ भनेर परीक्षण गर्न खोलिएको थियो। सुरुमा, कम्पनीले ‘लुना’लाई १ लाख अमेरिकन डलरमा  एउटा कर्पोरेट कार्ड, इन्टरनेट सुविधा र तीन वर्षको भाडा सम्झौतामा एउटा पसल उपलब्ध गराएको थियो।

त्यसयता, पसलको ब्रान्डिङ, उत्पादनहरूको छनोट, मूल्य तथा सञ्चालन समयको निर्धारणदेखि लिएर कर्मचारी भर्नेसम्मका सबै काम एआईले नै सम्हाल्दै आएको छ।