
सञ्जय मिश्रा
रौतहट, ३ भदौ।
रौतहटको कटहरिया नगरपालिका–९ घर भएका नेपाली कमेडियन अमरेन्द्र यादव पछिल्ला केही दिनदेखि व्यक्तिगत गालीगलौज, धम्की र मानसिक दबाब खेप्नुपरेको भन्दै मंगलवार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गरेका छन्।
आफू कमेडियन भएकाले रोस्ट गर्नु पेसाकै एउटा हिस्सा भएको उल्लेख गर्दै यादवले रोस्टकै विषयलाई लिएर आफू र आफ्नो परिवारमाथि व्यक्तिगत रूपमा टर्चर भइरहेको बताएका छन्।

यादवले फेसबुकमा भावुक हुँदै लेखेका छन्, ‘यो लडाइँ म एक्लै तीन दिनदेखि लडिरहेको थिएँ। तर अब सहन नसकेर आज यो कुरा सार्वजनिक रूपमा लेख्न बाध्य भएको छु।’


उनका अनुसार पछिल्ला ३–४ दिनदेखि एउटा भिडियो सार्वजनिक भएपछि आफू निरन्तर मानसिक दबाब र व्यक्तिगत गालीगलौजको सामना गरिरहेका छन्। आफूलाई कसले यस्तो व्यवहार गरिरहेको हो भन्ने यकिन नभए पनि यसबाट आफू र आफ्नो परिवारसमेत प्रभावित भएको उनले बताएका छन्।
‘मलाई रुमबाट बाहिर जान डर लागिरहेको छ, कहिलेसम्म रुममा बस्ने म?’ भन्दै उनले आफ्नो असुरक्षाको अवस्थासमेत सार्वजनिक गरेका छन्।
यादवले आफूले कुनै राजनीतिक दल वा समूहको विरोध गर्ने उद्देश्यले रोस्ट नगरेको स्पष्ट पार्दै आफ्नो पुराना कार्यक्रमहरूको उदाहरणसमेत दिएका छन्।

नेकपा एमालेसँग सम्बन्धित व्यक्तिलाई रोस्ट गरेकै आधारमा आफूलाई ‘एमाले विरोधी’को आरोप लगाइएको भन्दै उनले त्यसअघि नेकपा माओवादीसँग सम्बन्धित सन्तोष देउजा र राजावादी धारसँग जोडिएका पुष्कर खतीवाडालाई समेत रोस्ट गरेको स्मरण गराएका छन्।
‘आखिर म कसको विरोधी हुँ? म आफैँ कन्फ्युज भएँ—म कसको विरोधी हुँ?’ यादवले प्रश्न गरेका छन्।
उनले आफू कुनै दल वा विचारधाराको विरोधी नभई स्वतन्त्र नागरिक भएको बताएका छन्। आफ्नो पेसा नै कमेडी भएकाले कमेडीको एउटा हिस्साका रूपमा गरिएको रोस्टलाई मनोरञ्जनका रूपमा बुझिदिन उनले आग्रह गरेका छन्।

यादवले रोस्ट वा कमेडीमा असहमति जनाउन सकिने भए पनि त्यसकै आधारमा व्यक्तिगत गालीगलौज, परिवारलाई दुःख दिने, मानसिक यातना दिने तथा मार्ने धम्की दिने कार्य स्वीकार्य नहुने बताएका छन्।

‘मलाई व्यक्तिगत गाली नगर्नुहोस्, व्यक्तिगत रूपमा टर्चर नगर्नुहोस्, र गाली तथा मार्ने धम्की नदिनुहोस्,’ उनले आग्रह गरेका छन्।
उनले अन्त्यमा विचार फरक हुन सक्ने भए पनि व्यक्तिगत दुर्व्यवहार र धम्कीलाई स्थान नदिन सबैसँग आग्रह गरेका छन्।
‘कमेडीलाई कमेडीको रूपमा बुझौँ। विचार फरक हुन सक्छ, तर व्यक्तिगत दुर्व्यवहार र धम्कीको ठाउँ नदिऔँ,’ यादवको भनाइ छ।
कमेडी र राजनीतिक व्यंग्यका विषयमा सामाजिक सञ्जालमा बहस भइरहेका बेला रौतहटका युवा कमेडियन यादवको यो भावुक अपिलले कलाकारले व्यंग्य र रोस्ट गर्ने अधिकारसँगै व्यक्तिगत सुरक्षा र मर्यादाको विषय पनि गम्भीर रूपमा उठाएको छ।





