
काठमाडौँ । बैंकबाट बोलेको भन्दै ‘केवाइसी अद्यावधिक’ गर्नुपर्ने बहाना बनाई सर्वसाधारणको बैंक खातामा पहुँच पुर्याएर रकम ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक विश्लेषणका क्रममा पहिचान भएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका–१७ का २२ वर्षीय विद्या सागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुबेर थापा रहेका छन् ।


प्रहरीका अनुसार गिरोहले पछिल्लो समय बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गर्दै बैंकबाट बोलेको र खाताको ‘केवाइसी अद्यावधिक’ गर्नुपर्ने भन्दै फोन तथा सामाजिक सञ्जालका माध्यमबाट सम्पर्क गर्ने गरेको थियो ।
सम्पर्कपछि पीडितलाई मोबाइलको पर्दा साझा गर्न लगाउने वा एकपटक प्रयोग हुने गोप्य संकेत नम्बर माग्ने र त्यसैका आधारमा बैंक खातामा अनधिकृत पहुँच पुर्याउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खातामा पहुँच पाएपछि गिरोहले पीडितको रकम अन्य व्यक्तिको खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको साइबर ब्यूरोले जनाएको छ । पक्राउ परेका चारै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमबाट हुने ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
साइबर ब्यूरोले बैंक वा कुनै सरकारी तथा वित्तीय संस्थाको नाममा फोन आए पनि गोप्य संकेत नम्बर, बैंक खाताको विवरण वा मोबाइलको पर्दा साझा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।





