
रौतहट, ३ भदौ। रौतहटको कटहरिया नगरपालिका-४ मा पर्यावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले एकैपटक १० हजारभन्दा बढी विभिन्न जातका बिरुवा वितरण गरिएको छ।
वडा अध्यक्ष चन्दन कुशवाहाको सक्रियतामा डिभिजन वन कार्यालय चोचाबाट उपलब्ध गराइएका बिरुवा स्थानीयवासीलाई वितरण गरिएको हो।

वडा कार्यालयमा आयोजित कार्यक्रममा जामुन, मसला, अमला, तेजपात, सोहजन अर्था मोरिङ्गालगायतका विभिन्न जातका बिरुवा वितरण गरिएको चोचा वन कार्यालयका प्रमुख अनिल महतोले जानकारी दिएका छन्।


बढ्दो गर्मी, वातावरणीय प्रदूषण र वन विनाशका कारण मधेशमा हरियाली तथा वातावरण संरक्षणको आवश्यकता झन् बढिरहेका बेला वडास्तरबाट ठूलो संख्यामा बिरुवा वितरण गरिएको हो। बिरुवा वितरणलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी स्थानीयवासीले रोपेका बिरुवा हुर्काउने र संरक्षण गर्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने स्थानीयको भनाइ छ।
यसैबीच, इलाका प्रहरी कार्यालय कटहरियाको परिसरमा समेत विभिन्न जातका बिरुवा रोपिएको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई जयप्रकाश साहको सक्रियतामा कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो। वडा अध्यक्ष कुशवाहाको उपस्थितिमा वृक्षारोपण गरिएको वरिष्ठ सई साहले बताएका छन्।

वडा सदस्य रामेश्वर यादवका अनुसार पछिल्लो समय मधेशमा अत्यधिक गर्मी, धुलो तथा प्रदूषणको समस्या बढ्दै गएको अवस्थामा वृक्षारोपण वातावरण संरक्षणका लागि महत्वपूर्ण कदम हो। “हरियाली बढाउनु भनेको भविष्यका पुस्ताका लागि स्वच्छ र सुरक्षित वातावरण निर्माण गर्नु हो,” उनले बताएका छन्।


कटहरिया-४ मा एकैपटक १० हजार बिरुवा वितरण हुनु वातावरण संरक्षणको दृष्टिले सकारात्मक पहल हो। तर बिरुवा वितरणको संख्या मात्र ठूलो हुनु पर्याप्त हुँदैन। रोपिएका बिरुवा कति बाँचे, कहाँ-कहाँ रोपिए र तिनको नियमित संरक्षण कसरी भइरहेको छ भन्ने विषयले अभियानको वास्तविक प्रभाव निर्धारण गर्ने स्थानियकाे भनाइ रहेकाे छ ।
विशेषगरी मधेशमा गर्मीको प्रभाव बढिरहेको अवस्थामा बिरुवा रोप्ने अभियानसँगै पानीको व्यवस्था, संरक्षणका लागि ट्री–गार्ड, नियमित अनुगमन र स्थानीय समुदायको सहभागितालाई जोड्न सके यस्तो अभियान दीर्घकालीन परिणाममुखी बन्न सक्छ।




