मकवानपुरको दुर्घटनामा घाइते उच्च अदालतका रजिष्ट्रारकी श्रीमतीको उपचारका क्रममा मृत्यु

हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा उच्च अदालत वीरगन्जका रजिष्ट्रार तारादत्त बडुकी ४९ वर्षीय श्रीमती लक्ष्मी बडुको मृत्यु भएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सैनिक अस्पताल छाउनी ल्याइएको थियो । थप उपचारका लागि बिहान करिब १० बजे छाउनी पुर्‍याइएका घाइतेमध्ये लक्ष्मी बडुको उपचारकै क्रममा बिहान साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, गाडी चालक छुनिलाल चौधरी, रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु गरी ६ जना घाइते भएका थिए ।