साउनमा अर्घाखाँची प्रहरीको सक्रियता: १५ मुद्दा दर्ता, ४ फरार पक्राउ, २.९१ लाख राजस्व संकलन
भाद्र २ गते, २०८३ मा प्रकाशित
साउनमा अर्घाखाँची प्रहरीको सक्रियता: १५ मुद्दा दर्ता, ४ फरार पक्राउ, २.९१ लाख राजस्व संकलन , ४ फरार प्रतिवादी पक्राउ, २ थान भरुवा बन्दुक बरामद; ट्राफिक कारबाहीबाट २ लाख ९१ हजार राजस्व संकलन
अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले साउन महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, सडक सुरक्षा, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा उल्लेख्य गतिविधि गरेको जनाएको छ। कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार साउन महिनामा जिल्लाभर १५ वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये ४ वटा जघन्य तथा गम्भीर अपराध, ३ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी, १ वटा आर्थिक अपराध र ९ वटा अन्य प्रकृतिका रहेका छन्।
४ फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयनतर्फ प्रहरीले साउन महिनामा ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट अदालतको फैसलाअनुसार ७ वर्ष ८ महिना २४ दिन कैद तथा १० हजार १ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, साउनमा जिल्लाबाट ७ जना मानिस हराएकोमा ३ जना फेला परेका छन्। प्रत्यक्ष निवेदनमार्फत प्राप्त ४७ वटा ठाडो उजुरीमध्ये ४४ वटा फछ्र्यौट गरिएको विवरणमा उल्लेख छ।
ट्राफिक कारबाहीबाट २ लाख ९१ हजार राजस्व
सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ साउन महिनामा जिल्लामा ४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा तत्काल उद्धार तथा आवश्यक प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट २ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। प्रहरीका अनुसार तीव्र गति, ब्रेक फेल, मादक पदार्थ सेवन तथा चालक अनुमतिपत्र नहुनु दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन्।
२ थान भरुवा बन्दुक बरामद
अपराध तथा अवैध गतिविधि नियन्त्रण अभियानअन्तर्गत प्रहरीले साउन महिनामा २ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
यस्तै, भन्सार छली गरी ल्याइएका १४ वटा बाख्रा र २ वटा सवारी साधन नियन्त्रणमा लिई १४ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
विपद्मा तत्काल प्रहरी परिचालन
अविरल वर्षाका कारण जिल्लामा २ वटा घरमा क्षति पुगेको घटनामा प्रहरीले तत्काल ७ जना जनशक्ति परिचालन गरी उद्धार कार्य गरेको थियो। वर्षाजन्य घटनाबाट करिब ६ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
६२ वटा जनचेतनामूलक कार्यक्रम
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा ६२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा १ हजार १२६ जना स्थानीय नागरिकको सहभागिता रहेको प्रहरीले जनाएको छ।
नागरिक सहायता कक्षबाट साउन महिनामा १ हजार ६४० जना सेवाग्राहीले सेवा लिएका छन्। त्यस्तै प्रहरी हटलाइन तथा जिल्ला प्रहरी कार्यालयको फोनमा १२० पटक कल प्राप्त भएको विवरणमा उल्लेख छ।
शान्ति सुरक्षाका लागि ४,७८१ प्रहरी परिचालन
जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा अपराध न्यूनीकरणका लागि नियमित पिकेट, चेकिङ तथा गस्तीअन्तर्गत ४ हजार ७८१ जना प्रहरी जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी कर्मचारीको मनोबल उच्च राख्न कार्यालयले आन्तरिक उत्प्रेरणाका कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगितासमेत आयोजना गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगामी दिनमा पनि अपराध नियन्त्रण, प्रभावकारी अनुसन्धान, सडक सुरक्षा, विपद् उद्धार तथा नागरिकमैत्री प्रहरी सेवामा थप जोड दिइनेछ।
अर्घाखाँची डटकम समाचार स्रोत : जिल्ला प्रहरी कार्यालय, अर्घाखाँची