
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलका समस्या, स्थानीयवासीका गुनासा तथा व्यवस्थापन सुधारका विषयमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग छलफल गरेका छन् ।
छलफलमा बञ्चरेडाँडा पुग्ने सडक स्तरोन्नति तथा कालोपत्र गर्न आवश्यक बजेट छुट्याउनुपर्ने, फोहोर बोकेका सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने र फोहोर विसर्जनपछि माटोले छोप्ने काम प्रभावकारी बनाउनुपर्ने विषय उठाइएको थियो । स्थानीयवासीले सडकको खराब अवस्था, दुर्गन्ध तथा स्वास्थ्यमा परेको असरबारे गुनासो गर्दै आएका छन् ।


मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडाका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । फोहोर व्यवस्थापनस्थलमा पुग्ने फोहोरको मात्रा घटाउने, स्रोतमै फोहोर छुट्याउने र संकलन तथा ढुवानी प्रणाली सुधार गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

कार्यवाहक प्रमुख डंगोलले बञ्चरेडाँडामा काठमाडौँसहित अन्य २० स्थानीय तहको फोहोर जाने भए पनि व्यवस्थापनको अधिकांश आर्थिक भार काठमाडौँ महानगरपालिकाले मात्र व्यहोर्दै आएको बताइन् । उनले अन्य स्थानीय तहलाई पनि आर्थिक तथा व्यवस्थापनको जिम्मेवारीमा सहभागी गराउनुपर्ने बताइन् ।
हाल दैनिक दुई सयभन्दा बढी फोहोर बोकेका ट्रक बञ्चरेडाँडा पुग्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार त्यहाँ पुग्ने फोहोरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने छ । फोहोरको स्रोतमै वर्गीकरण, संकलन केन्द्र विस्तार र दीर्घकालीन व्यवस्थापनका लागि संघ, प्रदेश तथा स्थानीय तहबीच सहकार्य बढाउने विषयमा पनि छलफल भएको छ ।





