महात्मा गान्धीको भूमिकामा मनोज बाजपेयी

काठमाडौँ । बलिवुड अभिनेता मनोज बाजपेयी महात्मा गान्धीको भूमिकामा देखिने भएका छन् । सुधीर मिश्राले निर्देशन गर्ने चलचित्रलाई अनुभव सिन्हा र नरेन्द्र हिरावतले निर्माण गर्नेछन् ।

भारतको स्वतन्त्रताको पृष्ठभूमिमा आधारित चलचित्रले गान्धीको जीवनका २१ दिनलाई केन्द्रमा राख्ने बताइएको छ । दिल्ली राजनीतिक शक्तिको केन्द्र बन्दै गरेको समयमा गान्धीले दिल्लीबाट टाढा जाने निर्णय गर्नुका व्यक्तिगत र राजनीतिक कारणलाई चलचित्रमा प्रस्तुत गरिने निर्देशक मिश्राले बताएका छन् ।

मिश्राका अनुसार चलचित्रले इतिहासमा कम चर्चा भएको गान्धीको जीवनको महत्वपूर्ण अध्यायलाई नजिकबाट देखाउनेछ । स्वतन्त्रताको समयमा गान्धीले दिल्लीबाट टाढा जाने निर्णय गरे पनि त्यो पछि हट्नु नभई आफ्नो राजनीतिक र व्यक्तिगत बाटो पुनःनिर्धारण गर्ने प्रयास रहेको कथामार्फत देखाइनेछ ।

चलचित्रमा मनोज बाजपेयीसँगै सौरभ शुक्लाको पनि महत्वपूर्ण भूमिका रहनेछ । अन्य कलाकार र उनीहरूले निर्वाह गर्ने पात्रबारे थप जानकारी सार्वजनिक गरिएको छैन । यो चलचित्रले लामो समयपछि सुधीर मिश्राको ठूलो पर्दामा पुनरागमनसमेत गराउनेछ । मिश्राले यसअघि ‘हजारों ख्वाहिशें ऐसी’, ‘धारावी’ लगायतका चर्चित चलचित्र निर्देशन गरेका छन् ।

चलचित्र बेनारस मिडियावर्क्सको निर्माणमा बन्नेछ भने एनएच स्टुडियोजले प्रस्तुत गर्नेछ ।